Motivate News

मौसमी रुघाखोकीको प्रकोप बढ्यो, ‘हात नमिलाऔँ, नमस्कार गरौँ’

माघ ११ , काठमाडौं – चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ ।

चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ । विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी बढेको ती निकायले जानकारी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (न्याम्स) अन्तर्गतको वीरअस्पतालका डा. सरोज अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०/६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् ।

उहाँले भन्नुभयो, “गएको वर्षको तुलनामा यसपटक रुघाखोकीका बिरामी धेरै देखियो । यसको कारण चिसो, बढ्दो धुलो धुवाँको असर हुनसक्छ ।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा इन्फ्लुएञ्जा रोग पहिचान गर्न निःशुल्क परीक्षण हुने गरेको छ । प्रयोगशालाले गएको मङ्सिर र पुस महीनामा ३३४ बिरामीको घाँटीको र्‍यालको नमूना परीक्षण भएकामा १४६ मा सिजनल इन्फ्लुएञ्जा ए एचवान एनवान पिडिएम नाइन देखिएको जनाएको छ । तर कडा खालको इन्फ्लुएञ्जाले मृत्यु हुनसक्ने जोखिम रहन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा/हाच्छिउ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छन् । तर विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वासलगायत) प्रभावितमा यसको जोखिम बढी हुन्छ । मृत्यु हुने सम्भावना पनि अन्यभन्दा बढी हुन्छ ।

ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएञ्जा सामान्य लक्षण हुन् । चिकित्सकका अनुसार बालबालिकामा वाकवाकी लाग्ने/बान्ता हुने, पेट मडारिने, झाडापखाला हुने, हाच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा आलस्य हुने लक्षण देखा पर्दछन् ।

हात नमिलाऔँ, नमस्कार गरौँ

डा. अधिकारीले इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा/पाखुराले), साबुन पानीले पटकपटक हात धुने र सकेसम्म हात नमिलाउने नमस्कार गनुपर्दछ । रुघाखोकी सङ्क्रमित भएकासित दूरी कायम गर्ने (कम्तीमा एक मिटर/दुई हात टाढा रहने) सुझाव दिनुहुन्छ ।

रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यकरुपमा हात नलैजाने, जथाभावी नथुक्ने/सिँगान नफाल्ने, रुघाखोकी लागेका व्यक्ति कम्तीमा पाँच दिन दिनसम्म घरमै आराम गरेर बस्ने, सङ्क्रमित व्यक्तिलाई पौष्टिक खाना र प्रशस्तमात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्छ ।

त्यस्तै भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने, दूध चुस्ने उमेरका बालबालिकालाई साविकबमोजिम नियमित स्तनपान गराउने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखुवाउने डा. अधिकारीको सुझाव छ ।

महाशाखाले सिजनल इन्फ्लुएञ्जाको सङ्क्रमणबाट जोगिन निरन्तर सूचना तथा सन्देश प्रवाह भइराखेको जनाएको छ । सङ्क्रमणलाई प्रकोपका रुपमा देखा पर्न नदिन सबै स्वास्थ्य संस्थालाई सजग र तयारी अवस्थामा समेत राखिएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्