Motivate News

आर्मीलाई पराजित गर्दै पुलिस बन्यो सभामुख कप च्याम्पियन, बिजेता टिमलाई एआइजी बस्न्यातको बधाई

पौष २३, इटहरी – उपाधिको दावेदर त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इटहरि रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

बिजेता टिमलाई राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक  धिरु बस्न्यातले  बधाई दिएका छन्। उनले आगामी दिनहरुमा अन्य बिधाहरुमा समेत उत्कुष्ट प्रदर्शन गर्न हौसला र उत्साहित गर्नु हुँदै प्रहरी टिमको परिणाम कडा मेहनतमा निर्भर रहने कुरामा जोड दिएका छन् । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिबको बस्न्यातले खेलकुद बिकासको लागि निरन्तररुपमा आफु लागेको समेत बताए।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले जितपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेटमा पुलिसले आर्मीलाई २५–२३ र २५–१७ ले निराश पार्दै च्याम्पियन बन्न सफल भयो ।

च्याम्पियन बनेसँगै पुलिसले ४ लाख रुपैयासहित सिलड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले २ लाख रुपैयमा चित्त बुझायो ।

आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । व्यक्तिगत विधातर्फ पुलिसले वर्चस्व जमायो । कुल बहादुर थापा उत्कृष्ट स्पाइकर, कप्तान इम राना उत्कृष्ट सेटर, दीपकराज जोशी उत्कृष्ट ब्लकर र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका भैरव बहादुर बम उत्कृष्ट क्वीकर र आर्मीकै इश्वर थापामगर उत्कृष्ट लिवेरो चुनिए ।

पुस १९ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्