Motivate News

खसि किन्दै हुनुहुन्छ ? उसो भए सिङमा लगाइएको रंग हेर्नुहोस्

असोज २३, काठमाडौँ – दशैंमा खसिबोका किन्दै हुनुहुन्छ दसैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएका छन् । त्यस्ताबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापना देखि पशुचिकित्सक परिचालन हुँदैछन् ।

तिनले खसी बजार गएर स्वास्थ्य जाँच गर्नेछन् । ‘हरियो छ भने स्वस्थ र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझ्नु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा चन्द्र ढकालले भने । पशु सेवा विभागका विज्ञहरु काठमाडौं र भक्तपुरमा खट्नेछन् । कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा, नागढुंगा, बालाजु, चोभार, नागढुंगा टुकुचा, भक्तपुर लगायतका स्थानमा पुगी जाँचिने भएको हो ।

बिहान सात बजे देखि दश बजेसम्म र बेलुका तीन बजेदेखि पाँच बजे सम्म अनुगमनमा खटिने छन् । ढुवानी गरी ल्याइएका ३५ हजार भन्दा बढी खसीबोका काठमाडौंमा खरिदबिक्री गरिँदै छ ।पशुचिकित्सक टोलीले बजारमा गएर खसीबोकाको स्वास्थ्य जाँच गर्नेछन् । ‘सिङमा हरियो रङ छ भने स्वस्थ र रातो छ भने अस्वस्थ भनी उपभोक्ताले बुझ्नु पर्‍यो’, पशु सेवा विभागका वरिष्ठ अधिकृत डा.चन्द्र ढकालले भने ।

दसैंमा झण्डै ६० प्रतिशत खसीबोका भारतबाट ल्याइन्छ । टाढाबाट कोचेर ल्याइँदा बाटामै रोगिएका हुन्छन् । बस र ट्रकभित्रै निसासिएर केही मर्छन् । सीमावर्ती क्षेत्रमा क्वारेन्टाइन कार्यालयले सामान्य जाँच गर्छ ।

रोगिएका खसीबोका झोक्राएर थुचुक्क बस्छन् । हिँडडुल गर्न रुचाउँदैनन् । त्यस्तो लक्षण देखाउनेलाई पशु चिकित्सकले रातो चिह्न लगाउने छन् । चलायमान, सक्रियले मात्र हरियो चिह्न पाउने छन् । खुला सीमाका कारण अस्वस्थ खसीबोका भित्रन सक्ने आशंका छ । रोग लागेर वा कालगतिले मरेका पशुको मासु बिक्री गर्न मासु जाँच ऐनले रोक लगाएको छ ।
अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्