Motivate News

अन्ततः फुट्यो इक्यान, ठूलो हिस्सा सहित नेका बन्ने निश्चित

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अन्ततः विभाजित भएको छ । इक्यानबाट असन्तुष्ट व्यवसायीहरु मिलेर नयाँ संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) बन्ने पक्का भएसंगै इक्यान औपचारीक रुपमै विभाजित भएको हो ।

कन्सल्टेन्सी क्षेत्रमा कम रुचाईएका विष्णुहरी पाण्डेको नेतृत्वमा इक्यानमा नयाँ कार्यसमिति बनेसंगै असन्तुष्ट पक्षले अव कसरी जाने भन्ने विषयमा गोप्य योजना बनाई रहेको थियो । इक्यानलाई पार्टीगत संगठन बनाउन खोजिएको, समस्याहरु समाधान हुनका सट्टा झनै बढ्दै गएको, धरौटी लगायतका कपोकल्पीत मुद्धाहरु ल्याएर ब्यवसायीलाई क्रसित बनाउन खोजेको , व्यवसायमा एकाधिकारसँगै गैरव्यवसायिक क्रियाकलाप गरेको लगायतका आरोप लागउँदै इक्यान फुटाउन लागेको एक जना व्यवसायीले नाम नखुलाउँने सर्तमा मोटिभेट न्यूजलाई बताए ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) नामको संस्था दर्ताको काम सकिएको र शनिबार सार्वजनिक गरिने नेट्कोटेकका संचालक सरोज बस्नेतले बताए । शैक्षिक परामर्श क्षेत्रमा व्यवसायको हक हितका लागि व्यवसायिक एजेण्डालाई लिएर अस्तित्वमा रहेका सबै संघहरुसँग सहकार्य गर्दै यस क्षेत्रको समग्र विकासका लागि नेकाले काम गर्ने उनको भनाई छ ।

नेकाको नयाँ कार्यसमितिमा को–को हुने भन्ने अहिले छलफल भइरहेको र छिट्टै नै सार्वजनिक गर्ने तयारी भइरहेको बस्नेतको भनाई छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म २ हजारभन्दा बढी संस्था सञ्चालना छन् । जसमध्ये इक्यानमा ४ सयको हाराहारीमा सदस्य छन् ।

इक्यान फूटेका विषयमा इक्यानका उपाध्यक्ष राजेन्द्र रिजालसंग जिज्ञासा राख्दा उनले आफूले नयाँ संस्था बन्ने विषयमा भर्खर जानकारी पाएको तर अन्य विषयमा आफू अनविज्ञ रहेको बताए । इक्यान फुट्नु स्वभाविक भएको भन्दै सबै जनालाई मिलाएर लान नसक्नु नेतृत्वको कमजोरी रहेको रिजालको भनाई छ । उता अर्का उपाध्यक्ष देविदास भट्टराईले इक्यान फुट्नु राम्रो नभएको बताए । घरमा झगडा हुनु स्वभाविक भएको भन्दै त्यसलाई मिलाएर जानपर्ने उनको भनाई छ । भोलीसम्म असन्तुष्ट पक्षसंग कुरा गरेर समस्याको समाधान गरिछाड्ने बताउँदै भट्टरार्ईले यदी समस्याको समाधान नभए आफूपनि इक्यानको उपाध्यक्षबाट राजीनामा दिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्