Motivate News

पीपीएल : सोमपाल कामीको कप्तानीमा रहेको बुटवलको लगातार दोस्रो जित

कार्तिक ११, पोखरा-  बुटवल ब्लास्टर्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा घरेलु टोली तथा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराएर सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले लगातार दोस्रो जित निकालेको हो ।

यसअघि पहिलो खेलमा बुटवलले चितवन राइनोजलाई हराएको थियो । पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको पोखराको यो पहिलो हार हो ।

पोखरा रंगशालामा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखराले पुरै २० ओभरमा ९ विकेट गुमाएर ११७ रन जोड्न सक्यो ।

पोखरालाई सस्तैमा समेट्न बुटवलका सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले समान २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५० रन जोडेको थियो  । घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको बुटवलका लागि भिम सार्कीले ५४ रनको अर्धशतकीय इनिङस खेले । उनले ४६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै रोहन मुस्तफाले ४५ रन जोड्दा कप्तान सोमपाल कामीले २२ रन जोडे । सिद्दान्त लोहनी १३ रनमा आउट भए । पोखराका मोहमद नाभिदले ३ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार विराटनगर र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्