Motivate News

वाइडबडी खरिद प्रकरणः ४ अर्ब ३५ करोड भ्रष्टाचार,पर्यटनमन्त्री अधिकारीसहित २ पूर्वमन्त्रीलाई कारवाही सिफारिस

पौष १८ काठमाडौं – सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिद प्रकरणमा कम्तिमा पनि ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उपसमितिले राति अबेरमात्र तयार पारेको प्रतिवेदनमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र तीनजना सचिवलाई मुख्य दोषी ठहर गरिएको छ भने पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित तीनजना पूर्वमन्त्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।

सचिवहरु प्रेमकुमार राई, शंकर अधिकारी र कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी ठहर गरिएको छ । उपसमितिले पूर्वमन्त्रीहरु जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलाई पनि कारवाहीको सिफारिस गरेको छ ।

अधिकारी मन्त्री भएपछि दुई किस्ताको रकम पठाइएको थियो । उपसमितिले पर्यटनमन्त्री अधिकारी संसदीय समितिमा झुठो बयान दिएको उल्लेख गर्दैै मन्त्रीको बदनियत देखिएको र उनी जिम्मेबारीबाट पन्छिन नमिल्ने देखिएकाले पनि कारवाही गर्नुपर्ने सिफारिस उपसमितिले गरेको छ ।

दोषी देखिएकालाई तत्काल कारवाही गर्न पनि सिफारिस गरिएको एक सदस्यले बताए ।

“हामीले यो प्रतिवेदन तयार पार्दा ठूलो रिस्क लिएका छौं,” एक सदस्यले बाह्रखरीसँग कुरा गर्दै भने, “अब यो कार्यान्वयन तहसम्म लैजान सबैको दबाब आवश्यक देखिन्छ ।”

खरिद प्रक्रिया जारी रहँदा वाइडबडी जहाज हेर्ने भन्दै ३८ जनालाई विदेश घुमाइएको पनि उपसमितिको ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस्