ग्राउण्ड जिरो : रास्कोट नगरपालिकाका मेयरको लुट्ने नयाँ तरिका, यसरी हुँदैछ अख्तियारको दुरुपयोग
कालिकोट – रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बराल पछिल्लो समय विवादमा तानिन थालेका छन । विभिन्न सामाजिक संस्थाको सहकार्यमा नगरपालिकाको बजेट दुरुपयोग गर्दै आफन्तलाई पोस्न थालेपछि उनी विवादित बनेका हुन ।
आगामी निर्वाचनका लागि खर्च जुटाउन सत्तारुढ नेकपाको पनि यसमा मिलेमत्तो देखिन्छ । नगरपालिकाले जनताको पक्षमा काम गरेको भन्दै विगतमा प्रशंसा भएको भएपनि कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको वेलामा उनी विवादित बनेका हुन ।
नगरपालिका भित्र सबै वडामा सडक र वक्ती पुर्याएको, सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानीको व्यवस्या गरेको, श्रम बैंकको स्थापना गरेर वेरोजगार युवालाई रोजगारी दिएको लगायतका कुराहरुले प्रशंसा पाएका मेयर बराल अहिले आफ्नै कर्मका कारण विवादित बनेका छन ।
झण्डै तीन बर्ष जनताको सेवामा समर्पित भएका बराल एकाएक कमाउ धन्दामा लागेपछि सबैले आश्चर्य प्रकट गरेका छन । उनीसँगै नेकपाका नगर अध्यक्षको देखिएपछि शंकाको पारोमिटर झन बढाएको छ ।
पहिलो घटना
रास्कोट नगरपालिकाका मेयर कााशीचन्द्र बरालले कार्यपालिका सदस्य मन तिरुवालाई नगरपालिकाको डाड्यु पन्यू सुम्पिएपछि विवादको सुरुवात भएको हो । हुन त वडा नम्बर ५ को वडा सदस्यमा चुनाव हारेका तिरुवालाई कार्यपालिकाको सदस्य नियुक्ति गर्दा देखिनै विरोध नभएको भने होइन । तर त्यो कुरा सतहमा आएन । उनको नियुक्तिको रहस्य बल्ल खुल्दैछ ।
कार्यकालिका सदस्य मन तिरुवा शिक्षाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था युनिसेफका रास्कोट नगरपालिका प्रमुख हुन । उनले रास्कोट नगरपालिका भित्रका विद्यालयहरुको भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग गर्ने गरेका छन । एक विश्वस्त श्रोतका अनुसार हरेक स्कुललाई पाँच लाख सम्मका योजना दिएर आर्थिक अनिममितता गर्ने गरेको बुझिएको छ ।
टेण्डर खोल्न नपर्ने भएकोले ५ लाखका दरले बजेट दिने गरिएको हो । तीरुवाले बजेट विद्यालयलाई दिने र काम आफै गर्ने गरेका छन् । उनी रास्कोटका नाम चलेका व्यापारी हुन । उनका दुई ओटा उद्योग छन । युनिसेफको बजेट पार्दा उनले आफ्नो उद्योगलाई फाइदा हेरेर पूर्वसर्त अनुसार बजेट दिने गरेको एक सरकारी कर्मचारीले बताए ।
उनले काष्ठ उद्योग र ग्रिल उद्योगमार्फत मजदुरसमेत आफै पठाएर युनिसेफको पैसा आफै कुम्ल्याउने गरेका छन । यसमा केही प्रतिशत मेयरलाई पनि जाने गरेको नगरपालिकाका एक नेताले बताए ।
दोश्रो घटना
रास्कोट नगरपालिका भित्रका जनतालाई राहत वितरणका गरेको विषयले अहिले चर्चा पाइरहेको छ । राहत वितरणमा अनियमितता भएको भन्दै एक वडा अध्यक्षमाथि हातपातसमेत भएको थियो । यसबीच दाल, चामल, नुन र तेल खरिदमा अनियमितता भएको छ । उनीहरुले आफैले खरिद गरेर आफू नजिकका व्यक्तिलाई राहत दिएका कारण धेरैले विरोध गरिरहेकै छन ।
मेयरले अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई गाउँमा छिर्न दिएर अर्को उपद्रो मचाएका छन । प्लान इन्टरनेशनल नेपाल नामक गैरसरकारी संस्थालाई गाउँमै गएर पैसा वितरण गर्न लगाएका थिए । नेपालको कानुनले कुनैपनि गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्र भन्दा बारिहर गएर काम गर्न पाउँदैन तर प्लान नेपालले भने कोरोना रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन पिडितहरुलाई राहत वितरण गरेको थियो । यो उसको कार्यक्षेत्र भन्दा बाहिरको विषय हो । यदी उसले निस्वार्थ सहयोग गर्न चाहेको भए नगरपालिकाको विपत कोष रकम जम्मा गर्न सक्थ्यो ।
उसले मेयरलाई धम्की र प्रलोभन दुबै दिएर काम गरेको मेयरइतरका व्यक्तिहरुको आरोप छ । श्रोतका अनुसार मेयरलाई प्लान नेपालले फिल्डमै गएर आफैले राहत वितरण गर्न नपाए राहत फिर्ता लिने धक्की दिएको थियो । नगरपालिकाले एकद्धारा प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको केही घण्टामा आफ्नो निणर्यमा टिक्न नसकेर अन्तराष्ट्रिय गैरसरकारी संस्थासँग आत्मासमर्पण गरेको थिए ।
तेश्रो घटना
रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बराल हिमचुली कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन । उनी आफै संस्थापक रहेको संस्थालाई नगरपालिकाको बजेटमा ब्यापार गर्न दिएपछि उनको आलोचानाको पारोले शिखर चुमेको छ । पहिलो कुरा त रास्कोट नगरपालिकाका करिव ३ हजार २ सय घरधुरीमा २५ सय बढि घरधुरी गरिवीको रेखामुनी छन ।
उनीहरुको बर्षभरीको कमाईले ३ महिना धान्न मुस्किल छ । त्यहि गरिवीलाई भर्याङ बनाएर मेयर बनेका बराल अहिले उनीहरुमाथि नै व्यापार गर्न थालेका छन । नगरपालिकाको आर्थिक सहयोगमा हिमचुली कृर्षि सहकारी संख्थाले सहुतियत पसल सुरु गरेर शोषणमा उत्रिएको छन ।
आर्थिक हैसियत कमजोर भएकाहरुलाई गाउँ गाउँमा गएर राहत दिनको सट्टा सुपथ मुल्यको पसल खोलेर नाटक मन्चन गरिएको छ । सरकारले हिडडुल गर्न प्रतिबन्ध लगाएको अवस्थामा सुपथ मुल्य पसलको केहि अर्थ छैन । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरपालिकाले आरसिपी बजारमा सुपथ पसल सञ्चालन गरेको छ ।
सरकारले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका लागि सहज आपूर्तिको व्यवस्था गरिरहेको छ । रास्कोटमा खाध्यबस्तुको अभाव नभएको व्यापारीले बताएका छन । गजवको कुरा त के छ भने सुपथ मुल्य पसलको संयोजक पनि मन तिरुवालाई नै बनाइएको छ ।
सुपथ पसलले सर्वसाधारण जनतालाई भन्दा हुने खाने र साहु महाजनका लागि खोलिएको हो । यसमा रास्कोट नगरपालिको लगानी रहेको छ भने हिमचुली कृषि सहकारी संस्थाले व्यवस्थापन गर्ने छ ।
सार्वजनिक खरिद ऐन अनुसार कुनैपनि फर्म वा संस्थालाई सिधै काम दिन पाइदैन । सकेसम्म डेण्डर आह्वान गर्नपर्छ नसके कुनै तीन ओटा फर्म वा कम्पनीलाई प्रतिशपर्धा गराएर सस्तो मुल्यमा आएको प्रस्तावलाई पारित गरेर कममा लगाउने व्यवस्था छ । तर नगरपालिकाले खरिद ऐनको दुरुपयोग गर्दै हिमचुली सहकारी संस्थालाई ठेक्का दिएर अख्तियारको दुरपयोग गरेको छ ।
मन तिरुवामै के छ ?
मन तिरुवा एक नाम चलेका व्यापारी हुन । व्यापारी मात्र होइन बर्षमा करोडौंको आर्थिक सहायता युनिसेफमार्फत नगरपालिकामा ल्याउन सहयोग गरेका छन । त्यही भएर मेयरले मन तिरुवालाई हरेक काममा अगाडी बढाउने गरेका छन । किन मेयरले सधैं उनलाई नै काम दिइरहेका छन ? के रास्कोट नगरपालिकामा मन तिरुवा जतिको योग्य मानिस छैनन् ? नगरपालिकामा यस्ता खालका प्रश्नहरु प्रशस्तै भेटिन्छ । आखिर किन मन तिरुवाको पछि मरिहत्य गरेर लागेत मेयर ? यसको खोजिनित पक्कै हुने छ ।
चर्को मुल्य सूची
नगरपालिकाले सुरु गरेको सुपथ मुल्य पसलमा राखिएको समानको मुल्य पनि चर्को राखिएको छ । वजारमा पाउने मोटा चामलको ३० किलोको मुल्य १२५० निधारण दिएको छ सुपथ मुल्य पसलमा १४७५ मुल्य राखिएको छ । यस्तै नेपाल खाद्य संस्थानले वेच्दै आएको मसिनो चामलको मुख्य १५८० छ ।
सरकारले १० प्रतिसत छुटमा दिन भनेपछि खाद्य संस्थानले १४२० मा मसिनो चामल वेचिरहेको छ । तर नगरपालिकाले भने १८५० मुल्य निधारण गरेर नागरिकहरुको ढाँड सेकिरहेको छ । सरकारले नागरिकलाई सस्तो दिनु पर्नेमा उल्टै वजार मुल्यको थप ३०० वढि मुल्य लिएर सुपथ मुल्यको नाम दिएको छ ।
