नेपाल बैंकबाट हराएको २० अर्ब खोज्न माग गर्दै महालेखापरीक्षकको कार्यालयमा उजुरी

बिहिबार, ८ जेष्ठ २०८२

काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा उजुरी परेको छ । बैंकबाट हराएको २० अर्ब ४० करोड १५ लाख बढी रकम खोजी गर्न माग गर्दै बैंकका शेयरधनी अंगराज भारतीले बिहीबार महालेखापरीक्षकको कार्यालयमा उजुरी गरेका हुन् ।

बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी, दोषिलाई कारवाही गर्न माग गरिएको छ । ‘बैंकहरुले उत्पादनशिल क्षेत्रमा के कति कर्जा प्रवाह गरेका छन् भनि अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरु अध्ययन गर्ने क्रममा बैंकले करीव २० अर्व ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो ।’, उजुरीमा भनिएको, ‘सो विषयमा के भएको हो ? विस्तृत अध्ययन गरी अपचलन गर्ने जो कोहिलाई पनि आवश्यक कारवाहि गर्न हार्दिक अनुरोध गर्दछु ।’

बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योग तर्फ कर्जा सीमा रु ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोहि समयमा बैंकको वास्तविक कर्जा रु ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आई पुग्दा सोहि शिर्षकमा कर्जा सीमा रु २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले रु ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।

त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुईटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले उजुरी गरेका हुन् ।