Motivate News

करको विरोध मात्रै किन ? सरकारले दिदैछ एकल पुरुषलाई पनि भक्ता

बैतडी– बैतडीको एक नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिकाले चालू आर्थिक वर्षको सुरुदेखि नै ६० वर्ष माथिका विदुरलाई सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक रु एक हजारका दरले दिने निर्णय गरेको छ ।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन्, “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं ।”

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।
अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्