Motivate News

अनकन्टार अन्टार्टिकामा यसरी फहरायो नेपालको झण्डा (फोटो फिचर सहित)

काठमाडौं – अल्ट्राधावकको परिचयमा स्थापित भइसकेका सञ्जय पण्डितको परिचयमा अर्को विशेषण थपिएको पनि अब त निकै भइसकेको छ । अब उनलाई धावकभन्दा पनि बढी आरोही भनेर धेरैले चिन्छन् । किनकि, केही वर्षयता उनी हिमालका हिउँसँग खेलिरहेका छन् । र, हिउँ खेल्नु उनको प्यासन हो, सपना र चाहना हो ।

पहाडहरूमा दौडिँदादौडिँदै अचानक हिमालको सौन्दर्यले लोभिएका हुन्, सञ्जय । तर, उनी आफूचाहिँ ‘एडभेन्चर फ्रिक’ भएकाले हिमालले तानेको बताउँछन् ।‘हिमालको देश भनेर चिनिन्छ नेपाल,’ उनी भन्छन्, ‘तर, यहाँका हिमाल आरोहणको रेकर्ड होल्डर अधिकांश विदेशी छन् । यही कुराले अचानक मेरो मन छोयो, अनि महिमालतिर डोरिएँ ।’

अब त यो कुरा सञ्जय गर्वसाथ भन्न सक्छन्, किनकि कतिले त सपना पनि बनाउन नसकेको सर्वोच्च शिखर सगरमाथा आरोहण सञ्जयले दुईपटक गरिसकेका छन् । के पनि बिर्सिनुहुँदैन भने उनले सगरमाथामाथि विजय पहिलो प्रयासमै पाएका होइनन् । तर, बनाएको लक्ष्यलाई लखेट्न उनी लागिपरे । दोस्रो पटकमा त उनलेसगरमाथा ‘कन्क्वेयर’ गरे ।

त्यसपछि सञ्जय नेपालमा मात्र सीमित हुन चाहेनन् । उनले अरू महादेशका शिखरहरू ताके । यो यात्रामा पनि सञ्जय सफल भए ।

जब एसिया, युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिकाका सर्वोच्च शिखरमा सञ्जयले पाइला राखे, त्यसपछि केही समय उनलाई लाग्यो,

‘अब के ?’

हिउँसँग सम्बन्ध गाँसिसकेका सञ्जयलाई हिउँ नै हिउँको महादेश अन्टार्टिकाले लोभ्यायो ।

अनि सुरु भयो, सञ्जय पण्डितको अन्टार्टिका यात्रा ।

जो–कोही अन्टार्टिका जानेबारे सोच्दैनन् । आखिर हिउँ नै हिउँवरपर भएको ठाउँ क्यामेरामा कैद गर्न ‘उति मनोरम’ पनि नहोला । तर, अन्टार्टिका विश्वका धनी व्यक्ति र हिमाल आरोहीहरूको एउटा ‘ड्रिमल्यान्ड’ नै हो भन्दा फरक पर्दैन ।

त्यसमाथि नेपाली आरोहीहरूले त हत्तपत्त अन्टार्टिका पुगेर हिमाल आरोहण गर्ने कल्पना नै गर्दैनन् किनकि यो जति चुनौतीपूर्ण छ, त्यति नै महँगो पनि ।

‘नेपालीका लागि २० पटक सगरमाथा चढ्नु र एकपटक अन्टार्टिका पुग्नुमा खासै भिन्नता छैन,’ सञ्जय भन्छन्, ‘खर्चका हिसाबले अन्टार्टिका हाम्रा लागि झ्वाट्टै सोचिहाल्ने गन्तव्य होइन ।’

फेरि के पनि सत्य हो भने अन्टार्टिकामा केही रोप्न सकिन्छ भने झन्डा मात्र सकिन्छ । जताततै केही फिट हिउँ जमिरहेको त्यो ठाउँमा नेपाली झन्डा रोप्ने लालसा सञ्जयको मनमा पलाएपछि महँगो यात्राले पनि सम्झौता गर्नुपर्ने भयो ।

‘सायद, म सपनालाई पछ्याउँछु,’ सञ्जय भन्छन्, ‘अन्टार्टिका मेरो सपना बन्यो र म त्यता हुत्तिएँ ।’

अन्टार्टिका मात्र पुगेनन्, सञ्जय । त्यहाँको सर्वोच्च शिखर विन्सोन मासिफको सफल आरोहण पनि गरेरै छाडे । २० पुस अर्थात् ४ जनवरी, त्यसैले सञ्जयको जीवनमा एउटा महत्वपूर्ण मिति हो । यही दिन उनले एकवर्षे तयारीलाई सफलतामा परिणत गरे ।

‘त्यो क्षण र त्यो दिनलाई त म शब्दमा वर्णन गर्न सक्दिनँ,’ सञ्जय भन्छन् । शब्दमा हिउँको त्यो सौन्दर्य र सेताम्मे वातावरण वर्णन गर्न नसके पनि मंगलबार पुतलीसडकको एउटा चिया पसलमा भेट्दा सञ्जयको अनुहारमा त्यो प्रस्ट झल्किन्थ्यो ।

त्यसो त यो भाव त्यहाँ पुग्दा खर्च भएको रकमले पनि उत्पन्न गराइदिएको हुनसक्थ्यो । त्यसैले दुई कप चिया अर्डर गरेपछि सञ्जयलाई प्रश्न थियो, ‘कति खर्च गर्नुभयो रु’

सञ्जय फरर बोल्छन् । मानौँ, उनलाई सोधिने प्रश्नहरू बारम्बार एउटै रहँदै आएका छन् वा उनी यो विषयमा आफैँ एक्लै पनि सोचिरहेका हुन्छन् ।

यो प्रश्नमा पनि सञ्जय सुरु भएपछि रोकिएनन्, पिउन ठिक्क पारेर हातमा समातेको चियाको सानो सेतो कप फेरि टेबलमा राखेर सञ्जयले सुरु गरे, ‘व्यक्तिगत गाइड लिएर जाने हो भने त एक करोड नै चाहिन्छ । तर, म समूहमा गएको थिएँ । त्यसैले अलिक कम खर्च भयो । तर, त्यो कम भनेको पनि सानो रकम होइन ।यहाँबाट यात्रा सुरु गरेदेखि यहीँ आउँदासम्म ७० लाखहाराहारीमा खर्च भयो ।’

अब रोकिए सञ्जय, लामो सास फेरे, एक सिप चिया पिए । यतिवेला उनको अनुहारमा यतिका पैसा खर्च गरेकोमा कुनै गुनासो थिएन । उनी मुसुक्क हाँसे र फेरि भने, ‘मैले त प्युठानको घरबारी बन्धकी राखेर यो पैसा जुटाएको थिएँ । अहिले सफल भएँ, र त त्यो ऋण लिएको बिर्सिएको छु । नभएको भए अन्टार्टिका यात्रा मेरा लागिठूलो बोझ थियो ।’

त्यसो त सञ्जयले सबै रकम घरबारी बन्धकी राखेर मात्रै उठाएका होइनन् । उनी आफूलाई सहयोग गर्नेलाई धन्यवाद दिन पनि र्बिसिँदैनन्, ‘मेरो सपना पूरा हुनुमा सहयोगीको हात पनि छ ।’

जे होस्, दुःखजिलो गरेर सञ्जयले इतिहासमा नाम लेखाएका छन् । औँलामा गन्न सकिने नेपाली पुगेको अन्टार्टिकामा पुगेर सञ्जयले अर्को पनि रेकर्ड राखे । सायद, रेकर्डको भोकले उनलाई छाडेन । त्यहाँको रजमान हिमाल आरोहण गरे उनले । ‘त्यो हिमाल चढ्ने पहिलो नेपाली हुँ म,’ सञ्जय अहिले गर्वसाथ सुनाउँछन् ।

भनिन्छ, हजार पाइलाको यात्रा एक पाइलाबाट सुरु हुन्छ । सञ्जयले यसलाई अत्यन्त राम्रोसँग बुझेका छन् । अन्टार्टिका यात्राको पहिलो पाइलामा नै उनलाई साथ दिए केही सहयोगीले । त्यसलाई बलियो बनाइदिएको हो, अमेरिकी अल्पाइन एसियन इन्टरनेसनलले । यो त्यही कम्पनी हो, जसले सञ्जयलाई अमेरिकी सर्वोच्चशिखर आरोहणमा पनि सहयोग गरेको थियो ।

त, सबै तयारी पूरा भएपछि सञ्जय लागे अन्टार्टिका ।

त्रिभुवन विमानस्थलबाट सुरु भयो उनको सपनाको यात्रा । त्रिभुवन एयरपोर्टबाट उडान भरेको उनी सवार विमान कतारमा रोकियो । केही घण्टा ट्रान्जिटमा बिताएपछि सञ्जय पुगे ब्राजिलको साओ पाउलो । त्यहाँबाट अर्जेन्टिनाको ब्युनोस आयर्स, त्यसपछि चिलीको स्यान्टियागो र चिलीकै पुन्टाएरिनाज पुगेपछि सकियोसञ्जयको हवाई यात्रा ।

त्यसपछि झन् तीव्र गतिमा उड्न थाल्यो, उनको ‘ड्रिम जर्नी’ । त्यसपछि उनको टोली विशेष विमानमार्फत् हिउँ नै हिउँमाथि उडान भर्दै पुगे, विन्सोन मासिफको आधार शिविरनजिकै ।

‘विमानबाट बाहिर हेर्दा पनि जताततै हिउँ नै हिउँ देखिएको थियो,’ सञ्जय अहिले त्यो दिन सम्झिन्छन्, ‘विमानबाहिर निस्किँदा त उफ् १ कस्तो चिसो थियो, झन् हिउँको सागरको अन्त्य आँखाले देख्नै सकेन ।’

स्थायी रूपमा मानव बसोवास नभएको अन्टार्टिकामा पुग्दा सबैभन्दा पहिले सञ्जयले के सम्झिए रु

‘हिमाल त मेरो टार्गेट नै थियो,’ उनी भन्छन्, ‘एक मनले चाहिँ नेपाली हिमाल, सरकारले गर्ने आरोहणको व्यवस्था सम्झियो भने अर्को मनले अन्टार्टिका हिमाल आरोहणको व्यवस्थापनबारे पनि मनमा कुरा खेल्यो ।’

तर, त्यहाँ जानुअघि नै सञ्जयलाई यो विषयमा थाहा भइसकेको थियो । अन्टार्टिकाका हिमाल एउटा देश होइन, विभिन्न देशका स्वामित्वमा छन् । केही देशले नै अन्टार्टिकाका क्षेत्रलाई आफ्नो स्वामित्वमा राखेका छन् । त्यसमा पर्ने हिमाल तिनै देशको हो । विभिन्न ट्रेकिङ कम्पनीहरूलाई उनीहरूले त्यसको व्यवस्थापन रआरोहणको मेलोमेसो मिलाउन जिम्मेवारी दिएका छन् । सञ्जयको टोलीचाहिँ अन्टार्टिका लजेस्टिक्स एन्ड एक्स्पिडिसन नामक कम्पनीमार्फत् त्यहाँ पुगेका हुन् ।

अन्टार्टिकामा पहिलो पाइला हिउँमाथि नै राखे सञ्जयले । त्यसपछि हिउँसँगको ‘दोस्ती’ त्यहाँबाट नर्फिकिँदासम्म कायम रह्यो । खोज्न त सञ्जयका आँखाले वरपर हरियाली पनि खोजे, तर यो सम्भव हुने खोजाइ थिएन ।

‘अन्टार्टिका नै सेतो च्यादर ओडेको महादेश हो,’ सञ्जयले अनुहारमा यस्तो भाव ल्याए, मानौँ, उनी फेरि एकपटक, कल्पनामै सही, अन्टार्टिका पुगेका छन्, ‘हिउँमाथिको बाटो ज्यादै खतरनाक तर एडभेन्चरस ।’

तर, हिउँसँगको यो नाता पक्कै लामो समय रहन्न । कवि तीर्थ श्रेष्ठले कवितामा भनेजस्तै हिँउमा लेखिएका नामहरू केही बेरमा घाम लाग्यो भने पनि रहन्नन्, हिउँ थपियो भने पनि रहन्नन् । श्रेष्ठले कवितामा लेखका छन्, ‘हामी रहँदारहँदै नरहने नामहरू‘’ । तर, हिउँको महासागरमा नाम लेखाएर आएकोमा सञ्जय किन गर्वगर्छन् त रु

‘मैले त्यस्तो ठाउँमा पाइला राखेँ, जहाँ जो पायो त्यही पुग्न सक्दैनन्,’ सञ्जय भन्छन्, ‘ड्रिम्स चेज्ड मी ।’

हुन पनि अन्टार्टिका यसो घुमफिर गरेर आऊँ न त भनेर जान सकिने गन्तव्य होइन । झन् पाइला राख्नु त अर्को ठूलो चुनौती हो । ‘धनाढ्यहरू त आकाशबाटै हेर्छन् र फर्किन्छन्,’ सञ्जयले भने, ‘यो यस्तो ठाउँ हो, जहाँ पैसाले मात्र पनि पु¥याउन सक्दैन, ‘साहस र लगाव चाहिन्छ ।’

त्यही साहस र लगावका कारण सञ्जयले अन्टार्टिकामा सात दिन बिताए । त्यसो त यहाँ पुग्ने आरोहीले एक साता बिताउनै पर्ने पनि हुन्छ । ‘विन्सोन मासिफको बेसक्याम्प, लोक्याम्प, हाइक्याम्प र चुचुरोमा पुग्नै कम्तीमा पनि चार दिन त लाग्छ,’ सञ्जय भन्छन्, ‘मौसमले साथ दिनुपर्छ, नत्र स्टे झन् लम्बिन्छ ।’

‘त्यसमाथि यो ठाउँ मौसम पुर्वानुमान गर्दा पनि भर पर्न नसकिने ठाउँ हो,’ सञ्जयले भने, ‘त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म पनि पुग्छ ।’

सञ्जयले यो तापक्रम नै विन्सोन मासिफ आरोहणको एक चुनौती भएको बताउँछन् । ‘सगरमाथा चढ्दा अल्टिच्युडसँग मुकाबिला गर्नुपर्छ,’ उनी हाम्रो सगरमाथा र ‘अन्टार्टिकाको सगरमाथा’को तुलना गर्छन्, ‘त्यहाँचाहिँ टेम्प्रेचर मुख्य च्यालेन्ज हो ।’

अहिले सञ्जयसँग विन्सोन मासिफ आरोहणको सफलताले दिएको खुसियाली मात्र छैन, त्यहाँ भेटेका अरू आरोहीले गरेका कुराले पनि उनको मन खुसीको बगैँचामा डुलिरहेको छ ।

‘त्यहाँ अमेरिकी, युरोपेली, रुसी आरोहीहरू भेटेको थिएँ,’ सञ्जय भन्छन्, ‘मैले नेपालबाट आएको हुँ भन्दा उनीहरू सबैले निकै सम्मान गर्थे ।’

यो सम्मानमा ‘सगरमाथा फ्याक्टर’ भएको सञ्जय स्वयम् बताउँछन् । ‘उनीहरूले मेरो कुरा निकै चाखपूर्वक सुने र सगरमाथाबारे आइडिया पनि लिन खोजे,’ सञ्जय प्रस्ट्याउँछन्, ‘पर्वतारोहणमा उनीहरूलाई लाग्छ, नेपाली दक्ष छन् ।’

नेपालबाट निस्किएको ठीक २४ दिनपछि सञ्जय हिउँको त्यो सागरको खुसियाली लिएर नेपाल फर्किए ।

र, यो हिउँ नै हिउँको अनकन्टार महासागरबाट फर्किएपछि सञ्जयले प्रण गरेका छन्, ‘अब म हिउँसँग खेल्दिनँ । तर, मेरो जीवनबाट हिउँ पूर्ण रूपमा अलग गर्नचाहिँ मिल्दैन ।’

सायद, सञ्जयलाई अब थाहा भएको छ, हिउँको सौन्दर्यको सीमा । सायद, नसुने पनि उनले बुझेका छन्, तीर्थ श्रेष्ठको कविता–

हिउँमा लेखेर आएका छौँ

हामीले आ–आफ्ना नामहरू

एकै छिनपछि घाम लाग्यो भने

रहने छैनन् हाम्रा नामहरू

एकैछिनपछि हिउँ थपियो भने

पनि रहने छैनन् हाम्रा नामहरू

नयापत्रिका दैनिक

आजा भोलि सम्मानमा व्यस्त छन् पण्डित, हेर्नुहोस फोटो फिचर

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...

यस्तो रह्यो ज्ञान चक्षु स्कुलको १२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

काठमाडौँ – बाँसवारी स्थित भेटघाट चोकमा रहेको ज्ञान चक्षु English High स्कुलको १२ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यता पूर्वक सम्पन्न भएको छ । शनिवार विद्यालयमा समन्न कार्यक्रममा विद्याथीहरुले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई...