Motivate News

जापानले माग्यो नेपाल सरकारसंग नेपाली कामदार, केके छन प्रकृया ?

काठमाडौं– जापान सरकारले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार दिन नेपाल सरकारसंग आग्रह गरेको छ । श्रम सम्झौता नै गरेर कामदार आपूर्ति गर्नका लागि जापान सरकारले मस्यौदाको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई पठाएको हो।

जापानले नेपाल सरकारलाई कामदार आपूर्तिका लागि श्रम सम्झौता गर्ने प्रस्तावसहितको पत्र नै काटेर पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

जापानमा दक्ष र अर्धदक्ष कामदार पठाउन श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत छलफललाई तीव्रता दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार हाल यस विषयमा जापानी अधिकारीहरूसँग छलफल भइरहेको छ।

जापान सरकारसँग १५ वर्षअघि गरेको सम्झौता (जिट्को मोडल) परिवर्तन गरी नेपाल सरकारले ‘बायोमेट्रिकल एग्रिमेन्ट’ मार्फत कामदार पठाउने योजनासहित छलफल अघि बढाएको श्रम मन्त्रायलले जनाएको छ।

नेपाल सरकार र जापान इन्टरनेसनल ट्रेनिङ को–अपरेसन अर्गनाइजेसन (जिट्को) बीच सन् २००३ मा विभिन्न क्षेत्रमा परिक्षार्थी कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा सहमति भएको थियो। जिट्को प्रक्रियाले १५ वर्षसम्म खासै गति लिन नसकेपछि उक्त प्रक्रियालाई परिवर्तन गरेर ‘बायोमेट्रिकल प्रणाली’ ९कोरियामा कामदार लगिएको मोडल० मार्फत नेपाली युवा रोजगारीका लागि जापान पठाउने गृहकार्य तथा छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।

श्रम मन्त्रालयका अनुसार नेपाल सरकारले अब रोजगारदाता देशसँग श्रम सम्झौता गर्दा कामदारको मानव अधिकार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासुविधा, २४ घन्टे बिमा र कामदार लिदाँ लाग्ने सेवा शुल्क रोजगारदाता देशले व्यहोर्नुपर्ने गरी सरकारीस्तरमै सम्झौता गर्नेगरी मस्यौदाको जवाफ फिर्ता पठाउने तयारी गरिरहेको छ।

नेपाल सरकारले रोजगारीका लागि नेपाली कामदारलाई जुनसुकै देश पठाउँदा पनि ‘बायोमेट्रिकल एग्रिमेन्ट’ गरेर मात्र पठाउने योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

मन्त्रालयका अनुसार रोजगारीमा जापान जान चाहने कामदारले कम्तिमा ३ महिना जापानी भाषा अध्ययन अथवा पाँचौ श्रेणीको जापानी भाषा परिक्षा ‘न्याट फाइभ’ उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्रतिकृया दिनुहोस्