Motivate News

ए डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै आर्मी लिगको दोस्रो स्थानमा

मङ्सिर १६, काठमाडौं –हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । अाजै भएका अन्य खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले पहिलो जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदा कप्तान भरत खवास नायक बने । आर्मीको जितमा दुबै गोल खवासले गरेका थिए । ३२औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।

पहिलो हाफमा सो अग्रता कायम राखेको आर्मीले ८४औं मिनेटमा अर्को गोल गर्‍याे । यसपटक पनि भरत खवासले नै गोल गरे । त्यसको दुई मिनेटपछि नै विदेशी खेलाडी उल्रिच सिवेले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काउने प्रयास गरे । तर थप गोल हुन नसक्दा शेर्पाले लिगमा पहिलो हार ब्यहोर्‍याे ।

अर्काे खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हरायो । फ्रेण्ड्सको जितमा फोफना ब्राहिमानले ६५औं मिनेटमा, संजोग महर्जनले ८४औं मिनेटमा र अनिल महर्जनले इन्ज्युरी समयमा गोल गरे ।

अाजै हलचाेक मैदानमा भएकाे खेला जावलाखेलले ब्रिगेड ब्वइज क्लबलाई १–० ले हरायो । जावालाखेलको जितमा अरुज सिंहको एकमात्र गोल निर्णायक बन्यो । ८८औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अरुजले जावलाखेललाई लिगको पहिलो तीन अंक दिलाएका हुन् ।

आजको तीन खेलसँगै लिगको पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणको समाप्तिसम्म मनाङ मस्याङ्दी क्लब शतप्रतिशत जितसहित १५ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्मी १३ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्