९ जना भीआइपी व्यापारी रङ्गेहात पक्राउ

मंगलबार, २० जेष्ठ २०७७

काठमाडौं – ज्योति लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मासहित ९ जना रङ्गेहात पक्राउ परेका छन । महानगरिय प्रहरी बृत दरबारमार्गबाट खटिएको प्रहरी टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा शर्मासहित ९ जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नन्द्रकिशोर शर्मासहित अशोक अग्रवाल, रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, विमल खेतान, विमल अबुजा र निक्की जोगाई छन ।

लकडाउनको मौका छोपी कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । निक्की होटल सन्चालक हुन् भने रामचन्द्र सांघाइ, सांघाइ ग्रुपका एमडी हुन ।

त्यस्तै, विशाल ग्रुपका एमडी अशोक अग्रवाल भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका मालिक हुने । विशाल ग्रुपले भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई नेपालमा भित्र्याएको हो ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।