१७ शैक्षिक कन्सल्टेन्सी सीआईबीको उच्च निगरानीमा (नामवलीसहित)

सोमबार, ८ मंसिर २०८२

काठमाडौं – विद्यार्थी ठगेको उजुरीपछि सीआईबीले १७ शैक्षिक कन्सल्टेन्सीलाई उच्च निगरानीमा राखेको छ । नेपालबाट अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर कन्सल्टेन्सीले ठगी गरेको उजुरीपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले अनुसन्धान थालेको छ ।

सीआईबी नेतृत्वले यो केसको अनुसन्धान गर्न डिएसपीलाई जिम्मा दिएको छ । ‘विद्यार्थीको उजुरीको आधारमा सीआईबीका विभिन्न पोलमध्ये डिएसपीको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’, सीआईबी श्रोतले भन्यो, ‘तर अनुसन्धान कहाँ पुग्यो भन्ने विषय अहिले भन्न सकिने अवस्था छैन ।’

दुबईमा दर्ता नभएका कलेजमा विद्यार्थी भर्ना गरेको, भर्ना गरेका विद्यार्थीलाई दुबई पुर्याएर अलपत्र पारेको, क्रेडिट ट्रान्सफरको व्यवस्था नभएको, अनलाइन क्लासमा बसाएको लगायतका आरोप लगाउँदै विद्यार्थीले शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र सीआईबीमा उजुरी दिएका थिए । प्रारम्भीक अनुसन्धान गर्दै जाँदा केही कलेजको र केही शैक्षिक कन्सल्टेन्सीको कमजोरी देखिएपछि थप अनुसन्धानका लागि लेखी पठाएको शाखा प्रमुख शेमन्तराज कोइरालाले बताएका छन् ।

कोइरालाका अनुसार ६५ जना विद्यार्थीले ११ कलेज तथा विश्वविद्यालय र १७ शैक्षिक कन्सल्टेन्सीविरुद्ध उजुरी दिएका छन् । उजुरी दिएका मध्ये १ विद्यार्थीले आफ्नो गल्ति स्वीकार गर्दै उजुरी फिर्ता लिएको उनको भनाई छ । विद्यार्थीले नेपालका कन्सल्टेन्सीले गलत सूचना दिएको, क्रेडिट ट्रान्सफर हुने आश्वासन दिएर फसाएको, उच्चस्तरिय अध्ययन हुने र अध्ययन पश्चात राम्रो रोजगारी पाइने भन्दै झुट बोलेको, पढाईसँग राम्रो आम्दानीसमेत हुने भन्दै फकाएको लगायतका आरोप लगाएका छन् ।

यी हुन् विद्यार्थीलाई अलपत्र पार्ने शैक्षिक कन्सल्टेन्सी

  • Oxbridge international consultancy (11)

  • Aspire Global Education (10)

  • Kantipur abroad consultant, lazimpat (10)

  • Shivaa hum Education consultancy (9

  • Harbour Education (4)

  • Eduport Education consultancy (3)

  • Person consultancy (3)

  • Cityhub Education network (2)

  • Aurus Education consultancy (2)

  • Prop Aviation (1)

  • Satakshee Education foundation (1)

  • Brightpath Education consultancy (1)

  • SR Educational consultancy (1)

  • Westford Education consultancy (1)

  • Aurora Foundation consultancy (1)

  • Merits International consultancy (1)

यी हुन् विद्यार्थीलाई अलपत्र पार्ने कलेज

  • British University college International (17)

  • Central Academy of management college (17)

  • Asti Academy (8)

  • Creative Star Education institute (CSEI) (6)

  • Britts Imperial University college (5)

  • Kings Education corporation. (4)

  • Nest Academy of management (2)

  • Getway Institute of professional studies (2)

  • Capital College (1)

  • Vibe Education (1)