अमेरिका नेपाललाई आफ्नो सैन्य अखडा बनाउन चाहन्छ : माइला सी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माइला सीले अमेरिकाले नेपाललाई आफ्नो सैन्य अखडा बनाउन चाहेको बताएका छन् । आइतबार ‘समाजवादी जागरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाले आफ्ना कट्पुतलीमार्फत नेपालमा सेना ल्याउन चाहेको बताएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको रङ्गी विरङ्गी अनुहारले नेपाल खतरामा रहेको संकेत गरेको बताए । ‘कट्पुतली सरकारमा रहेको रङ्गीविरङ्गी अनुहारको बारेमा बाहिरिएका विभिन्न तथ्यहरुले प्रमाणित गर्छ की उनीहरु अमेरिकी कट्पुतली हुन् ।’, उनले भने, ‘यही कट्पुतली मण्डलीका कारण नेपालमा आउने छ इण्डो प्यासिफिक रणनीति अन्तरगतको एसपीपी । त्यही एसपीपीमार्फत अमेरिका नेपालमा सैन्य अखडा बनाउन चाहन्छ ।’
माइला सीले नेपालमा एसपीपी आउन भन्दा अघिनै देश अमेरिकाकै इसारामा चलेको बताउँदै एसपीपी आएपछि अबस्था थेगी नसक्नु हुने बताए । ‘अहिले मन्त्रीमण्डलमा देखिएका अनुहार अमेरिका कट्पुतली हुन् । उनीहरुमार्फत हो अमेरिकाले एसपीपी ल्याउने ।’, उनले भने, ‘एसपीपी आयोभने नेपाल झनै ठूलो समस्यामा पर्ने छ । त्यसका लागि आगामी निर्वाचनबाट यसलाई रोक्नुपर्ने छ ।’
आगामी निर्वाचनमा असली नेता छान्नुपर्ने बताउँदै उनले त्यसका लागि निश्कलंक नेतृत्व नेकपा मााओवादीसँग रहेको बताए । अमेरिकी हस्तक्षप रोक्न नेकपा माओवादी एकमात्र राष्ट्रिय शक्ति भएको बताउँदै यस पटकको भोट खेर नफाल्न जनतालाई अपिलसमेत गरेका छन् ।

अभियानका संयोजक चिरन्जीवि सीले देशभर विद्यमान भष्ट्राचार अन्त्यका लागि जागरण अभियान सुरु गरेको बताए । उनले सुशीला कार्की नै भ्रष्ट्राचारीहरुको नाइके भएको बताउँदै यो सरकार हटाएर राजनीतिक सहमतिका आधारमा अन्तरिम सरकार बनाएर निर्वाचन जानुपर्ने धारण राखे । ‘सुशीला कार्की भष्ट्राचारीहरुको नाइके हुन् । उनी नेपालको भष्ट्राचार अन्त्य गर्न सरकारमा आएकी होइनन् । उनी त भ्रष्टहरुलाई चाख्याउन सरकारमा आएको जस्तो देखिन्छ ।’, उनले भने, ‘भष्ट्र सरकारले भष्ट्रहरुकै नेतृत्व गर्छ । उनीहरुबाट निश्पक्ष निर्वाचनको अपेक्षा गर्न सकिदैन ।’
निर्वाचन आयोगमा अमेरिकी मान्छेहरु राखेर निर्वाचन गर्न खोजिएको आरोप लगाउँदै उनले यो सरकार अमेरिकी कट्पुतलीलाई निर्वाचनमार्फत शत्ता ल्याउन कसरत गरिरहेको बताए । अमेरिकीहरुले गराएको निर्वाचनको निश्पक्षतामाथि प्रश्न उठाउँदै उनले कार्की सरकारले गरेको निर्वाचन देशले निकास नपाउने बताए ।

कार्यक्रममा जेनजी युवा अटल सीले माओवादीका कम्युनमा छापा मारेर सरकारले दादागीरी देखाएको बताए । ‘सरकारले नेकपा माओवादीसँग चाहेको के हो, कम्युनमा फलेको आलुलाई बम देख्ने सरकारले हतियारको दम्भ देखाएको हो ?’, सरकारलाई प्रश्न गर्दै उनले भने, ‘कम्युनमा बम फल्दैन, कम्युनमा आलु फल्छ, उत्पादीत बस्तु फल्छ । हतियारको दम्भ देखाउन नखोज, तिमी हतियारको दम्भ देखाउँछौं भने हामीपनि जवाफ दिन तयार छौं ।’
अभियान कार्यक्रमको संचालन पार्टी केन्द्रीय सदस्य डिआर सीले गरेका थिए । अभियान टोलीलाई स्वागत गर्दै माइला सीले चुनाव चिन्ह अंकित टोली र चुनाव चिन्ह गुलाफ उपहार दिएका थिए ।
