Motivate News

यस कारण आवश्यक छ स्ववियुको पुनःसंरचना !

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको गठन, त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनको लागि भएको थिएन । राजाको नेतृत्वमा सञ्चालित निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध राजनीतिक स्वतन्त्रताको लडाँईको सिल्सिलामा यो अस्तित्वमा आएको थियो ।

Nirmal Bhattrai

लेखक भट्टराई

तत्कालीन अवस्थामा प्रतिवन्धित नेपाली कांग्रेस र वाम पार्टीहरुको वैधानिक फोरमको रुपमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियनले लोकतान्त्रिक आन्दोलन सफल बनाउन अहम् भुमिका अदाह गरे । फलस्वरुप निरङ्कुश पञ्चायती व्यवस्थाको मटियामेटमात्र भएन, शताब्दियौं जरा गाडेर बसेको राजतन्त्र पनि गल्र्यामगुर्लुम ढल्यो । अब नयाँ युग, नयाँ संविधान, नयाँ संरचनातर्फ देश पुगेको छ । अब प्रश्न उठ्छ —विल्कुल फरक युगमा देश पुगिसक्दा पनि त्रि.वि स्ववियुको स्वरुप, संरचना र मिसनमा परिवर्तन हुनु पर्छ कि पर्दैन ?

राजनीतिक क्रान्ति सम्पन्न भएर देश शान्ति, स्थीरता र आर्थिक सम्वृद्धिको चरणमा पुगेको छ । यो नेपालका सबै प्रमुख राजनीतिक पार्टीले भन्दै आएका छन् । कक्षा छोडाएर बटुलिएका विद्यार्थी अगाडि कुर्लिएर विद्यार्थी नेताहरु शान्ति, स्थीरता र आर्थिक सम्वृद्धिका लामा—लामा जोशिला भाषण गरिरहेका छन् । तर नेपालको आर्थिक सम्वृद्धि, शान्ति र स्थीरताको लागि अध्ययन, अनुसन्धान र प्राज्ञिक बहस गर्नु पर्ने विश्वविद्यालयमा त्यसलाई कम महत्व दिएर वा हानी पुर्याएर पार्टी राजनीतिका पट्यार लाग्दा बहस, संसदीय चुनावलाई विर्साउने विद्यार्थी युनियनको चुनाव, तालाबन्दी, फरक राजनैतिक पार्टीप्रति आस्था राख्ने पार्टी वा गूट समर्थित विद्यार्थीविच मारमुंग्री कति दिन गरिरहने ? वाद, सिद्धान्त र राजनीतिक व्यवस्थाको नक्कल गर्न खप्पिस हामी विद्यार्थी सहभागिता र प्रतिनिधित्वको क्षेत्रमा ख्यातिप्राप्त विश्वविद्यालयले अवलम्बन गरिरहेका राम्रा नीति भित्र्याए राम्रै हुने थियो ।

विश्वविख्यात् अक्सफोर्ड विश्वविद्यालयमा एक विद्यार्थी परिषद् कार्यरत छ । हाल बाईस हजारभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा सो परिषद् विद्यार्थी संसदको रुपमा समेत चिनिन्छ । विद्यार्थीको अनुभवको वृद्धि,विद्यार्थीको अध्ययन गर्ने क्षमताको सुरक्षा, विद्यार्थीको आर्थिक, प्रििज्ञक तथा स्वास्थ्यसंग सम्बन्धित समस्याको समाधान, निष्पक्ष परामर्श सेवा, विद्यार्थीको नेतृत्वमा हुने शिक्षण अवार्ड, पत्रिका तथा रेडियो सञ्चालन, उच्च शिक्षा र शिक्षामा लगानी सम्बन्धी राष्टिय बहस यो परिषद्का केही प्रमुख उदेश्य हुन् । यहाँ जो कोही विद्यार्थीले शिक्षा र अन्य व्यवस्थापनबारे आफूलाई गम्भीर लागेको विषय मतदानको लागि प्रस्ताव पेश गर्न सक्दछ । त्यहाँको कामकारवाहीमा कुनै किसिमको राजनीतिक गन्ध वा पक्षपात हुदैन । अमेरिकाको कान्सास विश्वविद्यालयमा पनि यस्तै व्यवस्था पाईन्छ । त्यहाँको विद्यार्थी युनियनको सबभन्दा मुख्य नारा नै “अनुभवको विकास र समुदायको सिर्जना” रहेको छ । यसको अतिरिक्त विद्यार्थीको क्षमताको प्रस्फुटन, शैक्षिक र प्राज्ञिक क्षेत्रमा विद्यार्थीको अधिकतम सहभागिता सो युनियनका प्रमुख कार्यक्षेत्र हुन् ।

एशियाकै ख्यातिप्राप्त विश्वविद्यालय जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको चुनाव त सातवटा विभिन्न विद्यार्थी संगठनको सहभागितामा नेपालको स्ववियुकेि शैलीमा हुन्छ तर उक्त विद्यार्थी युनियनले सभ्य राजनीतिक संस्कार निर्माण गर्ने, विभिन्न क्षेत्रका ख्यातिप्राप्त विद्वान, राजनीतिज्ञ, पत्रकार, उद्योगपति लगायतलाई आमन्त्रण गरेर राष्टिय अन्तराष्टिय मुद्धाहरुमा खुल्लाबहस सञ्चालन गर्दछ । यसले गम्भीर रात्रीभोज बैठक सञ्चालन गर्दछ । अघिल्लो चुनावमा पाँचहजार( जेएनयुमा तीसहजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्) मात्रले मतदानमा भाग लिएका थिए । यसले के देखाउँछ भने यहाँजस्तो त्यहाँ घर डेराबाट विद्यार्थी ओसारेर आम चुनावजस्तो मतदान हुदैन ।

नेपालको जेठो त्रिभुवन विश्वविद्यालयको परिस्थिति विल्कुल भिन्न छ । सबैलाई थाहा छ, केही अपवादलाई छोडेर विदेशी र निजी विश्वविद्यालय अध्ययन गर्न नसक्ने विद्यार्थी त्रिविमा अध्ययनरत छन् । राजनीतिशास्त्र, अर्थशास्त्र ,गणित, भूगोललगायतका विषयका विद्यार्थी भर्ना दर प्रत्येक बर्ष घट्दैछ । त्रिविका धेरै आंगिक क्याम्पसहरुमा एक दुई विद्यार्थीको लागि एक प्राध्यापकको नियुक्ति वा पदस्थापन गर्नु पर्ने वाध्यता देखिदैंछ । यही परिस्थिति जारी रहेमा एक विद्यार्थी पढाउन जनताको करबाट चलेको त्रिविले बार्षिक अधिकतम सात लाखसम्म खर्च गर्नु पर्ने हुन्छ । अर्कातिर प्राध्यापक या त निजी कलेजमा व्यस्त हुनु परेको या राजनीतिमा लाग्नु परेको कारणले त्यो विद्यार्थीलाई पढाउन भ्याउदैनन् र उसको शैक्षिकस्तर राम्रो हुन पाउदैन । अझ विद्यार्थी पनि राजनीतिमा रहेछ भने त त्यत्रो लगानीबाट शैक्षिक उपलब्धि हात लाग्यो शुन्य हुनु अनिवार्य छ । एशियामा राम्रो ख्याति कमाइसकेको त्रिविको यस्तो हालतलाई टुलुटुलु हेरेरै मात्र बस्ने हो ?

त्रिविका शिक्षक, कर्मचारी र पदाधिकारी नियुक्ति गर्दा योग्यता क्षमताको निष्पक्ष प्रतिस्पर्धाको आधार बनाईनु पर्नेमा पञ्चायत रहुन्ज्याल व्यक्तिको व्यवस्थाप्रतिको बफादारी प्रमाणित गर्ने प्रहरी प्रतिवेदनलाई छनोटको प्रमुख आधार बनाईयो । प्रजातान्त्रिक—गणतान्त्रिक शासन व्यवस्थामा छनोटको मुख्य आधार पार्टीको सिफारिस बनाईयो, बनाईदैछ । शैक्षिक प्राज्ञिक मापदण्डभन्दा पार्टीगत भागबण्डा त्रिवि पदमा नियुक्तिको आधार कायम छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियन भन्ने नाममा “स्वतन्त्र” भन्ने शब्द रहे पनि यो युनियन कहिल्यै स्वतन्त्र भएन । यो त पार्टी विद्यार्थी युनियन बन्यो । शैक्षिक संस्थाहरुको यस्तो पार्टीकरणलाई कुनै अर्थमा पनि सही ठहर्याउन सकिदैन ।

त्रिविको साख गिर्दा निःसन्देह वर्तमानमा जस्तै यहाँका शैक्षिक माफिया मौलाउन पाउँछन् । डा. गोविन्द के. सी.ले जस्तो एउटै मुद्धामा दशौं पटक अनसन बस्नु पर्ने अवस्था दोहोरिरहने छ । गरीब तथा जेहेन्दार विद्यार्थीको भविष्य अन्धकार हुनेछ । यसको साख बढ्दा देश विदेशका मेधावी विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्ने छ । जनताको करको सदुपयोग हुनेछ ।
स्ववियुको वर्तमान संरचनालाई आमुल परिवर्तन नगरी त्रिविविको अवस्थामा सुधार ल्याउन सकिदैन । त्रिविवि र यसका आंगिक क्याम्पसमा अधिकांश विद्यार्थी आफ्नो शैक्षिक स्वार्थ बोकेर भर्ना भएका हुन्छन् । उनीहरुको स्वार्थरक्षा नै राज्यको र राज्य चलाउने पार्टीहरुको प्रमुख लक्ष बन्न सक्नु पर्दछ । नेता बन्ने उदेश्य राखेर भर्ना भएका केही विद्यार्थीको दवावमा राज्य र त्रिविवि चल्दिदा यो समस्या कमाधान हुन नसकेको हो । स्वतन्त्रतापूर्वक काम्पस बाहिर राजनीति गर्ने अवसर हुदाँ हुदै दोहोर्याई तेहेर्याई भर्ना गरेर कपाल फुलुन्ज्याल क्याम्पसमा किन राजनीति गर्नु पर्यो र ?

समाधान सजिलो छ । स्ववियुलाई काउन्सीलमा रुपान्तरण गर्ने र सो काउन्सीलमा प्रत्येक संकायबाट सबभन्दा बढी अङ्क प्राप्त गरेको विद्यार्थीलाई पदेन प्रतिनिधित्वको व्यवस्था गर्ने तरिका अपनाउन सकिन्छ । काउन्सीलको बैठकको अध्यक्षता आलो पालो प्रणालीमार्फत् मिलाउनु उपयुक्त हुन्छ । यो वास्तविक,मेधावी एवम् जेहेन्दार विद्यार्थीको साझा थलो हुने हुनाले त्रिविविमा गहन अध्ययनको परिपाटी बस्नेछ । र, अहिलेको जस्तो अंकल विद्यार्थी उमेद्वार हुने, भतिज विद्यार्थी मतदाता बन्ने विकृतिको अविलम्ब अवसान हुनेछ । तोडफोड, तालाबन्दी , कालोमोसाकोे संस्कृतिमा परिवर्तन आउने पक्का छ । फागुन १४ आउदै गर्दा के यसो गर्ने हिम्मत छ राज्य,राजनीतिक नेता, विद्यार्थी नेता र त्रिविविका पदाधिकारीमा ?

प्रतिकृया दिनुहोस्

प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी : भण्डारी, खनाल र नेम्वाङको लबिङ यस्तो

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमाले भित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ...

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण लगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलिकरण गरेर चुस्त र छरितो पारिने बताए । ‘सरकारी कार्यालयका टेवलै पिच्छे...

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...