Motivate News

कसरी आयो लोकमानमाथि महाअभियोग प्रस्ताव ? प्रस्तावक शाहीका यूद्ध अनुभवदेखी महाअभियोगसम्मका सनसनिपूर्ण रोचक खुलासा

काठमाडौँ – कार्तिक ३ गते नेपालको व्यवस्थापिका संसदमा एउटा अप्रत्यासित घटना घट्यो, त्यो पनि यूद्ध स्तरमा । वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र उज्यालो नहुँदै आफ्नो इलाकातिर फर्किहाल्थे । भोलिपल्टदेखि त्यसको प्रभावले सिंहदरवार देखी देशैभरि तरंग ल्याउँथ्यो ।

नेपालको राजनीतिक इतिहासमा कार्तिक ३ गते बुधबार बेलुकी सिंहदरबारभित्रै त्यस्तै तरंग ल्याउनेखालको घटना भयो, जहाँ बन्दुकको प्रयोग गरिएको थिएन, राइफल पट्कीएका थिएनन, बम पट्कीएका थिएन । त्यहाँ त केवल कलमको प्रयोग गरिएको थियो । यद्यपि यसका कर्ता चाँहि उनै जनसेनाका पूर्वकमाण्डरहरु थिए ।

झण्डै भण्डै छापामारयुद्धकै झल्को दिने शैलीमा सो दिन साँझ अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । दर्ता भएको ३ घण्टासम्म न त सुप्रिम कमाण्डर प्रचण्डले सुइँको पाए, न त नेपाल फर्किदै गरेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले ।

पूर्वलडाकु कमाण्डरहरुको पहलकदमीमा आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाईसमेत पूर्व जानकारी नदिई संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो ।

लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने काम विगतको जिल्ला सदरकुकाम आक्रमण भन्दा कम देखिएन । एमाले र माओवादीका १ सय ५७ सांसदको हस्ताक्षर रहेको उक्त महाअभियोग प्रस्तावका प्रस्तावक थिए पूर्व डिभिजन कमाण्डर तथा सांसद महेन्द्रबहादुर शाही (प्रज्वल) । उनले लिएको पहलकदमीले अहिले नेपालको मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारदेखि देशका चोक, तथा चिया पसलहरुमा उनको चर्चा हुन थालेको छ । उनको कामको जताततै प्रसंसा भइरहेको छ । आखिर को हुन् प्रस्तावक महेन्द्रबहादुर शाही ? किन उनले यस्तो पहलकदमी लिए ? यी र यस्तै विषय खोतल्दै सांसद महेन्द्रबहादुर शाहीका बारेमा मोटिभेट न्यूजका अध्यक्ष शोभराज बरालले केही शब्द खर्चेका छन् । प्रस्तुत छ शाहीको विगत र युद्ध कथा ।

को हुन् महेन्द्र ?

कर्णाली अञ्चलको कान्छो जिल्ला कालिकोटको नानिकोट गाविसमा जन्मेका हुन् शाही । दुर्गम कालिकोट, त्यसमा पनि सँधै सुख्खा रहने नानिकोटमा जन्मेका उनी पूर्व प्रमुख पञ्चका छोरा हुन् । उनका बुवा पञ्च भएपनि अन्याय अत्याचारको विरुद्धमै लड्थे, गाउँमा ठालुका विरुद्धमा उनका बुवा संधैभरि धावा बोल्थे । अन्याय र अत्याचारमा परेकाहरुलाई सेवा गर्नु सबैभन्दा ठुलो धर्म मानेर सेवा गर्ने, उनका बुवाको उनी दुई वर्षको हुँदा नै अप्रत्यासित निधन भयो । उनले बुवाको अनुहार राम्रोसँग देख्न पनि पाएनन् । उनी टुहुरा भए, उनकी आमा विधुवा ।

उनका बुवा सँधै गरिब दुःखीको पक्षमा बोल्थे, उनीहरुकै पक्षमा काम गर्थे । त्यो देखेर शोषक सामान्तीहरु इश्र्या गर्थे । बुवाको मृत्यु पछि निमुखा जनताको पक्षमा बोलेका कारण आमा र उनले धेरै दुःख पाए । उनका बुवाले जनताको सेवा गरेकै निउँमा उनीहरुले सजाए पाए । गाउँका शोषक सामन्तीहरुले उनी र उनकी आमालाई राम्रोसँग खान र बस्न समेत दिएनन् । बिस्तारै बिस्तारै महेन्द्रबहादुर शाहीलाई सामान्तीहरुको यस्तो व्यवहार अपच्य हुन थाल्यो । यसले उनको मनमा सानै देखि विद्रोही भावना उत्पन्न भयो । सामान्तीहरुको विरुद्धमा लड्ने एउटा संस्थाको खोजी गर्न थाले । एउटा विश्वासिलो पार्टी उनलाई आवश्यक थियो ।

उनले स्कुलमा शिक्षकबाट सामान्य कुराकानी सुन्थे, मसालको बारेमा गाँइगुइँ कुरा चल्दै थियो । नेपालमा उक्त पार्टीले शोषक सामान्तीका विरुद्ध युद्ध लड्दैछ भन्ने कुराको सँुइ स्कुलबाटै पाए । स्कुलका शिक्षकले पनि उनलाई धेरै कुराको जानकारी दिए ।

शिक्षकहरुको सल्लाह अनुसार उनले २०४८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रुपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाले । कतिबेला कहाँ गएर युद्ध लडौं भनेर रातो रगत तातेका बेलामा २०५२ सालमा जब माओवादीले जनयुद्धको सुरुवात ग¥यो, तब उनमा खुशीको सीमा नै रहेन । २०५२ सालबाटै जनयुद्धमा होमिएका उनी पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्न थाले ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेल्न थाले । पछि उनी कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व गरे । उनी युद्धमोर्चामा आफैं सहभागी हुन्थे । नेतृत्व गर्न देखि लड्नसम्म दोहोरो भूमिकाको निर्वाह गर्ने गरेका शाहीले संसदमा पनि योजना बनाए र अडाडि बढे ।

सेनाको नेतृत्व

२०५२ सालमा जनयुद्ध सुरु भएदेखि नै सेनामा आवद्ध भएका शाही कर्णाली अञ्चलको पहिलो सेनाको भूमिकाबाट भूमिगत जीवनको सुरुवात गरे । सुरुमा पाँचजनाको सैन्य टिममा उनी एक सदस्य थिए स्थापना हुँदाका दिनहरुमा । त्यसको केही समय पछि नै उनले कालिकोट जिल्लाको सैन्य इन्चार्जको भूमिका पाए । आफूले पाएको भूमिकालाई पार्टीमा अवसरको रुपमा लिने शाहीले त्यसपछिका विभिन्न मोर्चा हुँदै पार्टीको मध्य तथा सुदूुरपश्चिममा हुने जुनसुकै कारवाहीको पनि नेतृत्व गरे ।

पश्चिम नेपालमा बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै कारवाहीमा उनको नै कमाण्ड हुन्थ्यो । सेनाको हरेक फर्मेसनमा कमाण्डरको भूमिका निर्वाह गर्न सफल भएका थिए शाही । सुरुमा वार्ड कमाण्डर, स्क्वाड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डर सम्मको नेतृत्व गर्न सफल भएका शाहीले नेपाली सेनामा समायोजन बेलामा हुँदा सम्मानजनक पद नभएपछि पार्टीको मूलधारको राजनीतिमा आएका थिए ।

सेनाको ब्यारेकमा रहँदा धेरैजना डिभिजन कमाण्डरहरुले भ्रष्टचार गरेका आरोपहरु लागे तर उनले नेतृत्व गरेको डिभिजनमा कुनै पनि विवाद आएन । सेनालाई खुशी पार्दै उनी आफ्नो पार्टीमा सहज रुपमा अवतरण भएका थिए । सेना समायोजन पछि मूलधारको राजनीतिमा आएका शाहीले आफ्नो निर्वाचन क्षेत्र रहेको कालिकोट जिल्लाको संगठनलाई मजबुत बनाउनतिर ध्यान दिए । जिल्लामा संगठन मजबुत बनाएकै कारण संविधानसभाको दोस्रो निर्वाचनमा उनी विजयी हुन सफल भए । खुशीको अबीर लगाए । उनको विजय पश्चात कालिकोटक्षेत्र नं. १ मा विजयी जुलुल निक्लियो । यो उनको मिहिनेतले पाएको सफलता हो ।

माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका शाही माओवादी र कांंग्रेसको समीकरणमा बनेको यो सरकारमा मन्त्री बन्ने धेरै हल्ला थियो तर पछि त्यो हल्लाले सार्थकता पाउन सकेन । महाअभियोग प्रस्ताव संसदमा पेस गरेपछि भने उनको चर्चा एकाएक सतहमा आयो र अबचाहि उनी पक्कै मन्त्री बन्नेबाटो खोले भन्नेहरुको जमात पनि कमी छैन यो सहरमा ।

पहिलो र अन्तिम युद्ध

उनले लडेको पहिलो युद्ध थियो, कालीकोट शान्तिघाटको पोदमारा आक्रमण । त्यहाँ लड्न जाँदा उनको तर्फबाट एउटा कमाण्ड र अर्को एउटा कमाण्ड गरी दुई टिम युद्धमा सहभागी भएको थियो । कर्णाली अञ्चलकै पहिलो फौजी आक्रमणले कर्णालीमा मात्र हैन, भेरी र सेती अञ्चलमा पनि त्यसले ठुलै तहल्का मच्चायो । माओबादी सेनाको तर्फबाट केही कार्यकर्ता सामान्य घाइते भएपनि सरकार तर्फबाट तीन जनाको ज्यान गयो र दर्जनांै घाइते भए । पहिलो पटककै युद्धमा सोचेभन्दा राम्रो सफलता पाएपछि उनलाई झन् प्रेरणा मिल्यो ।

अझ लड्ने साहस बढेर आयो । पोदमाराको युद्धले सबैलाई साहस दिलायो । उनीहरु लड्न झन् प्रेरित भए । पोदमारामा लड्न जाँदा उनीहरुसंग हतियार थिएन, भँगारुको लठ्ठी लिएर पूर्ण आत्मबल सहित युद्धमा होमिएका छापामारहरुले फर्किँदा एउटा राइफल, एउटा पेस्तोल सहित धेरै जिलेटिनहरु बरामद गरेर फर्किए ।

त्यस्तै उनले लडेको अन्तिम युद्ध थियो, कालिकोटकै पिली माथिको हमला । माओवादीकालमै उनी सहभागी भएर लडेको सबैभन्दा सफल कारवाही पनि पिली नै थियो । संयोग भनौं वा नियती पहिलो आक्रमण पनि उनले कालिकोटमै लडेका थिए भने अन्तिम पनि उनको लागि कालिकोट नै बन्यो । पहिलो लडाइमा पनि उनी एउटा सेनाको कमाण्ड गरेका थिए भने पिलीको घटनामा पनि उनले नै जनमुक्ति सेनाको कमाण्ड गरेका थिए । पिलीमा समयले साथ दिएकाले सफल युद्धको अवतरण गर्न सजिलो भएको शाहीको भनाइ छ ।

सदरमुकाम कब्जा

महेन्द्रबहादुर शाहीको नेतृत्वमा धेरै आक्रमणहरु भए, सयौँ भिडन्तमा उनी सहभागी भए । धेरै युद्धको नेतृत्व गरे । योजना बनाउनेदखि लड्ने सम्मको काम उनी आफै गर्दर्थे । युद्धकालमा कुन ठाउँमा कहिले आक्रमण हुन्छ भनेर कि सैन्य कमाण्डरलाई थाहा हुन्थ्यो, कि त सुप्रिमो प्रचण्डलाई मात्र जानकारी हुन्थ्यो । उनकै नेतृत्वमा योजना समेत आफैं बनाएर आक्रमण गरेको जिल्ला सदरमुकाम कपिलवस्तुको तौलिहवा हो । त्यो आक्रमणको पूर्व जानकारी महेन्द्रबहादर शाही र प्रचण्ड बाहेक अरुलाई जानकारी थिएन । महेन्द्रबहादुरको नेतृत्वमा जिल्ला कब्जा भएको यो ठुलो घटना हो । त्यहाँ समय अभावका कारण आर्मी क्याम्प बाहेक सबै कार्यालयहरु कब्जा गरेर फर्किएका थिए ।

असफल कारबाहीहरु

उनले लडेको सबैभन्दा असफल युद्ध जुम्लाको खलङ्गा आक्रमण हो । त्यसमा मौसमको कारणले माओवादीले नराम्रो हार व्यहोर्नुप¥यो । कार्तिक महिनामा भएको थियो जुम्लाको खलङमा माथि हमला । हिमाली जिल्ला जुम्लामा कार्तिक भन्दा अगावै हिउँ पर्छ । चिसोले त्यहाँका जनताको जनजीवन प्रभावित हुन्छ । त्यही समयमा माओवादी आक्रमण गर्न जाँदा प्रभावित बन्यो । एक हप्तासम्म लड्ने उद्देश्यका साथ गएका माओवादी सेनाहरु चिसोले तीन घण्टा पनि लड्न सकेनन् । पानी परिरहेको थियो, हिउँ पर्न खोज्दै थियो । हिउँ र पानीले माओवादीका हतियारहरु जाम भए । फायर हुन छोडे । कार्तिकमा हिमाली जिल्ला आक्रमण गर्ने योजना बनाउमा नै ठुलो कमजोरी देखियो त्यहाँ । योजनाकारहरुले भने जसरी युद्ध भएको भए सायद त्यहाँ पनि माओवादीको इतिहास रचिन्थ्यो होला, तर मौसमले माओवादीलाई धोका दियो । हार व्यहोरेर फर्किनुपर्ने बाध्यता भयो ।

मरेर बाँचेको पल

जनयुद्धको समयमा प्रहरीबाट भन्दा पनि बढी डर सिआईडीबाट हुन्थ्यो । सिआईडी गाउँकै भद्र भलाद्मीहरु हुन्थे । घरमा भेटघाट गर्न आएको वेलामा त्यस्ता सिआईडीहरुले प्रहरीलाई खबर गर्थे र प्रहरी आएर माओवादीहरुलाई अमानवीय किसिमले हत्या गर्दथे । यस्तो खालको घटनामा महेन्द्रवहादुर शाही पनि परेका छन् । एक चोटिको कुरा हो उनी भेटघाट गर्नको लागि नानीकोट गएका बेला प्रहरीले उनी बसेको घर घेरा हाल्यो । त्यो उनको घर थिएन, अर्कैको घरमा बसेका वेला पनि सिआइडीको मद्दतले प्रहरीले उनी बसेको घरमा घेरा हाल्न सफल भएको थियो । उनी दुई जना वडीगार्ड पनि साथैमा थिए घर भेट्न गएका थिए । उनीहरु तिनैजना एउटै घरमा बसेका थिए । तिनओटा राईफल सहित केहि ग्रिनेटहरु थिए उनको साथमा । घर भित्रैबाट पनि उनले सकेसम्म लड्ने योजना बनाई सकेका थिए । साथीहरुलाई नडराउन उर्दी जारी गर्दै तयारी अबस्थामा रहन निर्देशन दिए । गाँउको सबै घर र उनी बसेको ओरिपरिको सबै घरमा खानतलासि गरे । तर त्यो घरको आँगनबाट उनी भित्र पस्न सकेनन र फकिए । त्यहाँ भिडन्त हुनबाट बचे । प्रहरीहरु घरभित्र नपसी त्यत्तिकै फर्किए । त्यो घटनामा उनी बालबाल बाँचे । यदि त्यहाँ भिडण्त भएको भए सायद आज यसरी संसदमा महाअभियोगको प्रस्ताव गर्दा गराउने अवसर पाउँथेनन ।

नेपाली सेनासँगको जम्काभेट

जनसेनाको एउटा टोली कन्चनपुरको बेलबारीमा थियो । त्यसको नेतृत्वकर्ता उनै शाही थिए । बेलबारीमा बसेको समयमा नेपाली सेनाले जनसेनालाई घेरा हालिसकेको रहेछ । आर्मीको घेरामा परेका जनमुक्ति सेना अताल्लिन थाले, के गर्ने कसो गर्ने, उनीहरु एकदमै डराए । धेरै ठाउँमा तितर बितर भए । कोही कता, कोही कता नेपाली सेना र जनसेना छुट्याउनै ग्राहो भयो । शाहीले भने, “हामी हामै्र सेना हो भनेर उनीहरु नजिक गयौँ र उनीहरु पनि आफ्नै सेना जस्तो मानेर हाम्रोतिर आए । नजिक पुग्दा त नेपाली सेना पो रहेछ । मसँग दुई जना बडीगार्ड पनि थिए । नजिकै जम्काभेट भयो । हतियार उठाउने ठाउँ पनि बाँकी रहेन । त्यहाँ हात हालाहालको स्थिति सृजना भयो । म सामान्य घाइते भएँ ।, साथीहरुलाई ठूलो चोट लाग्यो । हामीहरु आर्मीलाई छक्याउँदै भाग्न सफल भयौँ । त्यो एउटा महत्वपूर्ण घटना थियो मेरो लागि ।”

यस्ता दर्जनौँ घटनामा मरेर बाँचेका हुन् शाही । उनको शरीरभरि गोली र छर्राहरु अहिले पनि छन् । उनले ती गोली तथा छर्राहरु अझै निकाल्न सकेका छैनन् । आफू मरेर बाँचेका महेन्द्रले एक पटक फेरि जनताको काम गरेर महान नेताको उपमा पाएका छन् । दर्जनौ पटक मरेर बाँचेका शाहीले भ्रष्टाचार अन्त्य गरी देशमा सुशासन कायम गरोस् भन्ने आशा नेपाली जनताले राखेका छन् । यो आशालाई शाहीले निराशामा परिणत गर्ने छैनन् भन्ने आशा आमीले लिएका छौँ ।

पहिलो पटक विना जानकारी गरिएको काम

जनयुद्धको समयमा सर्वाेच्च कमाण्डर थिए अध्यक्ष प्रचण्ड । उनलाई एम्बुुस थापेको देखि जिल्ला सदरमुकाम कब्जाबारेका सम्पूर्ण जानकारी दिइन्थ्यो । आर्मी वा प्रहरीसँग जम्काभेट भएकोमा बाहेक सबै कुराको जानकारी सुप्रिमोलाई हुन्थ्यो तर महाअभियोग प्रस्ताव दर्ता गर्दा सुप्रिमोलाई विना जानकारी दर्ता भयो । यसमा धेरै कारणहरु थिए । साँसद शाही भन्छन्, ‘कतै सुप्रिमोले बिचमा रोक्ने त हौइनन् भन्ने डर थियो हामीलाई । कसैले जानकारी पाइहाले महाअभियोग प्रस्ताव दर्ता नहुने खतरा थियो, त्यही भएर प्रचण्डलाई समेत जानकारी नदिई संंसदमा महाअभियोग प्रस्ताव दर्ता गरियो ।’ यस्तै धेरै जना हस्ताक्षरकर्ता साँसदहरुलाई पनि आफ्नो हस्ताक्षर कुन प्रयोजनको लागि लिइदैछ भन्ने जानकारी थिएन । यूद्ध स्थरमा सुप्रिमोलाई जानकारी नदिई घटेको यो पहिलो घटना हो माओबादी कमाण्डरहरुकोे लागि ।

एमालेसंँगको सहकार्य

महाअभियोग प्रस्ताव दर्ता गर्न संसदमा १ सय ४९ जनाको हस्ताक्षर चाहिन्छ तर महाअभियोग लगाउन आवश्यक मत माओवादी केन्दसँग थिएन । एमाले विश्वास पात्रहरुसँग छलफल गरेर महेन्द्रबहादुर शाहीले गोप्य रुपमा हस्ताक्षर संकलन गरे, त्यो पनि युद्धकै गतिमा । जनविरोधी, शोषक सामन्तको विरुद्रमा काम गर्दा पार्टीले गर्ने जुनसुकै कारवाही भोग्न तयार हुँदै उनले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराए । यसलाई पछि पार्टीले पनि साथ दियो र जनताको पनि आड पाए । अहिले उक्त महाअभियोगको विषयमा संसदमा वहस चलिरहेको छ । यो बिचमा आकाश नखसे उक्त महाअभियोग प्रस्ताव भारी मतका साथ पास हुनेछ र लोकमानलाई महाभभियोग लगाएर हटाइनेछ ।

यो पनि पढ्नुहोस्

जिल्लाको विकासमा रमाउने सांसद विष्ट

प्रतिकृया दिनुहोस्
dinesh-625x385

प्राविधिकलाई प्रहरी नेतृत्व राजनीतिक ‘असफलता’

फागुन ५,काठमाडौं -नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आईजी)हरुले राजनितिक खिचातानी र हस्तक्षेपका कारण संगठनको नेतृत्व प्राविधिकको हातमा जानु दुर्भाग्यपुर्ण भएको बताएका छन् । प्रहरी प्रमुख छनोट विवाद र पछिल्लो स्थितीबारे असन्तुष्टि व्यक्त गर्दै पूर्वआईजीपीहरुले यसका लागि राजनीतिक नेतृत्वलाई दोष दिएका छन् ।आजको अन्न्पुर्ण...

deuwa kp & prachand

स्ववियु चुनाव तोकिएकै मितिमा – प्रमुख दल

फागुन ५,काठमाडौं – तीन ठूला दल त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनाव निर्धारित समयमै गर्ने पक्षमा उभिएका छन् । त्रिवि सभाले घोषणा गरेअनुसार १४ फागुनमा मतदान गर्ने कार्यक्रम सम्पन्न गर्न प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता सहमत भएका हुन् ।अाजकाे नयाँपत्रिकामा खबर छापिएकाे...

electric-line

थपियो १५ मेगावट -पुर्वाञ्चल लोडसेडिङमुक्त

फागुन ५,फिदिम – मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ । हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको...

kp-oli

संशोधन प्रस्तावमा ओली लचक

फागुन ५,काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ । बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत...