Motivate News

नेपालले जेठसम्ममा विदुतिय निर्यात गर्ने : प्रधानमन्त्री ओली

भदौ ६, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्ष भित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठ सम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए । प्रधानमन्त्री ओलीले आगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “आफ्नो सेवा र सुविधा भन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताए । नेकपा प्रदेश नं १ का कार्यदल संयोजक भीम आचार्यको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । कार्यक्रममा विस्थापित किसान, इत्तेहाद मुस्लिम सङ्गठन, स्थानीय तहका कर्मचारी, उखु किसान, बाढीपीडित र सुनसरी मोरङ सिँचाइ आयोजनाका उपभोक्ता समूहले प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस्