एनसेलले किन्यो स्वास्थ्य मन्त्रालय !

बिहिबार, १ फाल्गुन २०७६

काठमाडौं – विवादित दुरसंचार प्रदायक कम्पनी एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत प्रभावमा पारेर चलखेल गर्न थालेको छ । हरेक बर्ष नेपाल सरकारले बालबालिकाका लागि दिदै आएको दादुरा – रुवेलाको खोप अभियानलाई प्रचार गर्नका लागि एनसेलले मन्त्रालयलाई प्रभावमा पारेको हो ।

युनिसेफ र साझेदार संस्थाहरुको सहकार्यका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक बर्ष दिदै आएको दादुर रुवेला विरुद्धको खोप अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबलिकाका लागि लगाउने खोप अभियानको प्रचारका लागि मन्त्रालयका कर्मचारीहरुलाई प्रभावमा पारेर एनसेलले विभिन्न पत्रिकामा विज्ञापन गरेको छ ।

नेपाल सरकारलाई कर नतिरेर विवादित बनेको दुरसंचार प्रदायक कम्पनीले सरकारकै विज्ञापन छाप्नु अर्थपूर्ण रुपमा हेरिएको छ । कर तिर्नका लागि अदालतसमेतले बारम्बार आदेश तथा फैसला गर्दापनि एनसेलले कर तिर्न आनाकानी गरिरहेका वेला मन्त्रालयका कर्मचारीहरु एनसेलको प्रभावमा परेर एनसेलको टाङमुनी छिरेका छन ।

बार्षिक कार्यक्रम अनुसार युनिसेफ र नेपाल सरकारको लगानी रहेको ‘राष्ट्रिय दादुर–रुवेला खोप अभियान फगुन–चैत्र २०७६/७७’ नाम दिएको यो अभियानका लागि अर्थ मन्त्रालयले आर्थिक बर्षको सुरुमै बजेट विनियोजना गरि कार्यक्रम स्विकृत गरिसकेको थियो । बीचमा एनसेललाई भित्राएर पत्रिकाहरुमा विज्ञापन गरेपछि मन्त्रालयका कर्मचारीहरुले ठुलो रकम हिनामिना गरेको हुन् सक्ने आँकलन गरिएको छ ।

विज्ञापनमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनहितका लागि जारी गरिएको सन्देश भनिएको भएता पनि यसमा एनसेलको संग्लग्नताले शंकास्पद रुपमा हेरिएको छ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरेको जनाएको छ । सामाजिक उत्तरदायित्वमा काम गर्ने अन्य क्षेत्र हुँदा हुँदै मन्त्रालय र विदेशी साझादार संख्याहरुको कार्यक्रममा छिरेर किन एनसेलले पत्रिकामा हुने विज्ञापनमा खर्च गर्यो ? यो खोजीको विषय बनेको छ ।

आफ्नो ब्राण्ड प्रमोसन पनि हुने र सामाजिक काम गरेजस्तो पनि देखिने भएकाले एनसेलले मन्त्रालयका कर्मचारीलाई मोटो रकम दिएर पत्रिकामा विज्ञापन छापेको एनसेल बहिस्कार अभियानका अभियन्ताले बताएका छन् । एनसेलको प्रचारको लागि गरिएको यो अभियानको विज्ञापन पनि अधुरो रहेको छ । विज्ञापनमा कुन दिन वा बारमा खोप लगाइने हो खुलाइएको छैन् । महिनाभरी नै खोप लगाउने भए त्यसको पनि खुलासा भएको छैन ।

एनसेल आफै आयो : सचिव बराल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले एनसेल आफै बालबालिकाको रक्षाका लागि सामाजिक उत्तारदायित्व अन्तरगत काम गर्छु भन्दै आएको बताएका छन् । कम्पनीको सामाजिक उत्तारदायित्वको बजेट अन्तरगत एनसेलसँग बार्षिक सम्झौता भएको बरालको भनाई छ ।

मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै सचिव बरालले भने, ‘उहाँहरु बालबालिकाको क्षेत्रमा काम गछौं भनेर आउनु भयो । हामीले पहिला त एनसेल विवादित संस्था भएकाले सहकार्य गर्न आनाकानी गरेका थियौं ।’ उनले अगाडी भने, ‘यस विषयमा संचार मन्त्रालयसँग पनि कुराकानी गरेपनि मंन्त्रालयका सचिव ज्यूले एनसेलको विवाद अर्थमन्त्रालयसंग सम्बन्धीत हो र सहकार्य गर्दा खासै फरक पर्दैन भनेपछि हामीले सम्झौता गरेका हौं ।’

विवादित कम्पनीसँग किन सहकार्य गर्नु भयो ? देशमा अरु कम्पनी छैनन् र ? भन्ने मोटिभेटको प्रश्नमा सचिव बरलले भने, ‘अरु कम्पनीहरु राम्रो काम गछौं भनेर आउनु पर्यो नी ? उनीहरु सामाजिक उत्तारदायित्वको रकम तारे होटलमा रक्सी पिएर खर्च गर्नुहुन्छ । राम्रो काममा लागि त को आउँछन।!

सार्वजनिक सूचना प्रकाशन वा प्रस्ताव केही पनि नगेरको र एनसेल आफै बालबालिकाको क्षेत्रमा सहयोग गर्छु भन्दै आएकाले सम्झौता गरेको मन्त्रालयले जनाएको छ । खोप अभियान आजैबाट सुरु हुँदैछ । पहिलो चरणमा प्रदेश १,२ र ५ नम्बर प्रदेशमा आजबाट एक महिनासम्म अभियान चल्ने छ भने दोश्रो चणमा बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा चैत्र महिनामा खोप अभियान चल्ने छ ।