Motivate News

देउवाले थप समय मागेपछि भावी प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

मंसिर १७, काठमाडौं – भावी प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका सभापति  शेरबहादुर देउवाले थप समय मागेपछि बैठक यही मंसिर २२ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र कानून मन्त्री प्रधानमन्त्री कार्यालय पुगेका थिए । बैठकस्थलमै पुगेर देउवाले थप समय मागेका हुन् । बैठक स्थगित भएको जानकारी परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सञ्चारकर्मीलाई दिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउँदैछन् । प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा १ महिना अगावै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा पठाइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्