Motivate News

आज जनैपूर्णिमा: १० तस्बिरमा हेर्नुस् पशुपतिमा जनै तथा रक्षाबन्धन लगाउनेको भिड

भदौ १०, काठमाडौं –आज देशभर जनैपूर्णिमा रितपूर्वक मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दु संस्कृति अनुसार जनैपूर्णिमा मनाइने चलन छ। यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने शुभफल एवम् आत्मरक्षाको लागि मन्त्रले जपिएको रक्षासुत्र हातमा धारण गर्ने गर्छन्। सप्तऋषीहरुको तर्पण र उपासना गरिने पर्व भएकाले यस दिनलाई ऋषीतर्पणी समेत भन्ने गरिन्छ। धार्मिक परम्परा अनुसार बिहानै नुहाएर कश्यप, भारद्वाज, अत्रि, विश्वमित्र, गौतम, जमदग्नि र बशिष्ठ गरी सात ऋषीलाई तर्पण दिइन्छ।

त्यसपछि घर वा कुनै देवालयमा बसेर जनैको विधिपूर्वक पूजा गरिन्छ। बैदिक एवम् पौराणिक मन्त्र उच्चारण गरी धारण गर्ने प्रचलन छ। तराइमा भने जनैपूर्णिमाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दिर्घायूको कामना गर्दै हातमा राखी बाँधी दिने प्रचलन छ। नेवार समूदायमा पनि जनै पूर्णिमा धार्मिक रुपले महत्वपूर्ण मानिन्छ। जनैपूर्णिमालाई नेपाल भाषामा गुँपुन्ही भनिन्छ। यस दिन नेवार समूदायमा नौ जोर कपडा लगाउने, नौ पटक खाने, नौ दिपंकर बुद्धको दर्शन गर्ने तथा नौवटा खोला तर्ने प्रचलन रहेको छ।

यसो गर्न सकेमा ठूलो पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। गुँपुन्हीकै दिनलाई नेवार समूदायले ब्याँ जा नकिगु अर्थात् भ्यागुतालाई भात खुवाउने दिनको रुपमा पनि लिने गर्छन्। किम्बदन्ती अनुसार, परापूर्वकालमा गथामुँग राक्षसलाई भ्यागुताले हिलोको दलदलमा डुबाई मारेको सम्झना स्वरुप यस दिनमा सबैभन्दा पहिले भ्यागुतालाई भात खुवाइने परम्पराको सुरुवात भएको विश्वास छ। त्यसैले भक्तजनले बिहानै खेत, खोला तथा भ्गागुताको बासस्थान नजिक गएर भात चढाउने गर्दछन्।

जनैपूर्णिमा क्वाँटी खाने पर्वका नामले पनि परिचित छ। वर्षाको मौसम भएको र भरखरै सकिएको खेतको कामबाट शरीरमा चिसो पस्ने तथा रोग लाग्ने सम्भावना भएका कारण त्यसबाट बच्न नौ किशिमका तागत दिने गेडागुडी मिसाई बनाइएको क्वाँटी खाने गरिन्छ।

जनैपूर्णिमाको अवसरमा गोसाइकुण्ड, मणिचुड, कालीञ्चोक भगवती, पाँच पोखरी, गोकर्ण, कुम्भेश्वर लगायतका धार्मिक क्षेत्रमा मेला लाग्ने गर्दछ। जनै पूणिमामा गोसाइकुण्डमा विशेष मेला लाग्ने गर्दछ। त्यसैले जनै पूर्णिमा सुरु हुनु अगावै गोसाइकुण्डतर्फ ठूलो संख्यामा भक्तजन पुगेका छन्। गोसाइकुण्डमा अवस्थित जल कुण्डमा एक चित्त भई प्रार्थना गरेमा महादेवको साक्षात् दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ। फोटो – घनश्याम श्रेष्ठ 

हेर्नुस्  पशुपतिमन्दिरमा जनै तथा रक्षा बन्धन लगाउनेहरु  

प्रतिकृया दिनुहोस्