Motivate News

शैक्षिक कन्सल्टेन्सीमा धरौटी तरङ्ग ! के हो वास्तविकता ?

काठमाडौँ – शैक्षिक परामर्श ब्यवसायीहरुमा अहिलेको हटकेक विषय बनेको धरौटी । चिया गफदेखि भेटघाटहरुमा सबैको चासो र वहसको विषय बनिरहेको छ कन्सल्टेन्सीका लागि सरकारले धरौटी ल्याउँदैछ भन्ने विषय ।

कन्सल्टेन्सी व्यवसायलाई नियमन गर्नका लागि सरकारले धरौटीको व्यवस्था गर्दैछ भन्ने हल्लाले कन्सल्टेन्सी बजार यतिखेर निकै तातेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बोर्ड बैठकमा नै सरकारले धरौटीको ब्यवस्था गर्न लागेको भनेर विषय प्रबेश गर्यो र इक्यानले धरौटी लगायतका विषयमा सरकार संग डिल गर्नका लागि उपाध्यक्ष देविदास भट्टराईको नेतृत्वमा टिमनै बनायो । इक्यानमा नै आधिकारीक रुपमा कुरा उठे पछि सो विषय एक कान दुई काम मैदान हुँदै व्यापक भएको छ ।

धरौटीको तरङ्गले खासगरी साना र मझौला व्यवसायीहरु निकै आतङकित बनेका छन ।

धरौटीको चर्चा चलेपछि हामीले सबैभन्दा पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सम्पर्क गरि यस विषयमा जिज्ञासा राख्यौँ । हामीसंगको कुराकानीमा मन्त्री पोखरेलले यस विषयमा अहिले कुनै छलफलले प्रबेश नपाएको यद्यपी मापदण्ड बन्ने काम भने सम्बन्धित विभाग मार्फत चलिरहेको र धरौटीको विषय के गर्ने भन्ने कुनै टुङगो नलागेको बताए । मन्त्री पोखरेलले शैक्षिक परामर्शका नाममा हुने ठगिका विषयमा भने सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।

सोही विषयमा हामीले शिक्षा मन्त्रालयका प्रबता बैकुण्ठ अर्यालसंग कुराकानी गर्यौ । हामीसंगको कुराकानीमा अर्यालले अहिलेनै धरौटीको चर्चा चलाइनुमा कुनै सत्यता नभएको बताए । निर्देशिका र मापदण्ड निमार्णकै क्रममा रहेको र यसको टुङगो नलागुन्जेल यसै भन्न नसकिने बताए । प्रबता अर्यालले शैक्षिक परामर्शको कुरो प्रदेश सरकार मातहत रहेकाले हामीले गरेको सिफारिसका आधारमा प्रदेश संसदले बनाउने कानुन पछि मात्रै सबै कुरा टुङगो लाग्ने भन्दै अहिले धरौटीको कुरा कतै नभएको भन्दै प्रस्ट पारे ।

सरकारी आधिकारीक ठाउँबाट धरौटीको विषय अहिले नउठेको जानकारी पाएपछि हामीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरी पाण्डेलाई पटक पटक टेलिफोन गरी यसबारेमा बुझ्न खोज्दा पाण्डेको फोन उठेन । त्यपछि हामीले इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङसंग जिज्ञासा राख्यौँ । हामीसंगको कुराकानीमा गुरुङले चिया गफका भरमा कसैको स्वार्थका लागि धरौटीको हल्ला पिटाएर ब्यवसायीलाई आतंकित गराउन खोजिएको आशंका ब्यक्त गरे ।

इक्यानका कतिपय पदाधिकारीहरु नै सामाजिक संजालमा जोड तोडका साथ धरौटीको विषयलाई बहसमा ल्याइरहेका छन । कतिपय कन्सल्टेन्सी व्यवसायीहरुले भने इक्यानबाटनै धरौटी हल्ला पिटाएर व्यवसायीलाई आतंकित गराउने प्रयास त भईरहेको छैन ? भन्ने शंका ब्यक्त गरेका छन ।

हुँदै नभएको विषयलाई चर्चामा ल्याएर व्यवसायीलाई आतंकित गराउनको पछाडी कसको के स्वार्थ लुकेको ति रहस्यका पर्दाहरु भने विस्तारै खुल्दै जानेछन । हामी यस विषयमा निरन्तर फलोअपमा रहनेछौँ ।

प्रतिकृया दिनुहोस्