Motivate News

विमानस्थल फेरी २० दिन बन्द हुने

बैशाख ३, जुम्ला – जुम्ला विमानस्थल स्तरोन्नतिका लागि फेरी २० दिन बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।
अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ । स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको बताइएको छ ।

विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको हो । विमानस्थल स्तरउन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री आइसकेकाले स्तरोन्नति कार्यमा ढिला नहुुने बताइएको छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ । विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्रे उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्