Motivate News

बार्सिलोनासँग फेरि हार्‍यो रियल म्याड्रिड, हारसँगै रियल म्याड्रिड उपाधि होडबाट बाहिरियो

म्याड्रिड  : स्पेनिस ला लिगा फुटबलको आइतबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले आफ्नो चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उसैको मैदानमा १—० गोलले हराएको छ । यसअघि गत बुधबार भएको कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेग खेलमा पनि बार्सिलोनाले रियल म्याड्रिडलाई ३—० गोलले हराएको थियो । उक्त हारसँगै रियल म्याड्रिड उपाधि होडबाट बाहिरिएको थियो ।

आइतबार बिहान भएको ‘एल क्लासिको’ भिडन्तपछि बार्सिलोनाले लिग तालिकामा आफ्नो निकट्तम प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग १० अंकको अग्रता लिएको छ । बार्सिलोनाको जितमा खेलको २६औं मिनेटमा क्रोएसियन मिडफिल्डर इभान राकिटिचले निर्णायक गोल गरे ।  उक्त हारसँगै यो सिजन ला लिगाको उपाधि चुम्ने रियल म्याड्रिडको सपना पनि निकै क्षीण बनेको छ ।

हालसम्म २६ खेल खेलेको बार्सिलोनाले आफ्नो अंक ६० पु¥याएको छ । दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडले २५ खेलबाट ५० अंक जोडेको छ । रियल म्याड्रिड भने २६ खेलबाट ४८ अंक बटुल्दै तेस्रो स्थानमा आसिन छ । यसैगरी २६ खेलबाट ४० अंक जोडेको आल्भेस चौथो, २५ खेलबाट ३९ अंक बटुलेको गेटाफे पाँचौं र २६ खेलबाट ३७ अंक जोडेको सेभिया छैटौं स्थानमा छन् ।

एट्लेटिको म्याड्रिडले आइतबार साँझ खेलिने खेलमा रियल सोसिएडाडलाई हराएमा बार्सिलोनासँगको दुरी सात अंकमा झर्नेछ । साविक विजेता बार्सिलोनाले जारी सिजनको घरेलु लिगमा पनि १८ जित हात पारिसकेको छ । ६ खेल बराबरीमा सकिएको छ भने दुई खेलमा बार्सिलोना पराजित भएको छ । रियल म्याड्रिडले घरेलु मैदानमा भोगेको यो लगातार तेस्रो हार हो । अब रियल म्याड्रिडले आगामी मंगलबार आयाक्ससँग च्याम्पियन्स लिग खेल्ने कार्यक्रम छ ।

यसअघि शनिबार राति खेलिएको खेलमा एसडी हुएस्काले सेभियालाई आफ्नो मैदानमा २—१ गोलले हराएको थियो । डेपोर्टिभो आल्भेसले पनि भिल्लारियललाई उसैको मैदानमा २—१ गोलले पाखा लगाएको थियो । स्पान्योलले भने घरेलु मैदानको फाइदा उठाउँदै रियल भालाडोलिडमाथि ३—१ गोलको जित हासिल ग¥यो ।

प्रतिकृया दिनुहोस्