Motivate News

म मेरो जागिर छाड्न तयार छु, तर बचतकर्ताको हित विपरीत काम गर्न सक्दिनँ : अनिल शाह

काठमाडौँ –  अनिल केशरी शाह एक जना त्यस्ता ‘लाइक माइन्डेड’ बैंकर मानिन्छन्, जसले कुनै न कुनै नयाँ विचार प्रस्तुत गरिरहेका हुन्छन् । अहिले उनी संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुगेको निश्कर्षमा छन् । बैंकहरुको जस्तै उपलब्धी अरु क्षेत्रले पनि लिनुपर्ने शाहको भनाइ छ ।

अघिल्लो साता कालीमाटी तरकारी बजारमा भएको लफडाबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदा शाहले तरकारीमा समेत बैंंकमा जस्तै ‘स्प्रेड दर’ तोक्न सरकारलाई सुझाव दिएका थिए । अहिले उनी मोटरसाइकल बिक्रेतालाई पनि ‘स्प्रेड दर’ लगाउनुपर्ने निश्कर्षमा छन् ।

बैंकबाहेक अन्य क्षेत्रहरुले ३० देखि ४० प्रतिशतसम्म नाफा खाइरहेको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुपर्ने बैंकर शाहको धारणा छ । ब्याजदरको विषयमा पनि राज्यले अलि नयाँ किसिमले सोच्नुपर्ने उनको भनाइ छ ।

हाल नविल बैंकका सीईओ रहेका शाहसँग हामीले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे कुराकानी गरेका छौं । यसक्रममा उनले बैंक र वित्तीय क्षेत्रका कर्मचारी र सञ्चालकहरुलाई उद्योग कलकारखानाका मालिक र मजदुरहरुसँग तुलना गरेर हेर्न आग्रह गरे ।

संघीयतामा गइसकेपछि बैंकिङ क्षेत्र सुदृढ बन्न थालेको भन्दै शाहले खुशी व्यक्त गरे । ‘राष्ट्र बैंकले ल्याएको पूँजीवृद्धिको योजनापछि बैंकहरु अझ बलिया भएका छन्’ शाह भन्छन्– ‘मुलुकमा बैंकको उपस्थिति बढेको छ । शाखाहरु गाउँगाउँमा विस्तार भएका कारण बैंकिङ पहुँचमा नागरिकको हिस्सा वृद्धि भएको छ । स्थानीय तहमा यतिबेला धमाधम बैंकका शाखा विस्तार भइरहेका छन् ।

प्रस्तुत छ, बैंकिङ क्षेत्रको अवस्था, स्प्रेड दर र ब्याजदर लगायतका विषयमा बैंकर शाहसँग गरेको कुराकानीः

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले स्प्रेड रेट घटाएको छ । अब बैंकहरुको मुनाफामा गिरावट आउने सम्भावना छ कि छैन ?

मेरो विचारमा ब्याजबाट हुने आम्दानी घट्न सक्छ । जस्तो स्प्रेड रेट ५ बाट ४।५ मा आउँदा नविल बैंककै बटमलाइनमा हिट गर्छ । तर, त्यसले हिट गर्छ भन्दैमा हामी केही नगरी हातमा हात राखेर बस्दैनौं । यसका लागि हामीले बिजनेस बढाउनुपर्छ । स्प्रेड रेट घटे पनि हाम्रो बिजनेसको भोल्युम बढ्यो भने त नाफा पनि बढ्छ नि । तर, स्प्रेड रेटको विषयमा मेरो अर्को धारणा पनि छ ।

कस्तो धारणा ?

बैंकिङ क्षेत्रमा ५ प्रतिशतको स्प्रेड रेटले यति धेरै मुनाफा आर्जन हुँदो रहेछ भने भने अन्य क्षेत्रमा स्प्रेड रेट धेरै ठूलो छ । एउटा मोटरसाइकल विदेशमा बनेको हुन्छ, कर तिरेर यहाँ ल्याइन्छ । तर, त्यो मोटरसाइकलमा ३०/३५ प्रतिशत स्प्रेड खाने गरिन्छ । यो ठीक हो त ?

बैंकमा काम गर्ने र उद्योगमा काम गर्ने कामदारको जीवनस्तरमा धेरै अन्तराल देखिन्छ । उद्योगमा उद्योगपतिको मात्रै जीवनस्तर फेरिएर कामदारको जहाँको त्यहीँ छ । जबकि बैंकमा मालिकसँगै कामदारहरु पनि धनी भइरहेका छन् ।

दैनिक उपभोगी वस्तुहरु चामल, तेल तथा तरकारीमा पनि स्प्रेड रेट राख्नुपर्छ । एउटा किसानले पाउने रकम र उपभोक्ताले किन्ने रकममा कति धेरै फरक छ । किसानसँग किनेर उपभोक्तालाई बेच्ने मान्छेले पनि कति नाफा खाने भन्ने तोक्दा राम्रो हुन्छ ।

नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने वस्तुमा पनि ५ प्रतिशतको स्प्रेड रेट तोक्दा हुँदैन रु सानो बिजनेस छ भने बरु १० प्रतिशत नै दिउँ । तर, ठूला उद्योग धन्दामा त ध्यान दिनु पर्‍यो नि । जस्तो– एउटा सिमेन्ट उत्पादन गर्न कति खर्च लाग्छ, त्यो सबै खर्च कटाएर ५ प्रतिशत स्प्रेड (नाफा) खाएर उपभोक्तालाई बेचौं न त । यस विषयमा गम्भीर बन्न आवश्यक छ ।

त्यसैगरी, सरकारले नै वितरण गर्ने इन्धनमा पनि ५ प्रतिशतको स्प्रेड रेट तोक्नुपर्छ । अनि मात्रै हामीले कल्पना गरेअनुसारको मुलुक समृद्ध बन्छ र समाजवादी संविधानको कार्यान्वयन हुन्छ । यसको मतलव, मैले हामी (बैंक) लाई ४.५ प्रतिशतको स्प्रेड रेट कम भयो भन्न खोजेको होइन । हामीलाई ४.५ प्रतिशत स्प्रेडले पुग्छ भने अन्य क्षेत्रलाई पनि निश्चित प्रतिशत तोकिदिनु पर्‍यो नि ।

 

बैंकमा लगानी गर्नेहरुले प्रशस्त नाफा कमाउने कारण के हो ?

बैंकमा काम गर्नेहरु गाडी चढ्छन्, ठूलो घर छ भन्ने कुराहरु पनि उठ्ने गरेको मैले पाएको छु । नेपाल अरब बैंकको नामबाट ३४ वर्षअघि हामीले कारोबार शुरु गरेका थियौं । ३४ वर्षअघि यस बैंकमा काम गर्ने कर्मचारीको जीवनस्तर त्यसबेला र अहिले तुलना गर्ने हो भने धेरै फरक छ ।

उहाँहरुले कर्जा लिएर घर बनाउनुभएको छ होला, मोटर किन्नुभएको छ होला । अनि, छोराछोरीलाई राम्रो स्कूलमा पढाउनुभएको छ । कर्मचारी मात्रै होइन, बैंकका संस्थापक सेयरधनीहरुलाई पनि बैंकले करोडौं–करोड मुनाफा पनि दिएको छ ।

अब त्यो बैंकसँगै ३४ वर्षअघि खोलिएको उद्योगको कुरा गरौं ।  त्यो उद्योग खोल्ने मान्छेको त्यतिबेला ५० करोडको सम्पत्ति थियो भने यतिबेला अर्बौं अर्बको पुगिसकेको छ । जीवनस्तर पनि कहाँबाट कहाँ पुगिसकेको छ । तर, त्यही उद्योगमा काम गर्ने कामदारको जीवनस्तर भने जहाँको त्यहीँ छ ।

वित्तीय क्षेत्रमा काम गर्ने र उद्योगमा काम गर्ने कामदारबीच तुलना गर्नुस त, कत्ति फरक छ रु बैंकमा लगानी गर्ने र काम गर्ने दुबैको जीवनस्तर फेरिँदा उद्योगमा चाहिँ उद्योगपतिको मात्रै जीवनस्तर फेरिएर कामदारको जहाँको त्यही हुनु त ठीक होइन नि ।

उद्योगधन्दा, कलकारखाना खोल्ने भनेको सीमित वर्गलाई मात्रै धनी बनाउन त पक्कै होइन । अहिले बीबीएस, बिए, एमबीए, एबीएस पढेका युवाहरुलाई कहाँ जागिर खाने भनेर सोध्ने हो भने बैंकिङ क्षेत्रमा भन्नुहुन्छ । हो, त्यस्तै सोच अन्य क्षेत्रका लागि पनि बनाउन आवश्यक छ ।

 

८ अर्ब पूँजी पुर्‍याउनै पर्ने बाध्यताका बीच पनि गत आर्थिक वर्ष बैंकहरुले मुनाफामा राम्रै प्रगति गरे, यो कसरी सम्भव भयो ?

बैंकहरुको मुनाफा वृद्धिलाई सबैले सकरात्मक रुपमा लिनुपर्छ । बैंकहरुको अवस्थामा धेरै सुधार भएको छ । कुनै क्षेत्रले राम्रो गर्न खोज्छ भने त्यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

विगत केही वर्षदेखि नै बैंकहरुले राम्रो मूनाफा आर्जन गरिरहेका छन् । बैंकहरुले कसरी मूनाफा बढाए भन्ने प्रश्नका सन्दर्भमा म तपाईलाई एउटा उदाहरण दिन चाहन्छु । म दैनिक रुपमा एउटा होटलको उदाहरण दिन चाहन्छु ।

त्यो होटल पहिले एउटा विल्डिङमा थियो । पछि त्यसले अर्को विल्डिङ थप्यो र त्यो होटलको बेडरुमको संख्या पनि दोब्बर भयो । त्यसपश्चात होटलको नाफा पनि दोब्बर भयो । मान्छेहरुले यो होटलले कसरी यत्रो धेरै नाफा कमायो भनेर प्रश्न गर्छन् । तर, त्यत्रो लगानी गरेर उसले सेवा दोब्बर बनाएको छ भने नाफा पनि त बढ्ने नै भयो नि होइन ?

त्यस्तै बैंकहरुको कुरा गर्ने हो भने पनि हिजो २ अर्ब रहेको पूँजी बढेर ८ अर्ब पुगिसकेको छ । पूँजी जसरी बढेको छ, सोही अनुरुप हामीले बिजनेश पनि त बढाउनुपर्‍यो नि । गत वर्षमा नविल बैंकले मात्रै २२ वटा शाखा विस्तार गरेको छ ।

अन्य बैंकहरुले पनि धेरै शाखा थपेका छन् । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेपालको इतिहासमा नै धेरै शाखा सञ्चालनमा आएका छन् । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा हाम्रो उपस्थिति बढेपछि निक्षेप र कर्जाको मात्रामा पनि वृद्धि भएको छ ।

अर्को कुरा, हाम्रो स्प्रेड रेट गत वर्ष ५ प्रतिशत थियो भने अहिले ४.५ प्रतिशतमा झारिएको छ । हामीले सबै खर्च कटाएर बढीमा ५ प्रतिशतमात्रै नाफा आर्जन गर्न पाउथ्यौं । ५ प्रतिशतको स्प्रेड रेटमा पनि मुनाफा राम्रो आर्जन गर्नु भनेको सकारात्मक पक्ष हो । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो ।

शरीर वलियो हुन मुटु दह्रो हुनुपर्छ । यसर्थ अर्थतन्त्र वलियो बन्न वित्तीय क्षेत्र पनि बलियो हुनुपर्ने हुँदा बैंकहरुको मुनाफा बढ्नुलाई सकारात्मक लिनुपर्छ ।

मुलुककै आम्दानीको कुरा गर्ने हो भने पनि बैंकिङ क्षेत्रको योगदान ठूलो छ । यो क्षेत्रले नै सबैभन्दा बढी कर तिर्छ । म त भन्छु, बैंकिङ क्षेत्रजस्तै अन्य क्षेत्रहरुले पनि यसरी नै नाफा बढाउन् । बढी कर तिरुन् । तर, नाफाचाहिँ काम गरेर बढाउनुपर्‍यो । अनि बढाएको नाफा देखाउनुपर्‍यो र बढेको नाफा अनुसारको कर तिर्नुपर्‍यो ।

 

तर, बैंकहरु सेवाभन्दा पनि बढी मुनाफामा केन्द्रित भएको आरोप छ नि ?

मुलुकमा २८ वटा वाणिज्य बैंकहरु छन् । त्यसमा सरकारी स्वामित्वका पनि बैंकहरु छन् । बैंकहरुले सेवा राम्रो दिएनन् भन्ने विषयमा म सहमत छैन । कुनै एउटा ग्राहकलाई कुनै बैंकको शाखाले दिएको सेवा मन परेन वा चित्त बुझेन भने भोलिदेखि नै अर्को बैंकको शाखाबाट कारोबार शुरु गर्ने सुविधा छ ।

एउटा बैंकले थोरै ब्याज दियो वा कर्जामा धेरै ब्याज लियो भने ग्राहकले विकल्प रोज्न सक्नुहुन्छ । प्रतिस्पर्धाका कारण पनि बैंकले राम्रो सेवा नदिई सुख छैन ।

हिजो विनाशकारी भूकम्प गयो । धेरै क्षेत्रहरु धराशयी भए र जनतालाई सुिवधा दिन सकेनन् । तर बैंकहरुले भने सदाबहार रुपमा बैंकिङ सुविधा प्रदान गरे । हामीले विपन्न वर्गमा लगानी, ग्रामीण भेगमा शाखा लगायतका सरकारी योजनालाई साथ दिइरहेका नै छौं । हामी सेवा दिनका लागि पछि कहिल्यै हटेका छैनौं र हट्दैनौं पनि ।

 

पछिल्लो समय बैंकिङ क्षेत्रमा भएका सुधारहरु के–के हुन् ?

बैंकिङ क्षेत्रमा सुधार क्रमशः हुँदै आएको छ । पछिल्लो समय सुधार भएको मुख्य कुरो लगानीयोग्य रकम हो । विगत केही वर्षदेखि लगानीयोग्य रकमको अभाव सिर्जना भयो । यसको कारण भनेको सरकारले रकम खर्च गर्न नसक्नु हो ।

नयाँ संविधानको व्यवस्थाअनुसार आर्थिक वर्षको शुरुवातदेखि नै रकम खर्च हुन शुरु भइसकेको छ । अब प्रान्तीय सरकार र स्थानीय तह भएपछि पहिलो जस्तो समस्या देखा नपर्ला ।निजी क्षेत्रले तिरेको कर राज्यको ढुकुटीमा बस्छ । नेपाल सरकारले पैसा खर्च गरिदिएन भने त्यो रकम अर्थतन्त्रबाट बाहिर जान्छ र बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना हुन्छ । अब त्यो समस्या भने हटेको छ ।

राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको योजनापछि बैंकहरु अझ बलिया भएका छन् । अर्को कुरा सरकारी नीतिका कारण मुलुकमा बैंकको उपस्थिति बढेको छ । बैंकका शाखाहरु गाउँगाउँमा विस्तार भएका कारण बैंकिङ पहुँचमा नागरिकको हिस्सासमेत वृद्धि भएको छ ।

 

भनेपछि यतिबेला बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ ?

अहिले नै पर्याप्त छ भन्दा पनि पर्याप्त हुँदैछ । विगतमा जस्तो अब भने बैंकिङ क्षेत्रले तरलता अभावको महशुस गर्नुपर्दैन । अहिले मुलुक संघीय संरचनामा गइसकेको छ । पहिले महेन्द्रनगरमा पानी आएन वा ढल निकास भएन भने काठमाडौं आएर मन्त्रीलाई भेट्नुपर्ने बाध्यता थियो । अब त्यो पर्दैन । यो गुनासो प्रदेश वा स्थानीय तहबाटै समाधान हुनेछ । अब बजेट खर्च पनि शुरुवातदेखि नै खर्च हुन शुरु भइसकेको छ ।

डा. युवराज खतिवडाजस्तो विज्ञ व्यक्ति अर्थमन्त्री हुनुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं राष्ट्र बैंकको गभर्नरजस्तो भूमिकामा बसेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँलाई मुलुकको अर्थतन्त्रसम्बन्धी धेरै ज्ञान छ ।

आफैंले अध्ययन गरेर ल्याएको बजेट भएका कारण उहाँले एक–एक बुँदा कार्यान्वयन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । खर्च शुरु भइसकेको छ भने कर असुली पनि सकारात्मक दिशामा अघि बढिरहेको छ । यतिबेला ब्याजदर पनि घट्न शुरु भइसकेको छ ।

तर, बैंकको ब्याजदर अझै घटेको छैन भन्ने गुनासाहरु त आइरहेका छन् नि ?

ब्याजदर जति घटे पनि गुनासाहरु आइरहन्छन् । हामीलाई पनि कुनै वस्तु तथा सेवा लिँदा सस्तो पाए हुन्थ्यो भन्ने लाग्छ । जति छुट दिए पनि महंगैजस्तो लाग्छ ।

म उद्योगपति व्यापारीहरुलाई के आग्रह गर्न चाहन्छु भने ब्याज घटेका बेला उपभोक्तालाई बिक्री गर्ने वस्तु तथा सेवाको मूल्य पनि घटाउनुपर्‍यो । ब्याज नै सबैभन्दा ठूलो कष्ट भन्ने ठानेपछि ब्याजदर घट्दा वस्तुको मूल्य पनि त घटाएर उपभोक्तालाई बेच्नुपर्‍यो नि ।

ब्याज घट्यो भने त्यसको फाइदा एउटा सीमित समूहले पाउने र ब्याज बढ्यो भने त्यसको घाटा भने उपभोक्तासमेतले व्यहोर्नु पर्ने अववस्था छ । यस्तो हुनु हुँदैन भन्ने धारणा हो ।

म एउटा सीईओ भएका कारणले मेरो बैंकका प्रमोटरलाई कसरी मुनाफा दिने भन्ने सोच्नुपर्ने हुन्छ । मेरो बैंकलाई विश्वास गरेर करोडौं, अर्बौं रकम बचत गर्ने बचतकर्ताको हित पनि मैले हेर्नुपर्ने हुन्छ । म मेरो जागिर छाड्न तयार छु, तर बचतकर्ताको हित विपरीत काम गर्न सक्दिनँ । ब्याजदर अहिले घट्न शुरु भइसकेको छ । पहिलो त्रैमाससम्म समय चाहिँ लाग्छ, ब्याजदर घट्छ ।

अर्को कुरा, ब्याजदरको उतार–चढाव त अलिअलि भइ नै रहन्छ । तर, विगतका वर्षहरुमा जस्तो उतार–चढाव हुन्छ जस्तो लाग्दैन । म कर्जा लिनेहरुलाई के आग्रह गर्न चाहन्छु भने अलि ठूला बैंकहरुमा ब्याजदर धेरै घट्ने–बढ्ने हुँदैन ।

 

यतिबेला बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव छैन भनिन्छ, कर्जाको माग कत्तिको छ ?

कर्जाको माग सधैंजसो भइरहन्छ । दिन चाहने वा दिन सक्ने कर्जाको माग कत्तिको छ भन्ने कुरा मात्रै हो । जे होस् नयाँ आर्थिक वर्षमा कर्जाको माग राम्रै छ । भदौ महिनामा मात्रै पनि नविल बैंकमा कर्जाको माग बढ्यो । यतिबेला हाम्रो सीसीडी रेसियो ७५ प्रतिशत छ । तर, ठूला ठूला कर्पोरेट हाउसलाई मात्रै कर्जा दिएर चाहिँ पुग्दैन ।

अब हामीले नयाँ मार्केट लिनु आवश्यक छ । हामीले २२ वटा शाखा थप गरेका छौं । थप गरेका ती शाखाहरुले पुरानै व्यक्ति तथा संस्था, कम्पनीलाई मात्र ऋण दिँदैनन् ।

हामीले नयाँ व्यक्ति तथा कम्पनीमा लगानी गर्नेछौं । हामीले पुरानालाई कर्जा दिँदैनौं भन्न खोजेको चाहिँ होइन । पुराना अनि ठूला कर्पोरेट हाउसहरुलाई पनि कर्जा दिन्छौं । यसका साथै नयाँलाई पनि प्राथमिकतामा राखेका छौं ।

 

मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र भनेर कुल कर्जाको २५ प्रतिशत छुट्याउनुपर्ने र त्यसमध्ये कृषिमा मात्रै १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था कत्तिको चुनौतिपूर्ण छ ?

वास्तवमै चुनौतिपूर्ण छ । नेपालको कृषि भनेको वैयक्तिक क्षेत्र हो । हाम्रो मुलुकमा ठूलाठूला कृषि फार्महरु छैनन् । धेरैजसो व्यक्तिगत र साना फार्महरु मात्रै छन् ।

अर्को कुरा, गाउँघरमा हेर्ने हो भने बालबालिका र ज्येष्ठ नागरिकलाई मात्रै भेट्न सकिन्छ । युवा जनशक्ति त सबै विदेशमा छन् । जब स्वदेशमा खेती गर्ने जनशक्ति नै छैन भने कसरी लगानी गर्नु रु हाम्रा सम्भाव्य किसानहरु मलेसिया, साउदी, कतार, कोरियाजस्ता मुलुकहरुमा छन्, अनि बैंकहरुले कसरी कृषिमा लगानी गर्ने ? पैसा रोपेर त फल्दैन ।

हाम्रो तराईका जिल्लाहरुमा छिमेकी देशका नागरिक आएर खेतीपाती गरिहेका छन् । त्यो देखेर मलाई के लाग्छ भने नेपालमा सञ्चालित वित्तीय क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्दिनँ भन्नु गलत हो ।

 

तर, बाणिज्य बैंकहरुले सानो कर्जा नै दिँदैनन् भन्ने गुनासो छ नि कृषकको ?

मैले कर्जा दिँदा बचतकर्ताको हित पनि हेर्नुपर्छ । मैले कृषकलाई कर्जा दिएको थिएँ, उहाँहरुले तिर्नुभएन, तपाईहरुले १ सय रुपैयाँ राख्नु भएकोमा ९० रुपैयाँमात्रै लैजानुस् भन्न त मिल्दैन । त्यही भएर हामीले त्यो जोखिम पनि हेर्नुपर्छ । नेपालको सन्दर्भमा परम्परागत खेती गरेर आम्दानी गर्न होइन, आफैंलाई गुजारा गर्न पनि गाह्रो छ ।

मुलुक अहिले संघीयतामा गएको छ । म यो प्रणालीबाट धेरै खुसी छु । अब प्रदेश नम्बर ३ कै कुरा गरौं । त्यहाँको मुख्यमन्त्री र कृषिमन्त्रीसँग हामीले भेट्यौं । प्रदेश सरकारको सोच देखेर म खुसी भएँ ।

 

कस्तो सोच देख्नुभयो ?

उहाँहरुले आफ्नो प्रदेशमा जुनार र किवीमा लगानी गर्न सकिने बताउनुभएको छ । यो धेरै राम्रो हो । प्रदेश सरकारले अब ठाउँ हेरेर लगानी गर्न हामीलाई वित्तीय सुविधा दिनुपर्‍यो भन्नुभएको छ । यसका लागि हामी तयार छौं ।

त्यसरी राम्रो उत्पादन गर्न सकियो भने नेपालको जुनार र किवी संसारभरि पुग्छ । त्यस्तोमा लगानी गर्न हामी तयार छौं । तर, यहाँ त्यत्तिकै बैंकहरुले लगानी गरेनन् भनिन्छ । लगानी गरेरमात्रै हुँदैन, त्यो लगानी डुब्नु पनि त भएन ।

 

मुलुक संघीयतामा गए पनि बैंकिङ पहुँच अझ पनि ५० प्रतिशतसम्म पुग्न सकेको छैन, यसलाई ८० प्रतिशत हुन कति समय लाग्ला  ?

यतिबेला धमाधम शाखा विस्तार भइरहेका छन् । हिजो घण्टौं समयसम्म गाडी चढेर बैंकिङ सुविधा लिनुपर्ने बाध्यता थियो, जसका कारण बैंकिङ सेवामा मान्छेको रुचि थिएन । अब गाउँमै बैंक पुग्दैछन् । यसपछि त बैंकिङ सेवातर्फ आकर्षण बढिहाल्छ नि । मेरो विचारमा बैंकिङ पहुँचमा ८० प्रतिशतभन्दा बढी नागरिक पुग्न २ वर्ष पनि लाग्दैन ।

बैंकको उपस्थिति नभएर पो बैंकमा खाता खोलेनन् त । बैंक पुगेपछि त खाता खोल्छन् नि । बैंक पुगेपछि बैंकिङ पहुँचमात्रै होइन, बीमाको पहुँच पनि बढ्छ । यसका साथै सेयर बजारमा नागरिकको पहुँच बढ्नेछ ।

अहिले अधिकांश सेयर कारोबार गर्ने काठमाडौं बस्ने नै छन् । काठमाडौंमा मात्रै ब्रोकर छन् र यहाँ कारोबार हुन्छ । अब वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स खोल्न दिइने भएको छ । यसकारण स्थानीय तहमा बैंक पुगेपछि पुँजी बजारको दायरासमेत बढ्छ ।

 

अन्त्यमा, तपाई कार्यरत रहेको नविल बैंककै कुरा गरौं, मुनाफा आर्जनका हिसाबले नविल सधैं अगाडि देखिन्छ । सधैँ मुनाफा आर्जन गर्नुमा केले भूमिका खेलेको छ ?

नविल बैंकको मुनाफा मात्रै होइन हरेक विषयमा अगाडि नै छ । यसमा सबैभन्दा ठूलो कुरा भनेको ग्राहकको विश्वास हो । हामीलाई निक्षेपकर्ता, कर्जा लिने सबैले विश्वास गर्नुभएको छ । हाम्रो सफलताको मूख्य आधार नै जनविश्वास हो ।

अर्को कुरा नविलमा जस्तो टिम अरु बैंकहरुमा छैन । लामो समयसम्म काम गरेको अनुभवी हाम्रो टिम छ । अनुभव भनेको पैसाले किन्ने होइन । अहिले भने धेरै बैंकहरु नजिक आइसकेका छन् । नाफामा सरकारी बैंक नै अघि बढेका छन् ।

नयाँ शाखा थप्दा हामीले ग्रामीण भेगलाई प्राथमिकता दिएका छौं । ग्रामीण भेगमा शाखा खोल्दा ३ वर्षसम्म वैधानिक तरलता अनुपात र नगद मौज्जात अनुपात नलाग्ने व्यवस्थाको उपयोग हामीले गर्ने नै छौं ।

हामीले सक्षम नामक संस्थासँग पनि ग्रामीण भेगमा सेवा दिन सहकार्य गर्यौं । ब्याचलर, मास्टर्स गरेकाहरु गाउँमा हुँदैनन् भनेर हामीले प्लस टु गरेका कर्मचारीहरु नियुक्त गर्यौं । हामी गाउँमा सेवा दिन अग्रसर छौं ।

यो सामाग्रि अनलाइन खवरबाट साभार गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्