Motivate News

टीकापुर हत्याकाण्ड : सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला

फागुन २२ धनगढी – टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतको फैसला अनुसार जन्मकैद ककसलाई?
रेशमलाल चौधरी
हरिनारायाण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन डगौरा
राजेश चौधरी
वीरबहादुर चौधरी
प्रदीप चौधरी
विद्रोह भन्ने सिताराम चौधरी
श्रवण चौधरी
गंगाराम चौधरी

तर, जिल्ला अदालतले नाबालक रहेका श्रवण चौधरीको हकमा भने १० वर्षमात्र कैद हुने फैसला गरेको छ।

३ वर्ष कैद हुने
लक्ष्मण थारु (चौधरी)
लाहुराम चौधरी
रामकुमार कठरिया
सन्तराम चौधरी
विश्राम भन्ने जितबहादुर डगौरा
प्रेमबहादुर चौधरी
किसनलाल चौधरी
दिलबहादुर चौधरी
संगम भन्ने सन्तोष थारु चौधरी
विश्राम चौधरी
चुन्निराम चौधरी
रामप्रसाद चौधरी

चुन्नीराम बाहेक अन्य अभियुक्त आजै रिहा हुनेछन्। उनी आउँदो फागुन ३० गते मात्र छुट्नेछन्।

करन चौधरी बालबालिका ऐन अनुसार ६ महिना कैद हुने ठहर भएकाले आजै रिहा हुने जिल्ला अदालतको फैसलामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्