Motivate News

भात खान दशैँ कुर्ने टन्डन दर्जनौ कम्पनीका मालिक

काठमाडौँ –  गुल्मीको एउटा विकट गाउँमा जन्मिएका लोकबहादुर टण्डनले दुखको अनेक जंघारहरु काटे । बाल्यकालमा धानको भात खान दशैँ नै पर्खिनुपथ्र्यो उनले । लुगा फेर्न पनि दशैँ नै कुर्नुपर्ने बाध्यता गुजारेका उनले धनिका छोराछोरीहरुले नयाँ–नयाँ लुगा लगाएको देख्थे तर घाँस दाउरा गर्दा फाट्ने लुगाहरु टालेरै आफ्नो कपडा शोक पूरा गर्नुपर्ने बाध्यता सम्झदा गरिबिदेखि उदेक मान्थे ।

खुट्टामा चप्पल कहिले हुँदैन थियो । विद्यालयमा शिक्षकले घोक्न दिएको सारांशहरु घाँस काट्न गएका बेला घोक्दै घाँस काट्दै गर्थे । तत्कालीन कांग्रेस एमालेको दण्डका क्रममा मरणासन्य हुने गरि पिटाई खाएपछि गाउँबाट पलायन भएका उनले एक आफन्तसंग ऋण लिएर कोरिया पुगे र एक वर्ष दुख गरे ।

त्यसपछि अमेरीका जान खोजेका टंडनलाई ‘तँ अमेरीकाको भिसा पाउन योग्य छैनस्’ भन्ने दुतावासको जवाफले देशमै केही गर्ने संकल्प जगाइदियो । त्यसपछि आफ्नै काम गर्न सुरु गरे । आज उनको पूरा लगानी र आंशिक लगानी रहेका झण्डै आधा दर्जन कम्पनि र संघसंस्थाहरुमा ५ सयभन्दा बढि युवालाई रोजगारी दिएका छन् । यो सफलता प्राप्त गर्न उनले केकस्ता संघर्ष गरे त ? यी र यस्ता बिषयमा रहेर मोटिभेट न्युजका सम्बादात नवराज कुँवरले केहि कुराकानी गरेका छन, प्रस्तुत छ सोही कुराकानीमा आधारित यो सामर्गी ।

धानको भात खान दशैँ कुर्नुपर्थ्यो

भनिन्छ जीवन एउटा चक्र हो । यो घुमिरहन्छ । घुम्ने क्रममा कहिले सुख र कहिले दुख मानिसले सामना गर्नुपर्छ । सुरुमा जसले बढि दुख र संघर्ष झेल्न सक्छ, जसले जीवनको लक्ष्य प्राप्तीका लागि जोखीम मोल्न सक्छ उही सफल हुन्छ भन्ने भनाईलाई पुष्टि गर्दै एउटा उदाहरण बनेका छन् । गुल्मिको विकट गाविस दर्दिनेटा ६ चोहेघामा एउटा समान्य परिवार जन्मिएका लोकबहादुर आफ्नो बुवाका कान्छीपट्टिका जेठा छोरा हुन् । उनीसहित उनकी आमाले १२ सन्तानलाई जन्म दिएकी थिइन् । तर गरिबिकै कारण ४ जना भाई र १ बहिनी गुमाए उनले । ‘त्यतिबेला झारफुकको जमाना थियो ।’ उनी भन्छन् ‘गरिबी र अशिक्षाकै कारणले पनि मेरा भाईबहिनिहरु गुमाएँ ।’

घरको आर्थिक अवस्था राम्रा थिएन । उनका बुवा सामान्य किसान थिए । योसंगै लोकबहादुरको बुवाले गाउँमा एउटा सानो खुद्रा पसल पनि चलाउथेँ । लोकबहादुरको बाल्यकाल एकदमै दुखपूर्ण थियो । उनीहरुले धानको भात खान चाडपर्व कुर्नुपथ्र्यो । लुगा फेर्न पनि दशैँ नै पर्खनुपथ्र्यो । खुट्टामा कहिले जुत्ता जप्पल हुदैन थियो । खाली खुट्टै हिड्नुपथ्र्यो । वर्षभरि आँटो खाएरै बाँच्नुपर्ने र फाटेको लुगा सिलाएरै लाज छोप्नुपर्ने अवस्था थियो ।

लोकबहादुर आफ्नो बाल्यकाल सम्झदै भन्छन्, ‘धानको भात घरको मुलीलेमात्र खान्थे उतिबेला, हामी त त्यसै पनि गरिब थियौँ । धान धेरै नहुने भएकाले हामीले धानको भात खान पाउने कुरा टाढै थियो । लुगा लगाउन पनि दशैं नै आउनुपथ्र्यो । नभए फाटीहाल्यो भने सिलायो अनि लगायो ।’

पढ्छस् भने विहे गर हैन भने नपढ

संघर्षपूर्ण बाल्यकाल गुजारेका उनले स्थानीय लम्छामा रहेको सरस्वती विद्यालयबाट पढाई सुरु गरे र सिरिङगाको जनजागृति निमाबिबाट ७ कक्षा पास गरे । पढाईमा सामान्य लोकबहादुरले ७ कक्षा पास गरेपछि बनारस गएर पढ्ने विचार गरे । त्यसपछि त्याहाँस्थित उनका भिनाजुलाई सम्पर्क गरे र सन १९७८ सालमा भिनाजुको सहयोगको आसामा उनी बनारस पुगे । उनी सम्झन्छन् ‘त्यतिबेला बनारसमा ५० रुपैयामा एक महिना खाना पाइन्थ्यो । त्यो पैसा भिनाजुले नै तिरिदिनुहुन्थ्यो ।’

उनले स्मरण गरे, ‘अस्ति केही समय अगाडी भिनाजुले फोन गरेर त्यो पैसाको बारेमा कुरा गर्नुभयो । मैले सोधेँ, ‘कति दिनुपर्ने छ मैले भिनाजु ?’ उहाँले भन्नुभयो ‘११ हजार’ । मैले ३० हजार पठाइदिएँ । किन भने त्यतिबेलाको ११ हजार अहिलेको ३० हजारभन्दा के कम ?’ भिनाजुको साहारामा दुई वर्ष बनारस बसेपछि बृद्ध बुवाले घर आउन उनलाई बोलाए । त्यहाँबाट उनी घर फर्केर फेरि पढ्ने विचारमा थिए तर उनका बुवाले उनीमाथी एउटा सर्त तेस्र्याए, ‘अब बाँकी पढ्छस् भने विहे गर, हैन भने तँ नपढ ।’ उनी सम्झन्छन्, घरको जेठो छोरा भएकाले सायद बुवाले मबाट त्यो अपेक्षा गर्नुभएको थियो ।’

गरिबिबाट दिक्क भएर परिवर्तनको आन्दोलनमा

बाध्य भएर उनले विहे गरे । त्यसपछि उनले आफ्नो बुवाको व्यापारमा संलग्नता जनाए र समान्य ढंगबाट जिविका चलाईरहेका थिए । गरिबहरुको लागि राजनीतिक परिवर्तनले केही राहत देलाकि भन्ने हेतुले तत्कालीन राजनीतिक परिवर्तनको संघारमा देश रहेका बेला त्यो परिवर्तनको पक्षमा भएको २०४६ सालको आन्दोलनमा उनी सरिक भए । उनले गाउँबाट बुटवल गए, जहाँ आन्दोलनको ठूलो जमात थियो । त्यतिबेला उनको हातमा कांग्रसको झंडा पर्यो । उनी सम्झन्छन्, त्यतिबेला जसको हातमा जुन पार्टीको झण्डा पथ्र्यो, ऊ त्यही पार्टीको हुन्थ्यो । त्यसपछि उनलाई सबैले कांग्रेस भन्न थाले ।

२०४७ साल पौष ३ गते उनले तत्कालीन एमाले नेता र कार्यकताहरुद्धारा मरणासन्य हुने गरि पिटाई खाए । बलेटक्सार भन्ने ठाउँमा उनलाई समाते र कांग्रेस भन्दै एक हजारभन्दा बढि संख्यामा भेला भएका एमाले कार्यकर्ताहरुले पिटे र साथमा भएको पैसा समेत लुटिदिए । उनलाई बाँधेर पिट्दै सिरिङगा पु¥याए । उनले आँखाभरि आँसु पार्दै भने, मलाई पिट्दै पिट्दै सिरिङगाको देउराली मावीमा पु¥याए, मलाई धेरै पिटे । मेरो मुखमा थुकिदिए । म बाँच्छुजस्तो लागिरहेको थिएन ।

त्यो विद्यालयको छेउमा घर भएका एकजना मेरा साथी हुनुहुन्थ्यो हरि कँडेलजी । उहाँलाई मैले भने हरिजी मलाई बचाउनुस्, तपाईले भन्नुभयो भने मलाई छाडिदिन्छन् । म उनको पाउ परेँ । तर उनले उता जानुस भनेर धकेले । अब मलाई झन् बाँच्छुजस्तो लागेको थिएन । मेरी आमाले कहाँबाट थाहा पाउनुभएछ र आएर बरु मलाई मार मेरो छोरालाई छाडिदेउ भनेपछि उनीहरुले घरको बरंडामाथी चढाएर कांग्रस चोर देश छोड भन्न लगाए । म जीवन पाउनका लागि सबै कुरा भन्न विवस थिएँ । त्यसपछि मलाई छाडिदिए । फेरि पिट्न आउलान भन्ने भएले म भागेर बुटवल पुगे ।

पिटाई खाएपछि व्यापारमा

त्यति पिटाई खाएपछि उनी बुटवल गए । त्यहाँबाट आफन्तहरुसंग ऋण गरेर कोरिया गएर एक वर्ष काम गरे । उनी निकै मेहनती थिए । पैसा धेरै खर्च गर्दैन थिए । त्यसैले उनले एक वर्षमा ८ लाख जम्मा पारे । एक वर्षपछि कोरियाबाट फर्केर उनले बुटवलमै ग्लास हाउस खोलेर व्यवसाय सुरु गरे । व्यवसाय राम्रै हुँदै गएपछि जग्गाको कारोबार, घर खरिदविक्रिमा लागे ।

त्यो व्यापारबाट पनि उनलाई राम्रै थियो । २०६४ सालमा अलिअलि पैसा जम्मा गरेर उनी अमेरीकाको भिसा लाउन भनेर काठमाडौँ आए । तर अमेरीकी दूतावासले भन्यो ‘तिमि भिसा प्राप्त गर्न योग्य छैनौ ।’ त्यसपछि उनले काठमाडौँको जडिबुटिमा अर्को पनि ग्लास हाउस खोलेर व्यवसायलाई नै निरन्तरता दिए ।

काम गरे के हुँदैन

उनी भन्छन्, यदि मलाई एमालेका साथीहरुले नपिटेको भए मेरो चेत खुल्ने थिएन, म गाउँमै अल्झिन्थेँ । म बुटवल झर्थेँ कि झर्थिन । यदि मलाई अमेरीकाले भिसा दिएको भए म नेपाल फकिन्थे कि फकिन्न थिएँ । प्रगतिको लागि मान्छेले हन्डर खानैपर्ने रहेछ ।

टण्डन ब्राण्ड

हिँजो खान धौधौ पर्ने बाल्यकाल गुजारेका लोकबहादुरले अहिले चर्चित यति हेल्थ साइन्स एकेडेमी, ग्रिनसीटी हस्पिटल, टण्डन ब्राण्डका नाममा टण्डन साडी स्वरुम, टण्डन सप्लायर्स, टण्डन ग्लास, टण्डन फर्नीचर उद्योगलगायतका १० वटा पसल तथा उद्योग संचालन गरिरहेका छन् ।

यति हेल्थ साईन्स र ग्रिनसिटिका उनी अध्यक्ष हुन् भने अन्य कम्पनी, उद्योग तथा व्यवसायका मालिक हुन् । उनको अथक मेहनत र प्रयासले अहिले उनको पूरा लगानी रहेका र आंशीक लगानी रहेका कम्पनी संघसंस्थाहरु गरेर पाँच सयभन्दा बढिले रोजगारी पाएका छन् ।

समाजसेवामा पनि टण्डन

उनी आजभोली समाजसेवामा पनि लागेका छन् । उनको ग्रिनसिटि हस्पिटलमा अहिले महिनामा कम्तिमा दुई जना गरिब विरामीको उपचार निशुल्क गरिन्छ । गाविसबाट गरिब भएको प्रमाणपत्र लिएर आए शल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि अस्पतालले निशुल्क गरिदिने उनी बताउँछन् ।

त्यस्तै उनले विभिन्न अक्षय कोषका लागि समेत सहयोग गर्ने गरेका छन् । उनी भन्छन्, ‘पैसामात्रै कमाएर के गर्नु । खुशीको लागि आत्मसन्तुष्टि चाहिन्छ । आत्मसन्तुष्टि अरुको सेवाबाटमात्र मिल्छ ।’

प्रतिकृया दिनुहोस्

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ । दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट मल्टिट्रेड प्रा।लि को मार्फतबाट नेपाली सेवाग्राहिरुलाई सुलब...

सरकारी जागिरमा अडिएन शिवको मन

काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा पहिला सो देशका कलेजहरू, त्यहाँको शिक्षा, त्यसकालागि...

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो रोजाई नै न्यूरोड हुन्छ । पछिल्लो समय...