Motivate News

अब नेपाली जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिन्छ : प्रचण्ड

 

मङ्सिर २१, काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लिने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा मानिसकेको बताए। उनले कुनै व्यक्तिले शिक्षा, स्वास्थ्य र रोजगारी नपाए कानूनी उपचारको बाटो समेत खोज्न सक्ने गरी कानुन बनिसकेको उनको भनाइ थियो।

दुई तिहाइको सरकारले राम्रो काम गर्न नसकेको भन्दै चौतर्फि आलोचना भएपछि प्रचण्ड सरकारको बचाऊमा लागेका छन्। उनले नौ महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्।

उनले अब सरकार जनताको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रित रहेको दावी समेत गरे।

अध्यक्ष प्रचण्डले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा संचालनका लागि दुवै मुलुकसँग समझदारी गरेर अघि बढनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सरकारका आलोचकहरुलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे। उनले चुनावमा गरिएको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन वैज्ञानिक खोज तथा अनुसन्धानको क्षेत्रमा विशेष चासो राख्ने विषयमा पनि राजनीतिक नेतृत्वमा समस्या नरहेको पनि बताए।

प्रतिकृया दिनुहोस्