Motivate News

छठ पर्वको रौनक : काठमाडौंको गौरीघाट झकिझकाउ

कार्तिक २७, काठमाडौं —श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठको आज मुख्य दिन हो । ब्रतालुले हिजो पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेका छन् ।

तेस्रो दिन (षष्ठी) अर्थात् मंगलबार ( आज ) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्न बाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन ।

फोटो – ठाकुर बेल्वासे 

कात्तिक शुक्ल चौथीका दिन आइतबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले सोमबार पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेको हो । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि विधिवत् रुपमा शुरु भएको थियो ।

मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

     फोटो – ठाकुर बेल्वासे 

यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको रौनक देखिएको छ  । रानी पोखरी भूकम्पले ध्वस्त बनाएपछि छठ पर्व मनाउन यस वर्ष काठमाडौंको गौरीघाट झकिझकाउ पारिएको छ  ।

 

 

प्रतिकृया दिनुहोस्