Motivate News

भरतपुर महानगरपालिका–५ को वडा कार्यालयमा बम बिस्फोट

फागुन २९ चितवन – चितवनको भरतपुर महानगरपालिका–५ को वडा कार्यालयमा बम बिस्फोट भएको छ ।

नचिनेका मानिसको समूहले मंगलबार मध्य रातमा कैलाशनगर शान्तिचोकमा रहेको वडा नम्बर ५ को कार्यालयमा सिलिण्डर बम बिस्फोट गराएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

उनले देश सञ्चारसँग भने, ‘मध्य रातमा ठूलो आवाजसहित बिस्फोट भयो, हामी तत्कालै घटनास्थल पुग्यौँ । आगलागी भएको थियो, दमकलको सहयोगमा निभायौँ ।’
उनले मानवीय क्षति नभए पनि भौतिक क्षति भएको बताए ।

प्रहरी उपरीक्षक राठौरले भने, ‘वडा कार्यालयका कागजपत्र जलेका छन् । भवनमा क्षति पुगेको छ । झ्याल, ढोका सबै फुटेका छन् ।’

घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । तर अहिलेसम्म कसैले जिम्मेवारी भने लिएका छैनन् । सुरक्षा व्यवस्था कडा पारिएको र अनुसन्धान जारी रहेको उनले बताए ।

बिस्फोटमा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको आशंका छ ।

प्रतिकृया दिनुहोस्