Motivate News

रियल मड्रिडद्वारा प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त

कार्तिक १३, काठमाडौँ –  युरोपेली च्याम्पियन रियल मड्रिडले प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त गरेको छ । क्लबले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् ।

पछिल्ला खेलमा नराम्रो गर्दै आएकोमा ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् ।

आइतबार राति क्याम्प नाउमा भएको खेलमा रियल मड्रिड ५–१ ले हारेको थियो । रियल मड्रिडको जिम्मेवारी सम्हालेको साढे चार महिनामै लोपेतेगी बर्खास्त भएका हुन् ।

उनी विश्वकप फुटबलअघि रियल मड्रिडमा आउने पक्का गरेका थिए । त्यहिकारण स्पेनले उनलाई विश्वकप सुरु हुनु भन्दा एक दिनअघि बर्खास्त गरेको थियो । राष्ट्रिय टिमको जिम्मेवारीबाट बर्खास्त भएका लोपेतेगी क्लबले राम्रो गर्न नसक्दा फेरि बर्खास्त भएका हुन् ।

उनी गएको जुनमा जिनेदिन जिदानको ठाउँमा आएका थिए । रियल मड्रिड पछिल्ला ६ खेलमा पाँचमा पराजित भएको छ ।

सन् २००१–०२ यताकै खराब प्रदर्शन गरेको रियल मड्रिड अहिले ला लिगामा नवौँ स्थानमा छ । रियल मड्रिडले लोपेतेगीको ठाउँमा सान्टियागो सोलारीलाई ल्याउने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्