Motivate News

विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स क्वालिफायर्समा प्रवेश

पौष २, काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स ११ क्वालिफायर्समा प्रवेश गरेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायर्समा प्रवेश गरेको हो।

यता हारसँगै विराटनगर भने बाहिरिएको छ। अब मंगलबार हुने पहिलो क्वालिफायर्समा काठमाडौं र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा ग्लाडियर्टस र चितवन टाइगर्सबीच भने बुधबार एलिमिनेटरमा भिड्नेछन्। पोखरा राइनोज यसअघि नै बाहिरिसकेको छ।

सोमबार विराटनगरले दिएको १ सय १ रनको लक्ष्य काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पार गर्‍यो। काठमाडौंको जितमा केभिन ‌ओब्राइनले नटआउट ४५ रन र परदिप साहुले नटआउट २१ रन जोडे। केभिनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। परदिपले २३ बलमा ३ चौका हिर्काए।

काठमाडौंका ओपनर रोहान मुस्ताफा पहिलो ओभरमै खाता नै खोल्न नपाइ आउट भए। अर्का ओपनर अमित श्रेष्ठ १४ रनमा आउट हुँदा सागर पुनले १० रन जोडे। अमितले ११ बलमा २ छक्का हिर्काए भने सागरले ८ बलमा २ चौका हिर्काए। नरेश बुढाऐरले १७ बल खेल्दा ७ रन मात्र जोड्न सके। राजु रिजाललाई रोबिन क्षेत्रीले १ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारे।

बलिङमा विराटनगरका कप्तान पारस खड्का र भान डेर मार्वीले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १ सय रनमा अलआउट भयो। खराब ब्याटिङ गरेको विराटनगरका लागि सुमीत महर्जनले सबैभन्दा बढी २५ रनको योगदान गरे। उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै हरिबाहदुर चौहानले २३ बलमा ३ चौकाको मद्दतमा २२ रन जोडे।

ओपनिङमा आएका कप्तान पारस खड्काले २२ रन बटुले। उनले १६ बलमा २ चौका र १ छक्का हिर्काए। अर्का ओपनर भने अनिलकुमार साह ६ रनमै आउट भए। ८ बलमा १ चौका प्रहार गरेका अनिललाई काठमाडौंका केभिन ओब्राइनले बोल्ड गरे। बायर हायतलाई जितेन्द्र मुखियाले पर्दिम साहुको हातबाट ११ रनमै पेभिलियनको बाटो देखाए। लगत्तै आसिफ शेखलाई कप्तान रोहान मुस्ताफाले बोल्ड गरेका थिए।

भान डेर मर्वीलाई साहुले ४ रन बोल्ड गरेका थिए भने पुष्प थापा र करण केसी १-१ रनमै आउट भए। रोबिन क्षेत्री र भान माकेरेनले खाता खोल्न सकेनन्।

बलिङमा काठमाडौंका केभिन ओब्राइनले ३ विकेट लिए। उनले ३ ओभरमा १८ रन खर्चिए। पर्दिप साहु, बिक्रम भुषाल र मुस्ताफाले २-२ विकेट हात पारे। जितेन्द्र मुखियाको नाममा १ विकेट रह्यो।

प्रतिकृया दिनुहोस्