Motivate News

निर्माण ब्यावसायीको हकहितको लागि सदैव अग्रसर हुनेछु :अध्यक्षका प्रत्यासी श्रेष्ठ

 

यही चैत्र ८– ९ गते हुन लागेको नेपाल निर्माण ब्यवसायी संघ सिन्धुपाल्चोकको छैटौं अधिवेशनमा आ आफ्नो प्यानलको उम्मेदवारी घोषणा सूरु भएसँगै लोकतान्त्रिक गठबन्धनबाट सगुन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनी यसअघिको कार्यसमितिमा द्धितीय उपाध्यक्ष थिए । उनीसँग गरिएको कुराकानीको मुख्य सारः

अध्यक्षमा उम्मेदार बन्नुभएको छ, तपाइँका एजेण्डाहरु के के छन् ?

अहिलेको परिस्थितिमा हेर्ने हो भने निर्माण ब्यावसायमा राजनीतिकरण भएको छ यो उचित होइन । अमुक दल वा नेताको आसपासमा भएका ठेकेदारहरुले मात्रै ठेक्का पाएको देखिएको छ म सर्वप्रथम यसबाट मुक्त गराउछु । अर्को कुरा निर्माण ब्यावसायीहरुमाथि विभिन्न बहाना बनाएर काममा अवरोध गर्ने कमिसन माग्ने जस्ता काम भएका छन् म त्यसलाई हटाउँछु । सबै तहका ठेकेदारहरुलाई काम दिलाउन प्रयास गर्छु । छोटकरीमा भन्ने हो भने निर्माण ब्यावसायी संघ सिन्धुपाल्चोकमा रहेका यावत समस्यालाई हल गर्दै ब्यावसायीहरुको हकहितको लागि म सदैव क्रियाशील रहनेछु । अर्को कुरा म यसअघिको जिल्ला कार्यसमितिमा पनि द्धितीय उपाध्यक्ष भएर काम गरिससको ब्यक्ति हुँ । म आफूलाई जिल्लाको निर्माण ब्यावसायीहरुको लागि काम गरेर देखाउन सक्ने क्षमता म सँग छ भन्ने आत्मविश्वास र साथीभाइहरुको मप्रतिको आस्थाकै कारण म उम्मेदवार भएको हुँ ।

निर्माण ब्यावसायीहरुलाई पनि राजनीतिक नेताको दैलो चाहार्दै हिडेको आरोप लाग्ने गरेको छ, के यो उचित हो ?

यसमा केही सत्यता छ । मैले माथि नै उल्लेख गरिसकेको छु । नेपालका निर्माण ब्यावसायीहरु आफ्नो ब्यासायिक हकहित भन्दा पनि कुन नेता वा दललाई मनाएर ठेक्का हात पार्न सकिन्छ, कुन कर्मचारीलाई रिझाँउँदा आफ्नो दुनो सोझ्याउन सकिन्छ त्यसैमा बढी केन्द्रित भएको देखिएको छ । स्वच्छ ब्यासायिक प्रतिस्पर्धा भन्दा अस्वस्थ भएको छ । यसले केही ब्यक्तिलाई लाभ भए पनि समग्र निर्माण ब्यावसायीलाई ठुलो मार परेको छ । यस खालको समस्याको बारेमा म पूर्ण जानकार छु । नेताहरुले आफ्नो कोटरीमा रहेका ब्यावसायीहरुलाई मात्र च्याप्ने प्रवृत्तिलाई म हटाएरै छोड्छु ।

राजनीनिक भागबण्डाका आधारमा नेतृत्व चयन हुने गरेको छ, त्यसबाट आएको नेतृत्वले ब्यावसायिक मुद्धाहरु उठाउन सक्छ ?

तपाइँले एकदमै जायज प्रश्न गर्नुभयो । मेरो उम्मेदवारी पनि त्यस्तो परम्पराको विरोधमै हो । आजको समयमा कोही पनि ब्यक्ति राजनीतिक रुपले निरपेक्ष हुन सक्दैन तर राजनीतिमा पूर्ण कार्यकता नै निर्वाचनमा उम्मृदवार बन्ने गरेका छन् । उनीहरुले पहिला नै म ैले जितेमा यस पार्टीलाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता कामहरु गर्छु भन्ने प्रतिज्ञा गरेको हुन्छ भने उसले ब्यावसायको मर्यादा कायम राख्न सक्दैन । अहिले भइरहेका विकास निमांणका कामहरुमाथि स्थानीय स्तरमा अवरोध गर्ने कामहरु भएको छ नेतृत्वले काम गर्नसक्ने वातावरण छैन । नेताका खल्तीबाट आएका नेतृत्वले समग्र ब्यावसायीको हितका लागि काम गर्न सक्दैन ।

निर्माण ब्यावसायमा कस्ता किसिमका समस्याहरु छन ?

जिल्लाको मात्रै कुरा गर्ने हो भने धेरै प्रकारको समस्याहरु रहेको मैले महसुुुस गरेको छु । नेपाल अहिले नयाँ संरचनामा गएको छ । माथिल्लो वा केन्द्रीय निकायबाट ठेक्का लागेर काम भइरहेका कामहरुमा स्थानीय तह वा नृतृत्वले अनावश्यक हैरानी दिने गरेको पनि देखिएको छ । राजनीतिक नेतृत्वले आफूलाई मात्रै सर्बेसर्बा ठान्ने मानशिकता छ । सम्पन्न् भएका कामहरुको भुक्तानी पाउन सकेको छैन । विभिन्न प्रशासनिक झमेलाहरु सिर्जना गरेर निर्माण ब्यावसायीहरुलाई हतोत्साही गर्ने कामहरु भएका छन् । सरकारी निकायहरुमा समन्वयको अभाव छ ।

प्रतिकृया दिनुहोस्