Motivate News

महिलाको अस्तित्व स्वीकार गर्दा ठूलो परिवर्तन गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

फागुन २९ काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महिलासम्बन्धी कानुन र संवैधानिक प्रावधान परिवर्तन गर्दा तथा महिलाको अस्तित्वलाई स्वीकार गर्दा मुलुकमा निकै ठूलो परिवर्तन गर्न सकिने बताएकी छिन्।

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घ महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेकाे ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिलाप्रतिकाे विभेद समाजले बनाएकाले यो अप्राकृतिक भेदभाव भएको र अपरिवर्तनीय नभएको स्पष्ट गरिन्।

‘महिला नेत्रीले कसरी विश्व परिवर्तन गर्छन्’ भन्ने विषयको उच्चस्तरीय गोलमेच छलफल(सत्र)मा उनले लैङ्गिक समानता जीवनजगत र दार्शनिक रुपमा सहअस्तित्वको विषय भएको बताउँदै महिलालाई हेर्ने अन्धविश्वास र हेय दृष्टिकोणले समाजलाई पछाडि पार्ने औँल्याइन्।

‘संवैधानिक र कानुनी प्रावधान स्पष्ट रुपमा परिवर्तन नगर्दा महिला पछि पर्छन्, नेपालमा कानुनमा सामान्य परिवर्तन गर्दा छोटो समयमा ठूलो परिवर्तन भएको छ’, उनले उदाहरण दिएर भनिन्। राष्ट्रपतिले केही वर्ष अगाडि नेपालमा एक लाख पदमा भएको निर्वाचनमा १ सय ३६ जना महिला प्रतिनिधि मात्र निर्वाचित भएकामा हालैका वर्षमा केही कानुनी प्रावधानलाई सच्याउँदा एकै पटक करीब ४० हजार महिला निर्वाचित भएको बताइन्।

उनले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र केन्द्र, प्रदेश र स्थानीय तहमा ३५ देखि ४१ प्रतिशत महिला निर्वाचित भएर आएको जानकारी दिइन्।

कार्यक्रममा आफ्ना अभिप्रेरणाका कथाका विषयमा सोधिएको एक प्रश्नमा राष्ट्रपति भण्डारीले आफू निकै दुर्गम गाउँमा जन्मेको र उक्त ठाउँमा सबैले पढ्ने, उपचार गर्ने र वर्षभरि खान पाउने अवस्था नभएको उल्लेख गर्दै सबै जनताले पढ्न, खान र उपचार गर्न पाउनुपर्छ भनेर नै आफू युवावस्थादेखि नै राजनीतिक परिवर्तनको कार्यमा लागेको जिकिर गरिन्।

‘बुवा गाउँको पढेलेखेको र माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्याे, तर, उहाँको उपचार नपाएर निधन भएको थियाे। साेही घटनाले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरणा दिएको हो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘मलाई जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन।’

प्रतिकृया दिनुहोस्