मोटिभेट समाचार प्रभाव : स्वास्थ्य मन्त्रालयका सचिव बराललाई कारवाही


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
10.2K
SHARES

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई कारवाही गरेको छ । मन्त्रालयका सचिव खगराज बराललाई सरकारले कारवाही गरेर स्वस्थ्य तथा जनसंख्या मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यलयमा पठाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनी लगाएत ६ जना सचिवको सरुवा भएको छ भने दुई जना सचिवको बढुवा भएको छ ।

यस अघि मोटिभेट न्यूज डटकमले ‘एनसेलले किन्यो स्वास्थ्य मन्त्रालय’ शिर्षकमा समाचार लेखेपछि सिंहदरवार भित्र खैलावैला सच्चिएको थियो । नेपाल सरकारको बजेट हुँदा हुँदा मन्त्रालयले दुरसंचार प्रदायक कम्पनी एनसेलसँग दादुरा, रुवेला विरुद्धको खोप अभियानको विज्ञापन पत्रपत्रिकामा छपाउन आर्थिक सहयोग लिएको थियो । उक्त सहयोग अनैतिक भएको भन्दै मोटिभेट न्यूज डटकमले समाचार लेखेपछि सचिव बराललाई कारवाही गरिएको हुनसक्ने आँकलन गरिएको छ ।

सरकारले कुनै सचिव वा कर्मचारीलाई कारवाही गर्न परे उपराष्ट्रपतिको कार्यलयमा पठाउने चलन छ । यस अघि पूर्वअर्थ सचिव संकर अधिकारीलाई ओली सरकार बने लगत्तै उपराष्ट्रपतिको कार्यलयमा पठाइएको थियो । अधिकारीले उपराष्ट्रपतिको कार्यलयबाट अवकास पाएका थिए । उपराष्ट्रपतिको कार्यलयमा अन्य मन्त्रालय वा कार्यलय भन्दा थोरै बजेट हुने र काम पनि नहुने भएकाले मन नपर्ने व्यक्तिलाई सरकारले त्यहाँ पठाउँछ ।

त्यस्तै, अन्य ५ जना सचिवको पनि सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव एवं कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अर्का वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गर्दै अर्थ मन्त्रलायको राजस्व सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

एनसेलले किन्यो स्वास्थ्य मन्त्रालय !