Motivate News

काठमाडौं महानगरपालिकाको बेथिति : भत्ता, सुविधा र भ्रमणमा मात्र सकियो ९ करोड

फागुन ९ काठमाडौँ – काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि पाएको झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि महानगरवासीले राहतको अनुभूति गर्न सकेका छैनन् । सर्वसाधारणले धुलोधुँवाका कारण निम्तिएका वातावरणीय समस्या, बेहाल सडक, अव्यवस्थित बसोबासका कारण सास्ती भोगिरहेका छन् ।

ट्राफिक जाम, पार्किङ अभाव, ढल, खानेपानी, सार्वजनिक शौचालय अभाव जस्ता न्यूनतम सेवासुविधा महानगरवासीले नपाए पनि महानगरको नेतृत्वले भने समस्या समाधानमा चासो देखाएको पाइँदैन ।

नगरवासीका सेवा, सुविधा र विकास निर्माणको क्षेत्रमा ध्यान नदिए पनि सेवा, सुविधा र भत्ता लिने काममा भने महानगरका जनप्रतिनिधि अगाडि देखिएका छन् । चालू आर्थिक वर्ष २०७५/०७६ का लागि १२ अर्ब ४ करोड ११ लाख ५७ हजार विनियोजन गरेको काठमाडौं महानगरपालिकाले ६ महिने अवधिमा ११ प्रतिशत मात्रै बजेट विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्न सकेको छ । तर सेवा, सुविधा र भत्ताको नाममा भने करोडौं रकम खर्च भएको छ । महानगरले विनियोजित बजेटबाट पुस मसान्तसम्ममा जनप्रतिनिधिका सेवा, सुविधा र भत्ताका लागि मात्र ८ करोड ७० लाख ७६ हजार ७ सय ४१ रुपैयाँ खर्च गरेको छ ।

महानगरले जनप्रतिनिधि सुविधा अन्तर्गत जनप्रतिनिधिको सुविधाका नाममा मात्र परिवहन सुविधा, टेलिफोन, उपचार खर्च पोसाक, दुर्घटना बिमा तथा खाजा खर्च शीर्षकमा ६२ लाख २१ हजार ६ सय ९ रुपैयाँ खर्च गरेको छ । भ्रमण खर्च तथा दैनिक भत्ता खर्चबापत २४ लाख ७६ हजार ५ सय ७० रुपैयाँ ५८ पैसा खर्च गरेको छ । त्यस्तै अन्य भत्ता शीर्षक अन्तर्गत प्रोत्साहन तथा विविध भत्ता, परिवहन भत्ता र महानगर भत्ताको नाममा ७ करोड ८३ लाख ७८ हजार ५ सय ११ रुपैयाँ ५६ पैसा खर्च भएको महानगरको तथ्यांकमा उल्लेख छ ।
राजधानीबाट

प्रतिकृया दिनुहोस्