विद्यार्थी ठगेको आरोपमा बेस्ट ब्रेन्सका सञ्चालक पक्राउ

बुधबार, १० पौस २०८१

काठमाडौँ – विद्यार्थी ठगेको आरोपमा बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिसा सर्भिसेसका संचालक दिवस दाहाललाई प्रहरीले पक्राउ गरेको छ । मालिगाउँ प्रहरी बृत्तबाट खटिएको प्रहरी टोलीले कन्सल्टेन्सीको पुतलीसडकस्थित कार्यालयबाट दाहाललाई पक्राउ गरेको हो ।

कन्सल्टेन्सीले बेलायत पठाइदिने भन्दै विद्यार्थीबाट करोडौँ रकम उठाएर ठगी गरेको आरोप लगाइएको छ । पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

पक्राउ परेका दाहाललाई प्रहरीले कागज गरेर छोडेको छ । बिहीबार सम्पर्कमा आउनेगरी दाहाललाई छोडेको मालिगाउँ प्रहरी बृत्तका प्रमुख, प्रहरी उपरिक्षक सुनिलजंङ शाहले बताए । मोटिभेट न्यूजसँग कुरा गर्दै उनले भने, ‘हामीले पक्राउ गरेर ल्याएर सामान्य सोधपुछ गरेर छोडेका छौँ । उहाँहरु लिने र दिने दुबै पक्षलाई हामीले भोली बिहान १० बजे बोलाएका छौँ ।’

जानुका ढुङ्गानाका नाममा ११ महिना अघि दर्ता भएको कन्सल्टेन्सीले सुरुवाती दिनबाट ठग्न थालेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । जानुका यसअघि ब्रिज इन्टरनेशनल नामको कन्सल्टेन्सीमा कार्यरत रहेको पाइएको छ । उनी अहिले बेलायतमा छिन् ।

दाहालले काठमाडौँस्थित कार्यालय संचानल गरिरहेका छन् भने जानुकाका बुवा अर्जुन ढुङ्गाना र रिता घिमिरेले कार्यालयको रेखदेख गरिरहेका छन् ।