Motivate News

नेपाल विद्युत प्राधिकरण ३ अर्ब नाफामा

चैत्र २९, काठमाडौं – नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४ र ७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२ र ७३ मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४ लाख रुपैयाँ ऋणात्मक थियो ।

गएको वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान पनि घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४र७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । देशमा लोडसेडिङ अन्त्यसँगै घिसिङले प्राधिकरणलाई नाफामा लैजान पनि सफल हुनुभएको छ ।
घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३र७४ मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३र७४ को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत चुहावट थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७५र७६ को पहिलो ५ महिनामा विद्युत चुहावट १५.४५ प्रतिशतमा झारेको छ । चालु आवमा विद्युत चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३र७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५.६३ प्रतिशत पुगेको छ ।

आव २०७३र७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४.८२मा झरेको छ । प्रसारण नोक्सान गर्त वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सब–स्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रतिकृया दिनुहोस्