Motivate News

धर्म बारे उठेको विषय बेलैमा समाधान नगरे देशमा नयाँ द्वन्द्व निम्तिन्छ : पूर्व राष्ट्रपति यादव

मङ्सिर २५, ललितपुर– पूर्व राष्ट्रपति डा रामवरण यादवले धर्म संस्कृतिको विषयलाई संविधान बमोजिम संसदले बेलैमा सम्बोधन गर्नेबारे ठोस निर्णय नलिए देशमा नयाँ द्वन्द्व निम्तनसक्ने खतरा औंल्याएका छन्।

आज ललितपुरको महालक्ष्मी नगरपालिका—८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि महायज्ञ शुभारम्भ गर्दै उनले धर्म र संस्कृतिको विषय संवेदनशील भएकाले बेलैमा होस पुर्याउनुपर्नेमा जोड दिए। धर्म संस्कृतिको व्यवस्थापन जटिल भएपनि संविधानअनुरुप यसको व्यवस्थापन अनिवार्य भएको उनको भनाई थियो।

धर्म संस्कृतिबारे उठेको विषय बेलैमा व्यवस्थापन नगरे द्वन्द्व निम्त्याउन चाहनेलाई हतियार मिल्नसक्ने खतरा औल्याउँदै यादवले भने, ‘संसारमा धर्मको विषयले ठूला युद्धहरु भएका छन्, हामीले बेलैमा होस् पुर्याउन जरुरी छ।’ आफूले यही स्थिति आउने खतरा देखेर संविधान जारी गर्दा दलहरुलाई मधेशको समस्याका अलावा धर्म संस्कृतिको विषयमा गम्भीर भएर सोच्न भनेको पनि उनले स्मरण गरे।

उनले भने, ‘मलाई थाहा थियो कि यस्तो समस्या आउन सक्छ, त्यसैले सबै दलहरुलाई सहमतिका लागि आग्रह गरेको थिएँ।’

पूर्व राष्ट्रपति यादवले देशमा विकासका नाममा विनाश भइरहेको औल्याउँदै बेलैमा सोच्न आग्रह गरे। यादवले सडकलगायत पूर्वाधार निर्माणका लागि चुरेका जङ्गल फडानी भइरहेकोले भविष्यमा पानीको संकट बढेर अर्को द्वन्द्व निम्तनसक्नेतर्फ सचेत गराए। चुरे क्षेत्रमा निर्माण गर्ने भनिएको मदन भण्डारी राजमार्गले विकास भन्दा विनाश गर्नसक्ने उनको भनाई थियो।

महायज्ञको सफलताको शुभकामना दिँदै यादवले दान गर्न चौडा छाति चाहिने धारणा राखे। पवित्र कार्यमा सबैलाई सहयोगका लागि आग्रहसमेत गरे। पूर्व राष्ट्रपति यादवले लोकप्रिय बक्सिङ्ग खेलाडी मनोहर बस्नेत ‘म्याक्स बी’, पर्वतारोही प्रकाशराज पाण्डे र कल्पना श्रेष्ठलाई सम्मान गरेका थिए।

ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले धर्म संस्कृतिलाई बेवास्ता गर्दा देशमा भ्रष्टाचार र अनैतिक कार्यहरु मौलाएको बताए। उनले भने, ‘हामीले हाम्रो धर्मलाई बेवास्ता गर्दा भ्रष्टाचार मौलाएको छ।’ धर्मबाट नैतिक र आध्यात्मिक शक्ति प्राप्त हुने भएकाले यसको विशेष महत्व रहने उनको भनाइ थियो।

ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जनले धर्म र संस्कृति हाम्रो समाजको आधार भएकाले त्यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। महायज्ञमार्फत खानेपानी अभिवृद्धि हुन लागेको सुन्दा आफू निकै खुसी भएको भन्दै सहयोगका लागि सधैं तयार रहेको स्पष्ट पारे।

महायज्ञ पौष ३ सम्म चल्नेछ। यज्ञमा वाणीभाष्कर भुवनगुरुले प्रवचन दिनेछन्।

प्रतिकृया दिनुहोस्