Motivate News

सिन्धुको शैक्षिक विकासमा मेरो योगदान सबैलाई थाहा छ : पूर्वमन्त्री बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको समग्र विकासको लागि आफू र सदैव लागिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

भद्रकाली मावि नेविसंघ इकाइ कमिटीले आयोजना गरेको नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लाको शिक्षा क्षेत्रमा आफूले विगत ३५ वर्षदेखि निरन्तर गरेको कामको बारेमा यस भेगका सबैलाई जानकारी रहेको उल्लेख गर्दै भूकम्पले क्षति भएको भद्रकाली माविले जग्गा ब्यवस्थापन गरेको खण्डमा आफूले एडिबीमार्फत नयाँ स्कुल भवन निर्माण गर्ने प्रतिज्ञा गरे ।

बाह्रबिसे नगरपालिका ८ मा रहेको भद्रकाली मावि स्कुल सञ्चालन गर्न आर्थिक अभाव भएकोबारे आफ्नो ध्यानाकृष्ट भएको बताउँदै बस्नेतले बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिलाई सहयोग गर्न आह्वान गरेका थिए । आफ्नो पार्टीको सरकार भएको बेलामा यस क्षेत्रमा स्वास्थ्य र सडकमा आफूले ठुलो रकम विनियोजन गरेको बताए । यहाँको स्वास्थ्य चौकीको लागि ३ करोड र बाह्रबिसे– मानेस्वाँरा– घुम्थाङ– भैरवकुण्ड सडक स्तरोन्नतिको लागि २८ करोड बजेट पारेको उल्लेख गरे । कम्युनिष्टहरु कामभन्दा बढी कुरा मात्र गर्ने स्वभावका भएका बताउँदै नेपाली कांग्रेस केही समय कमजोरजस्तो देखिएपनि फेरि सुदृढ भएर देश विकासमा लाग्ने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेसका जिल्ला नेता हरिशरण श्रेष्ठले बाह्रबिसे नगरपालिकाका मेयर, उपमेयर र भद्रकाली स्कुल रहेको ८ नम्बर वडामा कम्युनिष्टले जितेको भए पनि शिक्षा, स्वास्थ्यको क्षेत्रमा केही काम गर्न नसकेको आरोप लगाए ।

स्थानीय कांग्रेस नेता युधीर पौडेलले बाह्रबिसे ८ को विकासको काम गर्न नेपाली कांग्रेस अगाडि रहेको उल्लेख गर्दै निर्वाचनमा पराजय हुँदासमेत आफूहरु निरन्तर खटिरहेको बताए । आफूले अध्ययन गरेको भद्रकाली स्कुलको विकासमा सहयोग गर्न सँधै लागिरहने प्रण गरे ।

नृत्य प्रतियोगितामा १० टिम सहभागी भएकोमा शारदा मावि प्रथम भएको थियो भने नेपाल राष्ट्रिय मावि दोस्रो हुन सफल भएको थियो । तेस्रोको उपाधि क्षेमादेवी माविले प्राप्त गरेको थियो । प्रथम हुनेले १० हजार द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार नगदसहित प्रमाणपत्र तथा शिल्ड पाएका थिए ।

यसै कार्यक्रममा नेपाली कांग्रेस अरनिको कलेज इकाई सभापति युधिना पौडेलले भद्रकालीमा अध्ययनरत कक्षा १ देखि १० सम्म प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई कापी, कलम लगायतका स्टेसनरी सामान वितरण गरेकी थिइन् ।
कार्यक्रमको सभापतित्व भद्रकाली मावि नेपाली कांग्रेस इकाइका सभापति सन्तोष पराजुलीलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्