प्रभु बैंकले जनताको करोडौं रुपियाँ ठगेको खुलासा, यसरी हुन्छ ठगी
काठमाडौं – प्रभु बैंक लिमिटेडले जनताको करोडौं रुपैयाँ ठगेको पाइएको छ । प्रभु बैंकमा जनताले खाता खोल्दै गर्दा ठगिने गरेको खुलासा भएको छ ।
बैंकले आफ्नो कुनै पनि शाखामा कम्पनीको खाता खोल्दा जनतालाई ठग्ने गरेको मोटिभेट न्यूज डटकमले भेटेको छ । बैंकले कम्पनीको खाता खोल्दा १० हजार रुपियाँ अनिवार्य डिपोजिट गर्न लगाएर ठगी गरिरहेको छ । उसले नेपाली जनताको करोडौं रुपियाँ स्थापनकालदेखि आजसम्म होल्ड गरेर राखेको छ ।
कसरी ठगी गर्छ बैकले ?
नेपाल सरकारले ‘सबै नेपालीको बैंक खाता’ अभियान चलाएर जनतालाई बैंकको पहुँचमा ल्याउका लागि प्रेरित गरिरहेको छ । सरकारले विभिन्न खालका भुक्तानीहरु पनि बैंक मार्फत नै गर्नुपर्ने प्रावधानले जनतालाई बैंकमा जान अनिवार्य गरेको छ । सरकारले जनतालाई बैंकको पहँुचमा ल्याउनका लागि ठुलो पापड पेलिरहेका वेलामा प्रभु बैंकले भने उल्टै खाता खोलेर कारोबार गरेका आफ्नै ग्राहकलाई दिनहुँ लुटिरहेको छ ।
प्रभु बैंकमा कम्पनीको नाममा कसैले खाता खोल्न चाहेमा बैंकले १० हजार रुपैयाँ डिपोजिट लिने गरेको छ । बैंकले कम्पनीको कुनै पनि खाता खोल्दा अनिवार्य १० हजार रुपैयाँ गैरकानुनी रुपमा डिपोजिट गर्न लगाएर जनताको रकम लुटिरहेको छ । उसले कम्पनीको खाता खोलेदेखि बन्द नगर्दासम्म उक्त रकम होल्ड गरेर राखिदिने गरेको छ । यसले जनताको करोडौं रकम होल्ड भएर कामविहीन हुने गरेको छ ।
पैसा डिपोजिट राखे पनि उक्त रकमको बैंकले ब्याज त दिँदैन दिँदैन कानुनी रुपमा दिनुपर्ने सेवा सुविधाका लागि पनि अतिरिक्त शुल्क तिर्नपर्ने हुन्छ । चेकबुक लिन, मोवाइल बैैंकिङ लिन, अनलाइन तथा एसएमएस बैंकिङ लिनका लागि ग्राहकले बैंकलाई अतिरिक्त शुल्क बुझाउनु पर्ने हुन्छ ।
बैंकका एक कर्मचारीका अनुसार १० हजार खाता खोल्नका लागि मात्र लाग्ने हो, अन्य सेवा सुविधा लिनका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ । उनले भने, ‘खाता खोल्न लागेको रु १० हजार रकमको अलावा चेकबुक लिन, अनलाइन सेवा, मोवाइल बैंकिङ र एसएमएस बैंकिङलगायतका सेवाहरु लिन अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।’ सोही प्रकृतिको खाता अन्य बैंकमा खोल्दा शून्य मौजातमा खोल्न सकिन्छ ।
कति खाता छन् बैंकमा ?
प्रभु बैंकमा कम्पनीका नाममा खोलिएका खाताहरुको संख्या दश हजार भन्दा बढी रहेको पाइएको छ । देशैभरि रहेका बैंकका शाखाहरुमा १० हजार भन्दा बढीले कम्पनीका खाताहरु खोलेको बैंकका एक कर्मचारीले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले लगभग दश हजार खाता रहेको बताएका छन् । तर यो आधिकारिक होइन ।
मोटिभेट न्यूज डटकमले बैंकमा यस्ता आधिकारिक रुपमा कति ओटा खाताहरु संचालनमा छन् ? भनेर सूचनाको माग गरेको थियो । सूचनाको हकको प्रयोग गर्दै मागिएको सूचनामा बैंकले गोपनियताको सवाल उठाउँदै सूचना दिन मानेन । आफ्ना १२ लाख ग्राहक भएको भन्दै विज्ञापन नै गर्नसक्ने बैंकले, कम्पनीका कतिओटा खाता छन् भनेर संख्या मात्र माग्दा गोपनियताको सवाल उठाउनुलाई आफ्नो कर्तुत लुकाउने षड्यन्त्रका रुपमा हामीले बुझेका छौं ।
सूचनाको हक प्रयोग गर्दै हामी सूचना आयोग गएर यसको आधिकारिक तथ्याङ्क जसरी पनि हाम्रा पाठकहरुमाझ प्रस्तुत गर्नेछौं । बैंकका कर्मचारीले दिएको जानकारीलाई नै आधिकारिक मान्दा बैंकले नेपाली जनताको १० करोड रुपैयाँ बिना ब्याजमा चलाइरहेको छ ।
यसरी बिना ब्याज कसैले पैसा चलाउनु वा लामो समय होल्ड गर्नु सरासर ठगी हो । बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले ललाई फकाई वा जालसाँची गरी कसैको धनसम्पत्ति हडप्नु ठगी गर्नु हो । प्रभु बैंकले पनि राष्ट्र बैंकको निर्देशिका विपरीत ठगी गरिरहेको छ ।
मोटिभेट न्यूज डटकमसँग कुरागर्दै अधिवक्ता कार्कीले भने, ‘यदी साँच्चै बैंकले त्यसो गरेको हो भने प्रमाणसहित राष्ट्र बैंकमा उजुरी गरे राष्ट्र बैकले प्रभु बैंकलाई कारवाही गर्नेछ ।’ लामो समय ठुलो रकम होल्ड गर्दा अर्थतन्त्रमा नै प्रभाव पार्ने भएकाले बैंकको ठगीविरुद्ध कानुनी कारवाही अगाडि बढाउनु पर्ने उनले जिकिर गरे ।
निरीह राष्ट्र बैंक
नेपाल राष्ट्रबैंकले बैंकको पक्षमा प्रतिक्रिया दिएको छ । बैंकले आवश्यकता अनुसार खाता खोल्दा डिपोजिट लिन तथा नलिन सक्ने प्रावधान नरहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका उपनिर्देशक केशवप्रसाद तिमल्सिनाले खाता खोल्दा न्यूनतम रकम मौजातमा राख्ने वा नराख्ने भन्ने कुरा सम्बन्धित बैंकको आन्तरिक कुरा भएको बताए ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै उनले भने, ‘राष्ट्र बैंकले कुनै पनि बैंकलाई डिपोजिट राख्न वा नराख्नेसम्बन्धी नियम नभए पनि यो बहसको विषय हुनसक्छ ।’ उनले अगाडि भने, ‘कसैले राष्ट्र बैंकमा यस विषयमा गुनासो वा उजुरी गरे नयाँ नियम ल्याएर नियमनबारे सोच्न सकिएला तर अहिलेलाई यस विषयमा नियम बनेको छैन ।’
त्यस्तै, कुनै पनि बैंकले चल्ती खातामा ब्याज नदिने नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले बताए । बैंकले करेन्ट एकाउण्टमा व्याज दिन नसके करेन्ट कल एकाउन्ट खोलेर जम्मा भएको रकमको आधा ब्याज दिन सक्ने कानुनी प्रावधान रहेको आत्रेयको भनाइ छ ।
आत्रेयले आफू पनि यस्तो खालको समस्यामा परेको गुनासो सुनाउँदै भने, ‘चल्ती खाता खोल्दा धेरै समस्या रहेछ, त्यही भएर हामीले खाता र बैंक नै परिवर्तन गरेर नयाँ तरिकाले काम गर्न थालेका छौं ।’
उनले अगाडि भने, ‘यदि कसैलाई हाम्रो जस्तै समस्या भएको हो भने राष्ट्र बैंकको निर्देशिका अनुसार बैंकले चल्ती खातामा भएको रकम करेन्ट कल एकाउण्टमा ट्रान्सफर गरेर भए पनि आधा समयको ब्याज दिनसक्छ । त्यसो हुँदा दिनमा भएको पैसाको ब्याज आउँदैन तर राति त्यही पैसाको ब्याज आउने गर्दछ ।’
बैंकले ठगी धन्दा बन्द गर्नुपर्छ : अधिकारकर्मी
उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रभु बैंक नयाँ सामन्तका रुपमा उदाएको बताएका छन् । नेपालमा पछिल्लो समय बैंकहरुको ठगी धन्दाले उपभोक्ता आक्रान्त भएको भन्दै नेपालमा नव सामन्तका रुपमा बैंकको उदय भएको मञ्चको भनाइ छ । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाले प्रभु बैंक नेपालमा केही गरौं भन्नेहरुका लागि सामन्ती भएर निक्लेको बताए ।
उनले भने, ‘बैंकले यसरी पैसा लुटेको मलाइ भर्खर मात्र जानकारी भयो । हामी बैंकको ठगी कार्यलाई तत्काल बन्द गर्न आग्रह गर्दछौं ।’ उनले अगाडि भने, ‘बैंक नव सामन्तवादका रुपमा जनतालाई लुट्नका लागि उदाएको रहेछ । सामान्य व्यापार चलाउँछु भनेर कम्पनी खोल्यो र नजिकैको बैंकको शाखामा खाता खोल्न पर्ने भयो भने कसरी खाता खोल्न सक्छ ।’
मोटिभेटसँग कुरा गर्दै उनले भने, ‘सानो पुँजी संकलन गरेर व्यापार गर्न चाहनेहरुलाई बैंकिङ सेवाबाट बञ्चित गर्ने घृणित कार्यको मञ्च घोर भत्र्सना गर्दछ । सरकारले आर्थिक कारोबार बैकिङ प्रणालीबाट गर्न अनिवार्य गर्ने र बैंकहरुले त्यसको फाइदा उठाउँदै लुट्नु अपराध हो । हामी सबै मिलेर बैंकको गैरकानुनी कार्यविरुद्ध लड्नुपर्छ ।’
उनले एक जना तरकारी पसल गरेर बसेको व्यापारीले बैंकमा खाता खोल्न प¥यो अथवा जुत्ता सिलाउने कालीगढले यस किसिमका खाता खोल्न प¥यो भने उनीहरु को अवस्था के हुन्छ ? भन्दैं बैंकमाथि प्रश्न उठाएका छन् । उनले भने, ‘सामान्य काम गर्दै जिविकोपार्जन गर्नेले कसरी व्यापार अगाडि बढाउँछन् ?’
यो पनि पढ्नुहोस्