Motivate News

विरगञ्जका मेयरको विपक्षीलाई धम्की, काम गर्न नदिए कानूनी डण्डा चलाउँछु

वीरगञ्ज – विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्विकारेका छन । व्यापारिक पृष्ठभूमिका मेयर सरावगी महानगरपालिकाको मेयरमा लड्दा सार्वजनिक गरेका योजनाहरु कार्यन्वयन गर्न नसक्दा उनी आलोचित छन ।

चुनाव ताका ‘मेरो कसम’ नाममा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै महानगरलाई व्यवस्थित गर्नेदेखि विकासका ठूला आश्वासन सहितका फेहरिस्त समेटेका थिए । तर, मेयर भएको एक वर्ष बितिसक्दा सरावगीले आफ्नो उपस्थितिको महसुस गराउन सकेका छैनन् । वीरगञ्जका प्रायः सबै क्षेत्रमा महानगरपालिकाको कामप्रति असन्तुष्टिका आवाज सुनिन्छ ।

स्थानीय उद्योगी-व्यवसायी पनि मेयरसँग खुशी छैनन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा मेयर सरावगीले एक वर्षे कार्यकालमा देखिने गरी काम गर्न नसकेको बताउँछन् । महानगरले जथाभावि कर बढाएको भन्दै शर्माकै नेतृत्वमा आन्दोलनसमेत चल्यो । अन्नतः महानगरले कर बढाउने निर्णय फिर्ता गर्‍यो । कवाडी कर र सम्पत्ति करमा महानगरले जनताको ढाड सेक्ने काम गरेकाले फिर्ता गराउनुपरेको अध्यक्ष शर्माको भनाइ छ ।

आखिर किन महानगरपालिकाले जनचाहाना अनुसार काम गर्न सकेन त ? उनी भनछन, ‘सोचेअनुकुल वातावरण नबन्दा काम गर्न अप्ठेरो भयो ।’

जनअपेक्षाअनुसार काम गर्न नसकेको उनी स्वयमलाई महसुस भएको छ । तर, त्यसको दोष उनले विपक्षीमाथि खन्याए ।

एउटा उदाहरण प्रस्तुत गर्दै सरावगीले भने, ‘बनिसकेको पुल सञ्चालनमा ल्याउन ऐलानी जग्गासमेत खाली गर्न दिइएन । संसद विकास कोषको खर्चमा बनेको पुलमा पनि राजनीति भयो,’ उनले भने, ‘पुल प्रयोग गर्न नपाएर स्थानीय जनता ३(४ किलोमिटर घुमेर यात्रा गर्न वाध्य छन् । यो राजनीतिक संस्कार रहेसम्म अप्ठ्यारो हुन्छ ।’

विकासमा साझा मुद्दामा राजनीतिक दलहरु मिलेर अघि बढ्न नसक्दा समस्या भएको उनको गुनासो छ । ‘अहिलेसम्म प्रेमपूर्वक भनिरहेका छौं, यदि त्यसले पनि भएन भने कानुनी डण्डा चल्छ,’ उनले भने, ‘खानेपानीका आयोजनामा पनि राजनीति गरिएको छ । यस्तो हुनु हुँदैन ।’

महानगरमा एक वर्षमा धेरै काम हुन नसक्नुमा जनशक्तिको अभाव अर्को समस्या भएको उनको तर्क छ ।

ब्यापारिक पृष्ठभूमिका मेयर सरावगीमा राजनीतिक नेतृत्व क्षमता नभएको आरोप विपक्षीहरु लगाउँछन् । मेयर सरावगी भने त्यसलाई स्वीकार्दैनन् । ‘व्यापारिक मान्छे भए पनि राजनीतिज्ञभन्दा कम जनतासँग जोडिएको मान्छे म होइन,’ उनी भन्छन्, ‘यो ८ महिनासम्म विपक्षी दलका साथीहरु चुनावकै ‘ह्याङ ओभर’मा हुनुहुन्छ । त्यसलाई नछोड्दासम्म अवस्था सहज बन्दैन ।’

प्रतिकृया दिनुहोस्