Motivate News

यसपाली दशैंमा तास खेल्न छुट जुवा खेले कारबाही

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए। “काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिसांलगायत घटनालाई घट्न नदिन तीन हजारभन्दा बढी प्रहरीलाई परिचालन गर्न लागेका छौँ”, उनले भने।

योजनाअनुसार पैदलगस्तीदेखि काठमाडौं प्रवेश गर्ने सबै नाकामा विशेषज्ञ कुकुरसहित जाँच गरिने छ। ६० वटा पैदल गस्ती,३६ वटा साइकल गस्ती,३० वटा मोटरसाइकल गस्ती र २४ वटा मोटर गस्ती परिचालन हुने एसएसपी लामाले बताए।

‘दशैंमा काठमाडौंका धेरै घर खाली हुने हुँदा ती घरको समेत सुरक्षा हुनेगरि सुरक्षा योजना बनाएका छौं। शहरी क्षेत्रमा घटना भएको पाँच मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्नुपर्ने ब्यवस्था छ। यो समयभन्दा निकै अगाडि कभर गर्ने हाम्रो योजना छ’, लामा भन्छन्। उनले रमाइलोका लागि तास खेल्न पाइएपनि संगठितरुपमा वा जुवा जसरी खेलेको पाइए कारबाही हुने बताएका छन्।

‘जुवाका घटनामा प्रहरीबाट अलि बढी सक्रियता भएको टिप्पणी सुन्ने गरेको छु। रमाइलोका लागि तास खेल्नु सामान्य हुन सक्छ। तर तपाईहरु(पत्रकार)ले नै तास खेलिरहेको भनेर सूचना दिनु हुन्छ। यस्तोमा कारबाही नगरे हाम्रै आलोचना हुन्छ’, एसएसपी लामा भन्छन्, ‘जुवामा भने हामी कडारुपमा प्रस्तुत हुन्छौं।’

प्रतिकृया दिनुहोस्