Motivate News

विप्लव माओवादीका नेता सुदर्शन काभ्रेबाट पक्राउ

चैत्र ९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्य कमान्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।

प्रदेश ३ प्रहरी, महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले ओलीसहितको समूहलाई नियन्त्रणमा लिएको हो।

उच्च प्रहरी स्रोतका अनुसार काभ्रेबाट भाडाको बा १७ च ४८९३ नम्बरको स्कोरपियो जिपमा काठमाडौंतर्फ आउँदै गरेका बेला सुदर्शनसहित ८ नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनी सहितको समुह काभ्रेबाट स्थानान्तरण हुँदै थियो।

अपरेसनमा खटिएको प्रहरी टोलीले सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको हो। यसमा एक जना गाडी चालक छन्। गाडी काठमाडौंबाट झिकाइएको थियो।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सुदर्शन पक्राउ भएको जानकारी दिंदै उनी सहितको समुहलाइ सम्बन्धित मुद्दा चलेकै इकाइमा राखिने बताए। सुदर्शनलाइ नख्खु एनसेल र रोहण गुरूङको घरमा भएको बिस्फोटको घटनाका मुख्य आरोपी बनाउने तयारी प्रहरीले गरेको छ।

प्रतिकृया दिनुहोस्