Motivate News

रविन्द्र आशिष ‘शैली’को गजलसंग्रह ‘माया महल’ विमोचन

काठमाडौँ – गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो।

कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।

गजलमा मायाप्रेम, राजनीति तथा सामाजिक विषयहरुलाई उठान गरिएको छ । शैलीले विगत डेढवर्ष देखि लेखका ६४ वटा गजलहरु यस संग्रहमा समावेश छ । ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ ले प्रकाशित गरेको ७२ पृष्ठ लामो यस पुस्तकको मुल्य रु १५० तोकिएको छ । विमोचनको दिन पुस्तक बिक्रीबाट उठेको रकम पशुपति स्थित ‘बाल सारथी’ नामक संस्थानलाई प्रदान गरिने शैलीले बताए ।

शैलीको यस अघि वि.सं २०४२ सालमा संयुक्त कविता संग्रह ‘आजको आकाश भाग -१’ प्रकाशित भएको थियो भने सोही संग्रहको भाग-२ वि.स. २०६३ सालमा सार्वजनिक भएको थियो । उनको ‘शैलीका गीतहरु’ नामक गीति संग्रह भने वि.सं २०७३ सालमा लोकार्पण गरिएको थियो । शैलीका ‘मायाले बोलाउँछ भाग-१’, ‘२’ र ‘शैली’ गरी ३ वटा एल्बमहरु सार्वजनिक भईसकेका छन् ।

प्रतिकृया दिनुहोस्