अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री खुसुक्क थाइल्याण्ड पुगे
काठमाडौं—अख्तियारको अनुसन्धान घेरामा रहेका मन्त्री खुसुक्क थाइल्याण्ड पुगेका छन् । एमाले महासचिव शंकर पोखरेलका भाञ्जी–ज्वाइँ, लुम्बिनी प्रदेशका उद्योगमन्त्री तथा कांग्रेस नेता प्रचण्डविक्रम न्यौपाने कानुनी प्रावधान मिचेर खुसुक्क थाइल्याण्ड पुगेको भेटिएको छ । उनी मातहतकै यातायात कार्यालयले नक्कली लाइसेन्स खुलेआम बिक्री–वितरण भइरहेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरूको विदेश भ्रमणलाई संघीय मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, एमाले महासचिव शंकर पोखरेलका भाञ्जी–ज्वाइँ तथा लुम्बिनी प्रदेशका उद्योगमन्त्री प्रचण्डविक्रम न्यौपाने कानुनी प्रावधान मिचेर थाइल्याण्ड पुगेको भेटिएको छ ।
दाङ जिल्लावासी राजदूत धनबहादुर ओलीको निमन्त्रणामा मन्त्री न्यौपाने त्यता पुगेका हुन् । थाइल्याण्डका लागि नेपाली राजदूतावास, बैंककद्धारा बुद्ध जयन्तीको अवसर पारेर आयोजित ‘लुम्बिनीः भगवान् गौतम बुद्धको जन्मस्थान, विश्व शान्तिको मुहान’ विषयक कार्यक्रममा भाग लिन गएका उनले संघीय सरकारबाट स्वीकृति लिएका छैनन् ।
उसो त उनी मातहतकै निकायबाटनक्कली लाइसेन्स खुलेआम बिक्री–वितरण भइरहेको विषयमा अख्तियारले समेत हात हालेको स्थिति छ । गुन्टु उपनामले चर्चित न्यौपाने नेपाली कांग्रेसमा पनि शेखर कोइराला खेमाका हुन् । यसअघि गगन थापाहरू नै न्यौपानेलाई मन्त्रीबाट हटाउन लागिपरेका थिए लाइसेन्स प्रकरणमा ।
उता यही मेसोमा लुम्बिनीका विभिन्न मेयर, उपमेयरसहित कर्मचारीको जम्बो टोली नै थाइल्याण्ड उडेको भेटिएको छ । टोलीमा सिद्धार्थ नगरपालिका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, देवदह नगरपालिका उपमेयर विद्यालक्ष्मी गुरुङ, रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरी, तिलोत्तमा नगरपालिका उपमेयर जागेश्वरी देवी चौधरी छन् ।