Motivate News

फेकनको नवौँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को नवौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा बोल्दै मन्त्री थापाले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएकी छन् । नेपालमा बुद्धिजम, हिन्दुइजम, पर्वातरोहण सम्बन्धि विभिन्न कोर्सका लागि विदेशी विद्यार्थी ल्याउन सकिनेमा उनको जोड थियो । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को नवौं वार्षिक साधरण सभाको उद्घाटन गर्दै मन्त्री थापाले अब विद्यार्थीहरु विदेश पठाउने मात्रै होइन विदेशी विद्यार्थीहरुसमेत नेपाल ल्याउनुपर्ने बताइन् ।

फेकनका अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श क्षेत्रमा स्पस्ट निर्देशिकाको आवश्यकता औंल्याए । उनले भने, ‘निर्देशिकामा समस्या छ, अहिले पुरानो निर्देशिका अनुसार सञ्चालन भइरहेको छ भने अब स्पस्ट नीति सहितको निर्देशिका आवश्यक छ ।’ कन्सलटेन्सी क्षेत्रमा विदेशी लगानीको विषयमा आफूहरु स्पस्ट रहेको भन्दै कुनै पनि हालतमा विदेशी लगानी स्वीकार्य नभएको कटुवालले बताए । उनले थपे, ‘विदेशी लगानी सबै क्षेत्रमा आवश्यक छैन, नेपाली लगानी अपर्याप्त हुने ठाउँमा आवश्यक होला तर कन्सलटेन्सी क्षेत्रमा आवश्यक छैन, यसलाई निर्देशिकामा स्पष्ट पार्नुपर्छ ।’

शैक्षिक परामर्श संस्थाले नेपाली विद्यार्थी विदेश पठाउने मात्रै नभइ देशमा गुणस्तरीय शिक्षा उपलब्ध र विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुने हो भने विदेशबाट समेत विद्यार्थी ल्याउन सकिने उनले बताए । कन्सलटेन्सी व्यवसायलाई समय समयमा उच्च नेतृत्वकर्ताबाटै नकारात्मक टिप्पणी गरी बदनाम गराउने प्रयास भइरहेको तर्फ इंकित गर्दै उनले भने, ‘हामी विदेशमा विद्यार्थी मात्रै पठाउँदैनौ, नेपालको पर्यटन विकासका लागि विद्यार्थीका रुपमा पर्यटन दूत पनि पठाइरहेका छौं ।’

प्रतिकृया दिनुहोस्