Motivate News

संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा जस्तोसुकै कदम उठाउन तयार छौं : अध्यक्ष निरौला

माघ २६, काठमाडौं नेपाल समाजवादी कांग्रेस पार्टीका अध्यक्ष गोविन्द निरौलाले नेपालका आफूलाई ठूला भन्ने राजनीतिक दलहरु विदेशीको सच्चा दलाल भएको बताएका छन् ।
पार्टीले आज कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान शासनसत्ता, संसदीय प्रणाली र यस्तैखाले राजनीति रहिरहने हो भने जनताले आफ्ना गुनासा राख्न पनि नपाउने दिन आउने दावी गरे । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरौलाले संघीयता र धर्म निरपेक्षताको खारेजीको लागि आफूहरु जस्तोसुकै बलिदान गर्न तयार रहेको बताए ।

अध्यक्ष निरौलाले भने ‘ अहिले प्रजातन्त्र, समाजवाद र न्याय हराएको छ यसको खोजी गर्ने काम हाम्रो हो ।’ संघीयतले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं । ’

पार्टीका वरिष्ठ नेता विमल यादवले वर्तमान राजनीतिक दलहरुले लोकतन्त्र समाप्त गरेको आरोप लगाए । उनले सरकारको गराई र भनाइमा फरक भएकाले जनताले खवरदारी गर्नुपर्ने बेला भएको बताए । ‘कम्युनिस्टको इतिहास गतिलो छैन हिजो दिनदहाडै गाउँ लुट्थे उनीहरु, कतिपटक हामीले नै लखेट्यौं’ यादबले भने ‘ सरकार तानाशाही बन्दै गएको छ, जनता पीडित बनेका छन् त्यसैले पनि सबै एकजुट भएर प्रतिकार गर्नुपर्ने बेला भएको छ ।’

यसैगरी पार्टीका केन्द्रीय सदस्य प्रकाश पाण्डेले सरकारले युवालाई देशमै राखेर रोजगारको वातावरण सिर्जना गर्न नसक्दा अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । ‘सरकार युवालाई विदेश पठाउँदा खुशी मान्छ, भएका कलकारखाना पनि बेचेर खाए, विदेशिएका युवालाई नेपाल ल्याउनका लागि पहल गर्नुपर्छ ’ पाण्डेले भने ।

यूवा संगठनका संयोजक कैलाश चौलागाइले पछिल्लो समयमा आशा लाग्ने कुनै पनि काम नभएको बताए ।

प्रतिकृया दिनुहोस्