Motivate News

बारम्बार किन विवाद भइरहन्छ सुन्दरी प्रतियोगिताको ?

काठमाडौं । मिस नेपाल २०१९ का लागि लिइएको अडिशनका क्रममा एक किशोरीप्रति निर्णायकमण्डलकी एक सदस्यले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना र चर्चा भएको छ । ट्विटर, फेसबुक र इन्स्टाग्राममा भाइरल भएको एउटा भिडिओमा निर्णायकमण्डलकी सदस्यले रुखो शैलीमा ती किशोरीलाई शृंगार किन नगरेको, चस्माको सट्टा कन्ट्याक्ट लेन्सको प्रयोग किन नगरेको जस्ता प्रश्न रुखो शैलीमा गरेको देखिन्छ ।

पछिल्लो यो घटनाले नेपालमा हुने गरेका विभिन्न सुन्दरी प्रतियोगिताको पक्ष र विपक्षमा पुनः बहस चुलिएको छ । सुन्दरी प्रतियोगिताको औचित्य देख्ने र नदेख्नेहरूबीच सामाजिक सञ्जालमा पनि दोहोरो वादविवाद भइरहेको छ । र, यसले कैयौँ प्रश्नलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । नेपालमा सुन्दरी प्रतियोगिताबारे किन विवाद हुन्छ, के यहाँ सुन्दरी प्रतियोगिताको औचित्य छैन रु जस्ता तर्कले चौतर्फी रूपमा ठाउँ पाएको छ ।

सामाजिक सञ्जालमा अडिसनसम्बन्धी उक्त भिडिओ व्यापक भएपछि त्यसले सुन्दरी प्रतियोगिताको कुरूप पक्षलाई उजागर गरिएको भन्दै कतिपयले टिप्पणी पनि गरेका छन् । सामाजिक सञ्जालमा कतिपय महिला र पुरुषले त मेकअप नगरिएको तस्बिर राख्दै मेकअपबिाना पनि मान्छे सुन्दर देखिन्छ भन्दै आफ्नो मत लेखेका पनि छन् । कतिपयले मेकअप गर्नु र नगर्नु, चस्मा लगाउनु र नलाउनु व्यक्तिको स्वतन्त्रताको विषय भएकोले त्यसको पछि लाग्नु नपर्ने धारणा समेत राखेका छन् ।

घटनापछि ट्विटरमा त ट्रेन्डिङ (लोकप्रियमा)मै आएको छ । सोही सन्दर्भलाई लिएर ट्विटरमा सुष्मिता महर्जन लेख्छिन, ‘मैले जानेको मेकअप भनेको मस्करा र सानो टिका लगाउने मात्र हो । मेकअप हुँदा र नहुँदा पनि ममा आत्मविश्वास हुन्छ । के यो गलत हो रु’ गत वर्षकी मिस नेपाल शृंखला खतिवडाले पनि तस्बिरसहित त्यस्तै आशयको ट्विट गरेकी छन् । उनको आयस राम्री देखिन र आत्मविश्वास बढाउनका लागि शृंगारको आवश्यकता पर्दैन भन्ने छ । खतिवडाको आशय पनि त्यही छ ।

केही मान्छे सुन्दरता भनेको नै शृंगार गर्नु हो र त्यसले मान्छेमा आत्मविश्वास बढाउँछ भन्ने भ्रममा पनि छन् । विगतमा नेपाल सुन्दरी प्रतियोगितामा पनि आफू सफल भए आत्मविश्वास बढने र समाज सेवा गर्नेजस्ता प्रतिकृया आउँथें । तर, यसलाई केही महिलाले गलत भन्दै आएका छन् । खास गरी राजनैतिक पार्टीमा महिला संगठनले केही वर्ष अघिसम्म त्यसको प्रतिवाद गरेका थिए ।

अर्का ट्विटर प्रयोगकर्ता सन्तोष न्यौपानेले आफ्नी पत्नी र छोरीको तस्बिरसहित ट्वीट गर्दै उनले लेखेका छन्, ‘म मेरी श्रीमती र छोरीलाई विनामेकअप नै धेरै माया गर्छु । प्रकृतिले सुन्दरता ल्याउँछ । मिस नेपाल प्रतियोगिताको वास्ता नगर्नूस् उनीहरूले आफ्नै काम गर्छन् ।’

अर्की महिला कोपिला अधिकारीले ट्विट गर्देै यस्तो लेखेकी छन् । ‘म २१ औँ शताब्दीकी केटी हुँ र मेकअप मेरो वशको कुरा होइन । यो कुरा सबैले बुझून् र यो अनादर होइन ।’ सन् १९९४ देखि नेपालमा २३ पटक मिस नेपाल प्रतियोगिताको आयोजना भइसकेको छ । विगतमा तत्कालीन माओवादीको महिला संगठन र अन्य केही महिला संगठनले पनि सांस्कृतिक अतिक्रमण र महिलालाई उपभोग्य वस्तु बनाउन खोजिएको भन्दै प्रतियोगिताको खुलेरै विरोध गर्दै आएका थिए । पार्टी सत्तामा आएपछि उनीहरूले त्यस्तो विरोध गर्न छाडे ।

नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विवाद चर्चाका लागि गर्ने गरिएको पनि कतिपयले तर्क गर्छन् । तर नेपालमा सुन्दरी प्रतियोगिताप्रति एकै खालको बुझाइ नहुनु पनि त्यस्ता प्रतियोगिता विवादमा परिरहनुको एउटा कारण भएको कतिपयको धारणा छ ।

राजनीतिक विश्लेषक आहुति सुन्दरी प्रतियोगिताको औचित्यमाथि नै प्रश्न गर्दै भन्छन्, ‘कोही सुन्दर छ भन्ने कुरा कसले किटान गर्ने, सुन्दरताको त मापन हुनै सक्दैन,’ उनी भन्छन्, ‘फरकफरक संस्कृतिका मान्छेले, फरकफरक मानिसलाई, फरकफरक अवस्थामा सुन्दर वा कुरूप देख्छन् । त्यसकारण सुन्दरताबारे बनिबनाउ नियम हुनै सक्दैन ।’

सुन्दरताको मापक के ?
समाजमा एकथरी यस्ता पनि छन् जसलाई नेपालमा सुन्दरी प्रतियोगिताको आयोजना गर्ने र त्यसमा सहभागी हुनेहरूसँग कुनै गुनासो छैन । गुनासो छ त केवल त्यस्ता प्रतियोगिताका आयोजकले बनाएका सुन्दरता र बौद्धिकताका मानकसँग । त्यस्तै, धारणा राख्नेमा पर्छिन् लेखक तथा अधिकारकर्मी सावित्री गौतम ।

‘त्यो गर्नेले गरून्, उनीहरू स्वतन्त्र छन् तर त्यसलाई महिला सशक्तीकरणको नाम दिएर, बौद्धिक विकास र सुन्दरताभन्दा धेरै परको कुरा भनेर झूटो दाबी चाहिँ नगरियोस् ।’ नेपालमा सुन्दरी प्रतियोगिताबारे हुने विरोध र विवादलाई मानसिकतासँग जोडेर हेर्ने अर्काथरी छन् ।

यसबारेमा समाजशास्त्री निर्मला ढकालको त्यस्तै तर्क छ । ‘हरेक प्रतियोगिताका केही निश्चित मापदण्ड हुन्छन् जसलाई प्रतियोगीले मान्नुपर्ने हुन्छ । नेपालमा चर्चामा आउन पनि कतिपय कुराको विरोध गर्ने प्रवृत्ति छ ।’ नेपालमा सुन्दरी प्रतियोगिताको औचित्यलाई लिएर समाजशास्त्रीबीच पनि मतैक्य छैन ।

अर्का समाजशास्त्री डा. चैतन्य मिश्र भन्छन्, ‘म आफैँ औचित्य देख्दिनँ, तर नेपाल अथवा विश्वको अर्थतन्त्र जसरी चलेको छ त्यहाँ सुन्दरी प्रतियोगिताको उपादेयता भएरै ती भइरहेका होलान् ।’ कतिपयको तर्क छ । हरेक कुराको सकारात्मक तथा नकारात्मक पाटो हुने गर्छ र सुन्दरी प्रतियोगिता अपवाद हुन सक्दैन ।

त्यस्ता प्रतियोगिताले महिलाको व्यक्तित्व तथा क्षमताको विकासमा पनि मद्दत पु¥याउने गरेको पक्षधरहरूको तर्क हुने गरेको छ । समाजशास्त्री ढकाल भन्छिन, ‘जित्ने तीन जना देशविदेश जान पाउँछन्, त्यहाँका रहनसहन बुझ्न पाउँछन् । त्यसरी जानुअघि र गएर आएपछि तुलना गर्दा तपाईँले धेरै फरक पाउनुहुन्छ ।’ ‘संसारभरि चलिरहेको कुरालाई हामी रोक्छौँ अथवा हाम्रो संस्कृतिको विरुद्ध छ भनेर अघि बढ्छु भन्नु एकदम मुर्ख्याइँजस्तो मलाई लाग्छ ।’

समाजशास्त्री ढकालले प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभावलाई चाहेर पनि रोक्न नसकिनेतर्फ संकेत गरेको देखिन्छ । तर राजनीतिक विश्लेषक आहुतिको विचारमा विश्वव्यापीकरणले सिर्जना गरेका प्रत्येक कुरालाई उपयुक्त नै मान्नुपर्छ भन्ने छैन ।

‘विश्वव्यापी के बन्छ र बन्दैन मुख्य कुरा होइन । के कुराले मानवको अस्तित्वलाई अपमान गर्छ र गर्दैन, समाज वा व्यक्तिलाई बिक्रीको वस्तु बनाउँछ र बनाउँदैन भन्ने कुरा मुख्य हो ।’ सुन्दरी प्रतियोगितामा सहभागी हुनका लागि उमेरदेखि शरीरको उचाइसम्मका कुरा निर्धारण गरिएको हुन्छ ।

नेपाल सुन्दरी वा विश्व सुन्दरीको उपाधि उचालेपछि विजेताले निश्चित समयसम्म बिहे गर्न नपाउने र आफूले सम्झौता गरेको पक्षको अनुमतिविना सार्वजनिक टीकाटिप्पणी गर्न नपाउनेजस्ता कैयौँ सर्तको कडाइका साथ पालना गर्नुपर्ने हुन्छ ।
खुल्ला समाज र विश्वव्यापीकरणका कैयौँ पक्षलाई अझै स्वीकार्न नसकेको नेपाली समाजका कतिपयले सुन्दरी प्रतियोगितालाई पनि पचाउन नसकेको तर्क गर्नेहरू पनि छन् । तर, त्यस्तो तर्कसँग अधिकारकर्मी गौतम विमति राख्छिन् ।

‘पचाउनै नसकेको भए कुनै जमानामा सुन्दरी प्रतियोगिताको विरोधमा प्रदर्शन गर्नेहरू आज आएर त्यस्तो प्रतियोगिताले बौद्धिकताको मापन गर्छ भनेर भोट माग्ने थिएनन् ।’ गत वर्षकी मिस नेपाल शृंखला खतिवडाको सहभागिताबारे कतिपयले प्रश्न गरेका थिए । कारण थियो उनी नेकपाका सांसद विरोध खतिवडा र प्रदेशसभा सांसद मुनु सिग्देलकी छोरी हुनु । त्यतिवेला उनले त्यसलाई बेकारको बहसको संज्ञा दिँदै ‘बौद्धिक क्षमताको प्रतिस्पर्धामा भाग लिए व्यक्तित्व विकास हुन्छ भन्ने लागेर छोरीलाई सहभागी हुन भनेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

तर कम्मर, घाँटी, कपाल लगायत शरीरका अंगलाई मूल्यांकनको आधार मान्ने प्रतियोगिता बौद्धिकताको मापक हुन नसक्ने अधिकारकर्मी गौतमको तर्क छ । यही तर्क पहिला कम्युनिस्ट पार्टीका सबै महिला संगठनले गर्दे प्रतियोगिताको विरोध गर्दै आएका थिए ।

विरोध गर्नेहरू सुन्दरी प्रतियोगितालाई ‘महिलालाई वस्तुकरण गर्ने अस्त्र’का रूपमा पनि अर्थ्याउने गर्छन् । त्यही भएर सुन्दर देखिने महिलाहरूलाई पुँजीवादी समाजमा विज्ञापनका लागि एउटा साधनका रूपमा प्रयोग गरिने गरेको उनीहरूको तर्क छ ।

अधिकारकर्मी गौतमचाहिँ त्यसलाई मोडलिङसँग जोडेर मात्र हेर्न नसकिने बताउँछिन् । ‘पहिलादेखि नै महिलाहरू अर्काका लागि राम्रो बनिदिनुपर्ने चलन छ । बिहेका लागि केटी हेर्न जाँदा केटी अरूका लागि सजिनुपर्ने, टाउको निहुराएर कुरा गर्नुपर्ने, हाँस्दा कतिसम्म दाँत देखाउनुपर्ने भन्ने कुरा हुन्छन् ।’ ‘यसरी हेर्दा महिलालाई वस्तुकरण गर्ने काम मोडलिङमा मात्रै नभई घरघरमा र समाजका विभिन्न कुरामा छ ।’

तर, अधिकारकर्मी गौतमले त्यसरी तर्क गरिरहँदा अर्कोथरीको के तर्क छ भने ‘वस्तुकरण’का लागि आफू तयार हुने वा नहुने कुरा धेरै हदसम्म त्यस्ता प्रतियोगिता अथवा पेसामा संलग्न हुने महिलामा पनि निर्भर गर्छ । –बिबिसीको सहयोगमा

प्रतिकृया दिनुहोस्