Motivate News

भैरव अर्यालको निबन्ध ‘जय भुँडी’

काठमाडौं – व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- बीसौं शताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

प्रतिकृया दिनुहोस्

अशान्तिहरु धर्तीमा ओर्लदैछन् !! कविता

अशान्तिहरु धर्तीबाट ओर्लदैछन् शान्तिले यो संसार छोडी रहेछ बम र गोलीको आवाज  सुन्यौ होला अब यो धर्ति फाट्दैछ लुप्त हुदैछ हाम्रा भबिष्यहरु वर्तमान  डर र त्रासमा झेली रहेछ अब त जाग मान्छेहरु अज्ञात बाटोमा हिड्न छोडी देऊ जहाँ  अन्धकार बाहेक केहि छैन स्वार्थी...

भाइको सम्झना अम्बिका गुरुङले यस्तो लेखिन मन छुने कविता

फूलसंग सोध्छु हरेक दिन यसपालली  त तिमी आउछ कि ? फूल मुस्कुराउँदै भन्छ मलाइ सात समुद्रपारीको बाटो भन्न गाह्रो छ मखमली फुल्दछ हरेक साल मेरो करेसो बारीमा सयपत्री झुल्दछ करेसो बारीमा सयपत्रीको थुंगा थुंगामा खोज्छु तिमीलाई तर मखमली फुलको पत्रपत्रमा हराउछ मेरो...

अम्बिकाको कविता ‘इश्वर तिम्रो लिला अपरम्पार छ’

इश्वर तिम्रो लिला अपरम्पार छ कसरी रच्यौ यो धर्तीमा प्रकृतिको अप्रितम सुन्दरता कसरी  सोच्यौ यो रंगीबिरंगी फुलहरु कसरि आविष्कार गर्यौ  त्यो आकाशमा चन्द्र, सुर्य अनि ताराहरु इश्वर तिम्रो महिमा गजबको छ चराहरुलाई कसरि बुद्दी दियौ त्यो रुखमा गुड बनाउनुपर्छ भनेर कमिलालाई ज्ञान...

अम्बिका गुरुङको कविता ‘शंका’

 मन्दिरका घण्टा हरु बजीरहेछन टाढा टाढा अशंख्य आवाजहरु निकालेर आकाश गर्जी रहेछ मुशुलधारे पानीको साथ् साथै विधुती प्रहार गरेर रुखहरु हल्ली रहेका छन दश रेक्टरको भुइचालो  आए जत्तिकै मेरा मनहरु बिचलित भैरहेका छन् यी अनावश्यक प्रलापहरुले म हिड्न खोज्छु सडकहरु नदि बनि...